काठमाडौं। शनिबारदेखि सुरु हुन गइरहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ।
यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन्। ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ।
यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौषला प्रदान गरेको छ। यस सिजनमा ललितपुर सिटी एफसीबाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दछ। सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं,’ एनसेलका प्रमुख कमर्सियल अफिसर उमेर मोहसिनले भने।
एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास एनसेलको छ। शनिबारबाट सुरु भएर वैशाख १३ गते समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा पहिला नै आवद्ध भइसकेको छ।