काठमाडौं । काठमडौं उपत्यकाका नेवार समुदायले आज पाहाँचह्रे पर्व मनाउँदैछन्। यस पर्वलाई पासाचह्रे पनि भन्ने गरिन्छ।
नेपाल भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी। चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ। यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ।
यो चाडलाई काठमाडौंमा नेवार सम्प्रदायले दसैं र तिहारजस्तै मनाउँदै आएका छन्। यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन्। मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खान्छन्।
पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ। यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ। विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ। यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ।
‘लुकु महाद्यः’ भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ। घरघरमा खाल्टोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ।
यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ। पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ। चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ।
पाहाँचह्रेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ। रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन्। भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेहरूले चिराग साट्ने गर्छन्। यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ।
आज पाहाँचह्रे पर्व मनाउने दिन विभिन्न समूहले विरोध प्रदर्शनको आयोजना गरेको छ। राजवादी र गणतन्त्रवादीहरुले विरोध कार्यक्रम राखेका छन्। काठमाडौं महानगरपालिकाले जात्रामा असर नपर्ने गरि विरोध प्रदर्शन गर्न आग्रह गरेको छ।
रासस