काठमाडौं । लखनउ सुपर जायन्टले सनराइजर्स हैदराबादलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउले हैदराबादलाई पाँच विकेटले हराउँदै जारी सिजनको पहिलो जित निकालेको हो।
हैदराबादको उप्पालस्थित राजीव गान्धी स्टेडियममा हैदराबादले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनाएको थियो।
दुई प्रभावशाली ब्याटर अभिषेक शर्मा र इशान किशनलाई सस्तै रनमा गुमाएको हैदराबादका लागि ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाउँदा अंकित वर्माले ३६, नितिशकुमार रेड्डीले ३२, हेनरिच क्लासनले २६ तथा प्याट कमिङ्सले १८ रन बनाए। बलिङतर्फ शार्दुल ठाकुरले सर्वाधिक ४ विकेट लिँदा आभेष खान, दिग्भेस राठी, रवि विश्नोइ र प्रिन्स यादवले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको लखनउले निकोलस पुरनको प्रभावशाली ब्याटिङको सहायतामा १६.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।
लखनउका लागि पुरनले २६ बलमा ६ छक्का र चौका प्रहार गर्दै सर्वाधिक ७० रन बनाउँदा मिचेल मार्सले ५२ तथा अब्दुल समदले २२ रनको योगदान दिए। बलिङमा प्याट कमिङ्सले २ तथा मोहम्मद शमी, एडम जाम्पा र हर्षल पटेलले समान १ विकेट लिए। लखनउले यसअघिको खेलमा दिल्लीसँग पराजय ब्यहोरेको थियो। अर्कोतर्फ हैदराबादले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई हराएको थियो।