BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता, डिजिटल बैंकिङ क्षमता बढाउन सहयोग गर्ने

२०८१ चैत्र १४

ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता, डिजिटल बैंकिङ क्षमता बढाउन सहयोग गर्ने
ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता, डिजिटल बैंकिङ क्षमता बढाउन सहयोग गर्ने

काठमाडौं। ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडल अगाडि बढाउन एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीका तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्डस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार, विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्र पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।

साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेल प्रवर्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह प्रदान गर्नेछ।

यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुलाई रुपान्तरण गरी नवीन र प्रविधिमैत्री बनाउन सहज हुने विश्वास बैंकले लिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंक आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको भन्दै सम्झौताले बैंकको डिजिटल बैंकिङ प्रवर्धनमा तथा फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बताए।

डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास छ।