काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले ४८ सय मेगावाटको पीपीए खुलाउने निर्णय गरेकामा कर्मचारीहरुले विरोध जनाएका छन्।
वित्तीय जोखिमको आँकलन, बजारको सुनिश्चितता र जोखिम न्यूनिकरणको कार्ययोजनाबिना नै पीपीए खोल्ने निर्णय गरेको भन्दै कर्मचारीले विरोध गरेका हुन्।
प्राधिकरणका दुई वटा कर्मचारी संगठनले प्रेस विज्ञप्ति निकालेर पीपिए खुलाउने निर्णयले प्राधिकरण आर्थिकरुपमा धराशायी हुने बताएका छन्।
‘टेक अर पे प्रावधानमा धमाधम पीपीए गर्दा संस्था आर्थिकरुपमा धराशायी हुने भएकाले संचालक समितिको निर्णय प्राधिकरणलाई पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनिकरण गर्ने कार्ययोजना बनाई कायान्वयन गर्दै जाने र यति गर्दा पनि घाटा पर्न गएमा सोधभर्ना सरकारले दिने सुनिश्चितता नभएसम्म कार्यान्वयन नगर्न जोडदार आग्रह गर्दछौं,’ माओवादी र राप्रपा निकटका कर्मचारी संगठनले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा ट्रेड युनियन ऐन तथा नियमावली अनुरुप विरोधका कार्यक्रम गर्न बाध्य हुने अनुरोध गर्दछौं।’
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएपछि बसेको पहिलो बोर्ड बैठकले ४८ सय मेगावाटको पीपीए खुलाउने निर्णय गरेको थियो। मंगलबार राति बसेको बैठकले गरेको निर्णय हालसम्म माइन्युट भने भएको छैन।