काठमाडौं। पर्यटन व्यवसायीहरुले अन्तर्राष्ट्रिय हवाई टिकटमा भ्याटको व्यवस्थाले पर्यटकको आगमन घटेको भन्दै खारेज गर्न माग गरेका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागी व्यवसायीहरुले समग्र पर्यटन व्यवसाय नै प्रभावित भएको भन्दै हवाई टिकटमा भ्याट खारेज गर्न माग गरेका हुन्।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले भ्याट खारेज गर्न डिलो गरे पर्यटन क्षेत्र नै तहसनहस हुने बताए। भ्याटका कारण हवाई टिकट महँगो भएपछि विदेशी पर्यटकहरु नेपाल आउनुको साटो घुम्नका लागि अन्य मुलुक जान थालेको बताए।
‘नेपाल आउने पर्यटक पनि भ्याटले हवाई भाडादर महँगो भएपछि अन्य देश जान थालेका छन्। हाम्रो पर्यटन उद्योग तहसनहस हुने देखिएको छ। त्यसैले सरकारले भ्याट खारेज गर्नुको विकल्प छैन,’ उनले भने।
उनले हवाई टिकटमा भ्याटले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे नाट्टाले नेपाल पर्यटन बोर्डसँग मिलेर अध्ययन गर्न लागेको जानकारी दिए।
नाट्टाका पूर्वअध्यक्ष मधुसुदन आचार्यले हवाई टिकटमा ध्याट न्यायोचित नभएको बताए। ‘सरकारले कर उठाउन सक्ने धेरै ठाउँ छन्। तर हवाई टिकटमा भ्याट चाहिं न्यायोचित भएन। यसले पर्यटन व्यवसाय नै प्रभावित भयो,’ उनले भने।