नवलपरासी (बर्दघाट सुस्तापश्चिम)। लिट्मस इन्डस्ट्रिज लिमिटेडले पश्चिम नवलपरासीको रामग्राम-१६ हकुईमा आल्मुनियम रड उत्पादन प्लान्ट सञ्चालनमा ल्याएको छ।
विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्ने लिटमस इन्डस्ट्रिजको यो नयाँ उद्योग करिब १५ बिघा क्षेत्रफलमा छ। रमेश कर्पको लगानी रहेको लिटमसले बुटवल औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गरिरहेको छ।
घरायसीदेखि प्रसारणलाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि केबल उत्पादन गर्दै आएको लिट्मसले नयाँ उद्योग थपेसँगै आल्मुनियम रड उत्पादन पनि सुरु गरेको छ। बुधबार आयोजित कार्यक्रममा उद्योग उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादनको प्रयोग बढाउन नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यसका लागि तीनै तहको सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राखे।
उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गरेमा स्थानीयस्तरमा रोजगारीका अवसर सृजना हुनुका साथै आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउँदै राउतले यसका लागि रचनात्मक र सृजनात्मक कार्यक्रममार्फत अगाडि बढ्नुपर्नेमा जोड दिए।
स्वदेशी उत्पादन क्षमता बढाउन विभिन्न नीतिलाई अगाडि सारिएको जनाउँदै उनले यो उद्योगले नेपाली बजारमा हुने आल्मुनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर र समुन्नत बनाउने विश्वास व्यक्त गरे।
हाल नेपालमा तार, केबललगायत निर्माणमा प्रयोग हुने आल्मुनियम रड आयातमार्फत आपूर्ति हुँदै आएको उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए। उनका अनुसार चार अर्ब रुपैयाँ लगानीमा स्थापित नयाँ उद्योगले आल्मुनियम रडको आयात परनिर्भरतालाई घटाउनुका साथै देशभित्र उच्च गुणस्तरीय रड निर्माण हुने भनाइ उनले राखे।
देशभित्र आल्मुनियम रडको खपत क्षमता आठ हजार टन रहेको बताउँदै गुप्ताले यस उद्योगले २० हजार टन उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिए। नेपालसहित भारत र तेस्रो मुलुकसम्म रड निर्यात गर्ने लक्ष्य लिइएको उनले बताए।