काठमाडौं। देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक १० लाख ‘कस्टमर बेस’ बनाउने पहिलो इन्टरनेट सेवा प्रदायक बनेको छ। पछिल्लो समय फाइबर इन्टरनेट विस्तारमा आक्रामक बनेको वर्ल्डलिंकका सबस्क्राइबर १० लाख नाघेको हो।
देशको फिक्स्ड ब्रोडब्यान्ड बजारमा वर्ल्डलिंकको बजार हिस्सा ३२ प्रतिशत हाराहारी छ। मंसिरमा मात्रै फिनल्यान्डबाट झण्डै साढे १ अर्ब विदेशी लगानी भित्र्याएको वर्ल्डलिंक ग्राहक संख्या विस्तारमा आक्रामक देखिन्छ।
५५ सयभन्दा बढीलाई रोजगारी दिइरहेको वर्ल्डलिंकलाई नेपाल दूरसञ्चार प्राधिकरणले २५ वर्षे अनुमतिपत्र सकिएसँगै गत वर्ष नयाँ लाइसेन्स दिएको थियो।
वर्ल्डलिंकपछि सरकारी स्वामित्वको नेपाल टेलिकमसँग बढी इन्टरनेट ग्राहक छन्। टेलिकमको बजार हिस्सा ११ प्रतिशत मात्रै छ। साढे ३ लाख इन्टरनेट ग्राहक संख्या टेलिकमसँग छ। त्यसपछि डिस मिडियासँग ३ लाख ४५ हजार, सुबिसुसँग ३ लाख १० हजार, भायनेटसँग २ लाख ४३ हजार र वेबसर्फरसँग १ लाख ८७ हजार इन्टरनेट ग्राहक छन्। यी इन्टरनेट कम्पनीहरुको बजार हिस्सा ६ प्रतिशतदेखि ११ प्रतिशतसम्म छ।
२०७९ चैतमा वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआइआइ) तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआइएफ आइआइ)बाट १ अर्ब ९८ करोड संयुक्त लगानी भित्र्याएको थियो। त्यतिबेला बीआइआइबाट १ अर्ब ८ करोड नेपाली रुपैयाँ प्राप्त गरेको वर्ल्डलिंकले डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ बराबरको लगानी हात पारेको थियो।
२०७६ कात्तिममा वर्ल्डलिंकले १ अर्ब ३५ करोड रुपैयाँ बराबरको पुँजी ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट लगानीको रुपमा भित्र्याइसकेको थियो। २०७६ र २०७९ को लगानी गरी वर्ल्डलिंकमा ३ अर्ब ३३ करोड बराबरको लगानी भित्रिएको थियो।