BIZMANDU
www.bizmandu.com

सामसङ टेलिभिजनको व्यापारमा बलिया स्तम्भ हीको निधन, जसले बनाए ‘नम्बर वान ब्राण्ड’

२०८१ चैत्र १३

सामसङ टेलिभिजनको व्यापारमा बलिया स्तम्भ हीको निधन, जसले बनाए ‘नम्बर वान ब्राण्ड’
सामसङ टेलिभिजनको व्यापारमा बलिया स्तम्भ हीको निधन, जसले बनाए ‘नम्बर वान ब्राण्ड’


काठमाडौं। सामसङ टेलिभिजनको व्यापारलाई विश्वव्यापी बनाउन अग्रणी भूमिका खेलेका दक्षिण कोरियाली टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सका को-सीइओ हान जोङ हीको निधन भएको छ।

Tata
GBIME
NLIC

हृदयाघात भएपछि सिओलमा अस्पताल भर्ना गरिएका ६३ वर्षीय हानको मंगलबार उपचारका क्रममा निधन भएको हो। कम्पनीले स्थापित ब्राण्डको प्रतिष्पर्धी बजारमा सामसङका टेलिभिजनको वर्चस्व बढाउने श्रेय उनलाई दिन्छ।

नेपालमा पनि दक्षिण कोरियाली कम्पनी सामसङको टेलिभिजन, स्मार्टफोनसहितका अन्य होम अप्लायन्सेस् उपभोक्ताको प्रमुख रोजाइमा पर्दै आएको छ।

हानले सन् १९८८ देखि सामसङमा आबद्ध थिए। उनले मुख्यतः सामसङको हाइ-इन्ड टीभी सेटलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

गत महिना मात्रै सामसङले उनको आत्मकथा सार्वजनिक गरेका थियो।

‘हानले सामसङको एलइडी टीभीलाई विश्वस्तरीय बनाउन केन्द्र भाग रहेर काम गरे। उनका अन्य विविध इनोभेसनकै कारण सामसङले विश्वभर प्रविधिको क्षेत्रमा निरन्तर नेतृत्व गर्न सक्यो,’ आत्मकथामा उल्लेख छ।

सामसङ इलेक्ट्रोनिक्स सामसङ ग्रुपको फ्ल्यागसीप सब्सिडायरी हो। सामसङ पारिवारिक विरासतमा हुर्किएको व्यवसाय भए पनि हान भने सो परिवारका सदस्य होइनन्। सामसङ इलेक्ट्रोनिक्स तेस्रो पुस्ताका ली जाइ- योङले नेतृत्व गरिरहेका छन्। उनकै परिवारको बलियो प्रभाव अहिले पनि सामसङमा रहँदै आएको छ।

हानको निधनका कारण सामसङले बुन्ने रणनीतिमा गम्भीर धक्का पुग्ने अनुमान गरिएको छ। उनकै रणनीतिको कार्यान्वयनबाट सामसङ टेलिभिजन विश्व बजारमा नम्बर वान ब्राण्ड बन्न सफल भएको छ।

दक्षिण कोरियाको राजधानी सिओलस्थित सेजङ विश्वविद्यालयका प्राध्यापक किम दाई-जोङले हीकै कारण सामसङले टेलिभिजन सेगमेन्टमा विश्व बजारमा वर्चश्व हासिल गर्न सफल भएको प्रतिक्रिया दिएका छन्।

‘उनी सामसङको टिभी व्यापारमा दशकौंदेखि सक्रियरुपमा लागेका थिए। उनलाई विश्व टेलिभिजन बजारको गहिरो ज्ञान र मर्म थाहा थियो। त्यसैको बलमा सामसङलाई विश्वभर परिचित बनाउन सफल भएका थिए। उनको अनुपस्थितिमा सामसङको टेलिभिजनसँग सम्बन्धित ग्लोबल रणनीतिमा ठूलो असर पर्ने देखिन्छ,’ जोङले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग भने।

एलजी, टीसीएलसहितका अन्य भेट्रान टेलिभिजन ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको सामसङले ठूलो स्क्रिनमा झन् झन् बढ्ता आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई आक्रामक बनाउँदै लगिरहेको छ।

हानको निधनले विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता सामसङलाई आर्टिफिसियल इन्टेलिजेन्समा प्रयोग हुने चिपको उत्पादन गर्ने काममा पनि विघ्नबाधा आइपर्ने देखिन्छ।

सामसङले गत अक्टोबरमा मात्रै कम्पनीले संकटको सामना गरिरहेको भन्दै चर्किएको प्राविधिक प्रतिस्पर्धासँगै कम्पनीको भविष्यबारे चिन्ता प्रकट गरेको थियो। सामसङको गत हप्ता मात्रै बसेको सेयरधनीहरुको बैठक हानका लागि अन्तिम सार्वजनिक कार्यक्रम बन्न पुग्यो।

जहाँ उनले सामसङलाई नवीनतम र ताजा गति आवश्यक भएको प्रतिक्रिया दिएका थिए। जसले सामसङलाई प्रतिस्पर्धात्मक एआई क्षेत्रमा मोमेन्टम हात पार्न सहयोगी भन्ने हानले बताएका थिए।

‘हामी रोबोटिक्स, मेडटेक र अर्को पुस्ताको सेमिकन्डक्टर्समा पायोनियर नै छौं। यसलाई कायम राख्न सक्यौं भने कम्पनीको विस्तार र ग्रोथमा नयाँ मोमेन्टम सुनिश्चित गर्न सक्छौं,’ बैठकमा हानले भनेका थिए।

पछिल्लो समय रिसर्चमा ठूलो पुँजी लगानी गरिरहेको सामसङको सञ्चालन नाफा घट्दै गइरहेको छ। डिपसिकको नयाँ आरवान च्याटबटले सामसङमा निकै ठूलो हलचल गराइरहेको छ। यसको लोकप्रियता र प्रयोगमा देखिएको गतिका कारण सामसङले एआईमा आफूले गरेको अर्बौं डलर लगानीबारे चिन्तित बनिरहेको छ।

हीको श्रीमती र तीन सन्तान छन्।

सामसङले नेपालमा पनि एसेम्बली प्लान्ट सञ्चालन गरिरहेको छ। नवलपरासी रामग्राम नगरपालिकामा रहेको एसेम्ब्ली प्लान्टबाट उत्पादित टेलिभिजन नेपाली बजारमा बिक्री भइरहेको छ। यो एसेम्ब्ली प्लान्टबाट ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन एसेम्बल भइरहेका छन्।