काठमाडौं । सीधा तालिकाको हिसाबले हो भने आज काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र मलेसिया भिड्ने थियो। तर, एएफसी एसियन कप छनोट अन्तर्गतको सो खेल दशरथ रंगशालामा नभएर मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा हुँदैछ।
दशरथ रंगशालाको पिचको दूरवस्थादेखि विशेष गरि सुरक्षा चासोलाई देखाएर एएफसीले ‘अयोग्य’ भनिदिएपछि नेपालले आफ्नो होम गेम मलेसियामा गएर खेल्दैछ। एन्फाले मलेसियासँगको अवे गेमलाई नेपालमा ल्याउन लबिङ दाबि गरिरहे पनि यसै भन्न सकिने स्थिति छैन। र, पछिल्ला वर्षहरुमा रंगशालाको मापदण्ड नपुगेर नेपालले विदेशी भूमिमा ‘होम गेम’ खेलेको यो पहिलो घटना पनि होइन।
एसिया कप छनोटको समूह एफमा नेपालसहित भियतनाम, मलेसिया र लाओस छन्। यी टोलीले एक अर्काविरुद्ध होम एण्ड अवेका आधारमा खेल्नेछन्।
नेपाल र मलेसियाबीचको खेल आज साँझ पौने ८ बजे सुरु हुनेछ।
पछिल्लो लयले उत्साहीत नेपाल
फिफा वरीयताका हिसाबले हेर्दा मलेसिया नेपालभन्दा ४३ स्थान अगाडि छ। तर, नेपाललाई मलेसियाविरुद्ध आत्मविश्वासी बनाउने पक्ष हुन सक्छ पछिल्लो लय।
नेपाली टोलीले पछिल्ला दुई खेलमा जित हात पारेको छ। र, दुवै जित नेपालले आफूभन्दा माथिल्लो वरीयताको टोलीविरुद्ध हात पारेको थियो।
नेपाल हाल फिफा वरीयतामा १७५ औँ स्थाना छ। नेपालले यसअघिका दुई खेलमा १६० औँ स्थानको सिंगापुर र १५६ औँ स्थानको अफगानिस्तानलाई हराएको थियो। यी दुवै खेलमा गोल गर्ने जिलेस्पी जंग कार्की उच्च लयमा छन्।
अर्कोतर्फ मलेसियाले पछिल्ला दुई खेलमा जित निकाल्न सकेको छैन। अघिल्लो खेलमा मलेसिया सिंगापुरसँग बराबरीमा रोकिएको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो।
सिंगापुरसँग बराबरीमा रोकिएको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो।
नेपाल भर्सेस मलेसिया
नेपाली टोलीले मलेसियाविरुद्ध हालसम्म ७ खेल खेलेको छ जसमा एउटा खेल बराबरी हुँदा बाँकीमा मलेसियाले बाजी मारेको छ। नेपालको मलेसियासँग पछिल्लो औपचारिक भेट सन् २०१९ मा भएको थियो जसमा मलेसियाले २-० गोलको जित निकालेको थियो। विराज महर्जनको कप्तानीमा त्यसबेला खेलेका किरण चेम्जोङ, अनन्त तामाङ, अञ्जन विष्ट र रोहित चन्द हाल टोलीमा छन्।
नेपाली टोलीका प्रशिक्षक म्याट रसले जितकै लागि मैदान उत्रने बताए। उनले मलेसिया जस्तो टोलीसँग अंक बाँड्न राम्रै भए पनि जितका लागि नै मैदान उत्रने बताए। नेपाली टोलीका कप्तान किरण चेम्जोङले सिंगापुरमा खेल्दा दर्शकको उपस्थिति राम्रो भएको भन्दै मलेसियमा पनि त्यही अपेक्षा रहेको बताए।