BIZMANDU
www.bizmandu.com

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँड, १७ लाख आवेदकको हात खाली

२०८१ चैत्र १२

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँड, १७ लाख आवेदकको हात खाली
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँड, १७ लाख आवेदकको हात खाली

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार आइपीओ बाँडफाँड गरेको हो।

Tata
GBIME

१ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले आइपीओ हात पारेका छन्। कम्पनीले फागुन २७ देखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

आइपीओमा २० लाख ५६ हजार ५७६ आवेदन परेकामा १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीको आइपीओमा आवेदन भर्नेमध्ये १७ लाख ६९८ को हात खाली भएको छ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कुल आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको थियो।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बाँडफाँड गरेको हो।

वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता, सामूहिक लगानी कोषलाई ९० हजार कित्ता सेयर र कर्मचारीलाई ५४ हजार कित्ता सेयर कम्पनीले यसअघि नै वितरण गरिसकेको छ।

उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी ओम मेगाश्रीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता ‘मध्यम जोखिम’ रहेको जनाउँछ।