काठमाडौं । भारत सरकारले सांसदहरुको तलब वृद्धि गरेको छ। ७ वर्ष पछि भारत सरकारले सांसदहरुको तलब २४ प्रतिशतले बढाएको हो।
यसअघि सांसदहरुको तलब प्रति महिना एक लाख भारतीय रुपैयाँ थियो। अहिले उनीहरुको तलब बढाएर प्रतिमहिना १ लाख २४ हजार भारतीय रुपैयाँ पुर्याइएको छ।
यस्तै, सांसदहरुको दैनिक भत्ता पनि बढाइएको छ। यसअघि दैनिक भत्ताबाट उनीहरुले २ हजार भारतीय रुपैयाँ पाउँथे भने अबबाट २ हजार ५०० भारतीय रुपैयाँ पाउनेछन्।
भारतमा पूर्व सांसदहरुले पेन्सनबाट रकम बुझ्ने गर्छन। उनीहरुको पेन्सन रकम पनि बढाइएको छ।
यसअघि पूर्व सांसदले प्रति महिना २५ हजार भारतीय रुपैयाँ बुझ्थे। अब पूर्व सांसदहरुले ३१ हजार भारतीय रुपैयाँ पाउनेछन्।
संसदमा पाँच वर्षभन्दा बढी सेवा गरेका सांसदले प्रतिमहिना थप २ हजार ५०० भारतीय रुपैयाँ पाउने व्यवस्था गरिएको छ। यसअघि ५ वर्षभन्दा बढी सेवा गरेकाले २ हजार भारतीय रुपैयाँ पाउँथे।
यसअघि सन् २०१८ को अप्रिलमा सांसदहरुको तलब बढाइएको थियो।