BIZMANDU
www.bizmandu.com

कुलमान घिसिङको त्यो फर्मुला जसले ८ वर्षअघि तिहारयता काठमाडौंमा लोडसेडिङ भयो शून्य

२०८१ चैत्र ११

कुलमान घिसिङको त्यो फर्मुला जसले ८ वर्षअघि तिहारयता काठमाडौंमा लोडसेडिङ भयो शून्य
कुलमान घिसिङको त्यो फर्मुला जसले ८ वर्षअघि तिहारयता काठमाडौंमा लोडसेडिङ भयो शून्य


काठमाडौं । २०७२ सालको तिहारको मुखमा गोरखापत्रमा सूचना आयो- ‘दीपावलीको बेला मागअनुसार विद्युत आपूर्ति गर्न नसकिने हुँदा उपभोक्ताले झिलिमिली बत्ती नबालिदिनुहोला।’ अन्तिममा सूचना निकाल्ने निकायको नाम लेखिएको थियो- नेपाल विद्युत प्राधिकरण।

Tata
GBIME
NLIC

विद्युत नबाल्न त्यस्तो निकायले आग्रह गरेको थियो जसलाई मुलुकमा विद्युत आपूर्तिको एकाधिकार छ। बिजुली दिनुपर्ने निकाय आफैंले झिलिमिलि बत्ती बाल्ने चाडमा बत्ती नबाल्नु भन्दै सूचना जारी गर्दा सर्वसाधारणले चित खाएका थिए। तर, त्यतिबेला जनताले त्यति धेरै आश्चर्य भने मानेनन्। किनभने त्यही निकायले दिनमा १८ घण्टासम्म लोडसेडिङ गर्दा समेत पचाउने बानी परिसकेको थियो।

विक्रम सम्वत् २०७३ सालको तिहारमा भने एक किसिमले चमत्कार नै भयो। लक्ष्मीपूजामा मात्र होइन तिहारको कुनै पनि दिन राजधानीमा एक मिनेट पनि लोडसेडिङ भएन। त्यसदिन यता काठमाडौंले लोडसेडिङ देख्नु परेन।

आखिर यो ‘चमत्कार’ कसरी भयो?

२०७३ सालको दसैंअघि प्राधिकरणको नेतृत्वमा त्यसबेला आएका थिए कुलमान घिसिङ। दसैं बिदापछि तिहारमा पर्याप्त बिजुली दिन नसकिने विगतको नजिरसहित सूचना प्रकाशनको प्रस्ताव लिएर सम्बन्धित विभागका कर्मचारी उनीकहाँ नपुगेका होइनन्।

तर, उनले जवाफ दिए, ‘यो त उज्यालोको चाड हो। जनतालाई कसरी बत्ती नबाल भन्नु। होस्, सबैले धक फुकाएर बालून्। पुगेसम्म दिउँला केही नलागे लोडसेडिङ हुन्छ, जुन सधैं गरिएकै पनि छ। यस पटक पनि त्यही गरौंला।’

कर्मचारीलाई यो जवाफ दिए पनि घिसिङको भित्री मनमा अर्कै अठोट थियो। सो वर्षको तिहारलाई लोडसेडिङ मुक्त बनाउने।

तिहार अगावैदेखि उनले कर्मचारीलाई लोड व्यवस्थानका लागि सुझाएका थिए। त्यसअनुरुप लोडसेडिङ गर्नैपरेको थिएन। कुकुर तिहारको दिनसम्म त्यसमा उनी सफल पनि भएका थिए। त्यतिबेलासम्म उपत्यकावासीमा कुनै औपचारिक मेलोमेसो थिएन, आखिर किन बत्ती गएको छैन?

धेरैको अनुमान छुट्टीले कलकारखाना नचलेको भन्ने थियो।

घिसिङले पनि काम नगरी हल्लाखल्ला गर्न बेकार ठाने त्यसबेला। उनी कसरी २४ घण्टा ‘अप टु डेट’ बिजुली दिन सकिन्छ भन्नेमा मात्र लागे। सबैभन्दा ठूलो खड्गो लक्ष्मी पूजाको दिन थियो। किनभने त्यो दिन देशमा वर्षकै सर्वाधिक धेरै बिजुली माग हुन्छ।

कार्यालयमा तिहारको बिदा भइसकेको थियो। तर, घिसिङ आफू भने छुट्टीको ‘मूड’मा थिएनन्। आफैंलाई चुनौती दिएका थिए- लोडसेडिङ मुक्त तिहार बनाउँछु भन्ने।

२०८१ सालको लक्ष्मीपूजाको रात सबस्टेसनमा कूलमान घिसिङे।

मनमा चलिरहेको एक तमासको द्वन्द्वका बीच लक्ष्मीपूजाको दिन साँझ ५ बजे उनी काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्र पुगे। विद्युत माग, आपिर्ति र लोडसेडिङको निर्णय लिने र व्यवस्थापन मिलाउने कार्यालय त्यही हो।

साँझ पर्दै गएपछि उपत्यकाको विद्युत मागको पारो उकालो लाग्न थाल्यो। स्युचाटार डाँडाबाट उपत्यकाको झिलिमिलीतर्फ पनि आँखा लगाउँदै घिसिङ कार्यालयमा रहेको बिजुली माग र आपूर्तिको मिटर अनवरत हेरिरहेका थिए। मागको पारो माथि चढ्दै जाँदा उनको पनि मुटुको धड्कन बढ्दै थियो।

उनलाई तिहारमा लोडसेडिङ गर्न पाइन्न भनेर कसैले निर्देशन दिएको होइन। उनी आफैंले आफूलाई चुनौती दिएका थिए।घिसिङ यही तनावमा थिए। मागको पारो बढ्दै गएर ३ सय मेगावाट नाघ्यो। त्यतिन्जेलसम्म पनि कतै विद्युत काट्नु परेको थिएन। घिसिङ धैर्यपूर्वक प्रतीक्षामा थिए।

३१५ मेगावाटमा पुगेर मागको पारो अडियो। घिसिङले लामो स्वास ताने।

साँझ टर्दै जाँदा अब मागको पारो ओरालो लाग्न थाल्यो। ८ बजेसम्म हेरेपछि अब थप दबाब पर्दैन भन्नेमा उनी ढुक्क भए।

२०७३ सालको लक्ष्मी पूजाको दिन खिचिएको काठमाडौंको दृश्य। फाइल फोटो।

सो वर्ष लक्ष्मीपूजाको दिन राजधानीमा सबै क्षेत्रमा बत्ती त दिइयो। लोडसेडिङ पनि भएन। त्यसअनुरुप सिस्टमले सपोर्ट गर्‍यो कि गरेन? सबै ठाउँमा बत्ती बल्यो कि बलेन? घिसिङ वितरण केन्द्रहरु चियाउन थाले।

सबै केन्द्रमा जहाँ समस्या आउँछ त्यहाँ तत्काल मर्मतमा दौडिहाल्ने ‘नो लाइट’को जनशक्ति सहितका गाडी स्ट्यान्डबाई थिए। ८ बजे भारप्रेषण केन्द्र निस्किएर त्यसपछि २ घण्टा उपत्यकाका नो लाइट सेन्टरहरु घुमे उनी। कतै पनि कुनै गुनासो आएको थिएन। ‘बत्ती गयो मर्मत गर्न आउनुस्’ भन्ने गुनासोबाट वाक्क दिक्क भएका नो लाइटका कर्मचारी समेत त्यो दिन अचम्मित भए।

८ वर्षअघि झन्डै ४० लाख जनसंख्या रहेको उपत्याकामा लक्ष्मीपूजाको साँझ जम्मा एक ठाउँको ट्रान्सफरमरमा समस्या देखिएको थियो। बूढानीलकण्ठको एउटा ट्रान्फरमरको एउटा फेजमा समस्या थियो। त्यो फेजबाट विद्युत जाने केही घरको बत्ती भोल्टेज नपुगेपछि मधुरो बलेको थियो। ट्रान्सफरमरका तीनमध्ये दुई फेज चालू थिए। बिग्रेको फेजका ग्राहकलाई प्राधिकरणको प्राविधिक टोलीले तत्काल चालू रहेका दुई फेज अन्तर्गत सारिदिए।

तर, त्यहीँबाट धेरै लामो तारबाट बिजुली लगेका दुई घरमा भने फेज सिफ्ट गरेर विद्युत पठाउन सम्भव नै भएन। यसरी लक्ष्मीपूजाको साँझ बूढानीलकण्ठका ती दुई घरबाहेक बत्ती नपाउने अरु कुनै घर थिएनन्।

त्यही एउटा ट्रान्सफरमरबाहेक अरु कतै पनि समस्या नदेखिएपछि काठमाडौंको वितरण प्रणाली चुस्त छ भन्नेमा घिसिङ ढुक्क भए।

कर्मचारीदेखि सिस्टमसम्म सबै त्यही थियो। विद्युत उत्पादन गर्ने आयोजना तिनै थिए, भारतदेखि आपूर्ति गर्ने र एकदेखि अर्को ठाउँसम्म विद्युत लोड पठाउने प्रसारण लाइन त्यही थियो। सो वर्ष विद्युत प्राधिकरणको नेतृत्व मात्र फेरिएको थियो।

एक व्यक्तिको प्रभाव

घिसिङ इलेक्ट्रिकल इन्जिनयर हुन्। उनले प्राधिकरणको सिस्टम बुझेका थिए। साथसाथै उनको अतिरिक्त क्षमता हो व्यवस्थापन। एमबिए पनि गरेका उनले त्यसबेला भनेका थिए, ‘अरुलाई के हुन्छ थाहा छैन तर विद्युतको व्यवस्थापन गर्न मलाई केही सहज लाग्छ।’

एउटा मात्र मान्छे परिवर्तन हुँदा पनि यत्रो धेरै चमत्कार हुन्छ?

उनले त्यसबेला जवाफ दिए, ‘हो नेतृत्वको प्रतिबद्धता र अपनत्वभावले संस्थाको गतिलाई अवश्य प्रभाव पार्छ।’

त्यसबाहेक सो नतिजा हासिल गर्न भार प्रेषण केन्द्रका कर्मचारीहरुको दृढता र उत्प्रेरणाको ठूलो हात रहेको उनको भनाइ थियो।

तर, प्रश्न यहाँ व्यवस्थापनको मात्र थिएन। विद्युत स्रोत उपलब्धताको पनि थियो। सुरुदेखि नै लोडसेडिङको उपहार पाएको काठमाडौंका लागि आखिर कहाँबाट ल्याए त घिसिङले त्यत्रो बिजुली?

कुलमानका अनुसार कुनै नयाँ स्रोतबाट उपत्यकामा विद्युत भित्र्याइएको थिएन। मात्र कुशल व्यवस्थापनले सो उपलब्धि हासिल भएको थियो।

काठमाडौंको विद्युत आसपासकै मर्स्याङ्दी, खिम्ती, लामोसाँघु एवं त्रिशूली करिडोरका प्रोजेक्टबाट आपूर्ति हुँदै आएको थियो। ‘यी आयोजनाबाट उत्पादित विद्युतलाई माग र आपूर्तिको सन्तुलन मिलाएर हामीले व्यवस्थापन गर्‍यौं,’ उनले भनेका थिए।

यहाँ रिजर्भवायरको रुपमा जलाशययुक्त ९० मेगावाटको कुलेखानी आयोजना र हेटौंडामा १० मेगावाटको डिजेल प्लान्ट पनि छ।घिसिङले यी दुवै प्लान्ट पिक आवरमा मात्र चलाउन भनेका थिए। अरु बेला अन्य आयोजनाबाट उत्पादित विद्युतको सन्तुलित वितरणले नै लोडसेडिङ हुन दिएनन्।

सो वर्ष तिहारमा काठमाडौंभन्दा पनि बाहिरका लागि कुलेखानी चलाइयो। परिमाणस्वरुप उपत्यकामा त लोडसेडिङ नै भएन। बाहिर समेत कुनै ठाउँमा आपत परेको स्थानमा मात्रै त्यो पनि आधा घण्टाभन्दा बढी बत्ती गएन। धेरै औद्योगिक फिडर भएको क्षेत्रमा मात्र केही समय बिजुली काटिएको थियो।

‘तिहारको माग व्यवस्थापन हाम्रो सबै स्रोतलाई अधिकतम उपयोग गरेर गरिएको हो,’ घिसिङले भनेका थिए।

२०८० सालको लक्ष्मीपूजाको दिन काठमाडौंको दृश्य।

जब उपत्यका र बाहिरका समेत धेरैजसो स्थानमा सर्वाधिक मागको दिनसमेत बिना लोडसेडिङ बिजुली पुर्‍याउन सफल भए अनि घिसिङको मनमा नयाँ आइडिया जन्मियो- ‘आखिर काठमाडौंको सिस्टम त्यत्रो विधि ठूलो होइन रहेछ।’

‘अत्यधिक माग हुँदा पनि ३ सय मेगावाटभन्दा केहीमाथि मात्र बिजुली चाहिने। त्यो पनि वर्षमा एक दिन लक्ष्मीपूजा गर्दा जम्मा २ घण्टाको हाराहारीमा। अनि किन यहाँ सधैं २४ घण्टा उज्यालो बनाउन नसकिने?’ उनले भनेका थिए।

दोस्रो दिनदेखि नै काठमाडौंमा पिक आवरको माग लक्ष्मीपूजाको तुलनामा २५ मेगावाट हाराहारीले घट्यो। साँझको पिक आवरमा उपत्यकाको विद्युत माग २७५ देखि ३ सय मेगावाट हाराहारी पुगेको थियो। दिउँसोको माग त अझ १५० देखि २ सय मेगावाट मात्र रह्यो।

राति ११ देखि बिहान ३ बजेसम्म सय मेगावाट हाराहारी विद्युतले पुग्छ। काठमाडौंदेखि बनेपा धुलिखेलमा भएका उद्योगको खपत जम्मा १२ मेगावाट मात्र हो। त्यही लक्ष्मीपूजाको दिन उनी १० वर्षदेखि ७ प्रधानमन्त्री, दर्जन हाराहारीका ऊर्जामन्त्री र आधा दर्जन विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकले फलाकिरहेको तर कहिल्यै पूरा नभएको नयाँ योजनामा जुटे। त्यो थियो लोडसेडिङ मुक्त देश।

त्यसका लागि घिसिङले काठमाडौंलाई मोडलका रुपमा राखे। ‘व्यवस्थापन गर्न सक्ने आधार हुँदाहुँदै काठमाडौंलाई अँध्यारोमा किन राख्ने? यहाँ लोडसेडिङ किन गर्नु पर्‍यो?’ घिसिङले केही नयाँ गर्ने अठोट लिँदै भनेका थिए।

उनले भोलिपल्टै प्राधिकरणका सबै उच्च पदस्थको बैठक डाके। त्यहीँबाट उपत्यकालाई लोडसेडिङ मुक्त गराउँदा सिस्टमले कति सघाउँछ भनेर अध्ययन गर्न समिति गठन गरियो।

तिहारमा झिलिमिलि बनेको नेपाल विद्युत प्राधिकरणको कार्यालय

राजधानीलाई झिलिमिलि बनाउने सपना देख्दै गर्दा घिसिङलाई लाग्थ्यो – काठमाडौंलाई लोडसेडिङ मुक्त गराउन प्राविधिक रुपमा कुनै कठिनाइ छैन। देशैभरका मानिस बस्ने यो सहरलाई उज्यालो बनाउन राजनीतिक प्रतिबद्धता भए तत्कालै सम्भव हुन्छ। तर, ‘काठमाडौंमा बत्ती दिएर बाहिर अँध्यारो पारियो’ जस्ता सस्ता राजनीतिक नारा नआऊन् भनेर उनले यसमा सबै दलको प्रतिबद्धता खोजेका थिए।

‘हाम्रो चाहना बाहिरको भाग खोसेर यहाँ उज्यालो बनाऔं भन्ने बिलकुल होइन,’ उनले भनेका थिए, ‘बाहिर पनि सम्भव भएका ठाउँमा क्रमशः लोडसेडिङ अन्त्य गर्दै लैजाने हो, राजधानीमा तत्कालै सम्भावना देखिएको हुँदा सबैको साथ खोजेका हौं।’

एक त राजधानी अर्को त प्राविधिक रुपमा लोड व्यवस्थापन गर्न सहज। यिनै कारण उनले उपत्यकाबाटै लोडसेडिङ मुक्त अभियान सुरु गर्न खोजेका थिए।

‘२२ घण्टा २०० मेगावाट विद्युत व्यवस्थापन गरे पुग्ने। दिउँसो नचलाउने हो भने पिक आवर २ घण्टा त कुलेखानीबाट ९० मेगावाट थपिन्छ,’ उनले फर्मुला सुनाउँदै त्यसबेला भनेका थिए।

कुलेखानी साँझको लागि जोगाएर बाँकी २०० मेगावाट कताबाट पुर्‍याउने भन्ने प्रश्नमा उनले भनेका थिए, ‘सुक्खा याममा समेत खिम्ती, त्रिशूली, लामोसाँघु एवं मर्स्याङ्दी करिडोरका प्रोजेक्टबाट २०० मेगावाट विद्युत काठमाडौं आउँछ। साँझमा कुलेखानी हिउँदभरि एकदेखि डेढ घण्टा चलाउन कुनै समस्या पर्दैन। काठमाडौंलाई चाहिएकै त्यति मात्रै हो, त्यहाँभन्दा धेरै होइन।’

+++

१८ घण्टासम्म लोडसेडिङ ब्यहोरेको काठमाडौंसहित अन्य जिल्ला अहिले अन्धकारमा छैन। २०७५ सालको वैशाखमा नेपाल लोडसेडिङ मुक्त देश घोषणा पनि भयो। त्यसयता प्रविधिले धेरै फड्को मारिसकेको छ। बिजुलीको हाहाकारबाट गुज्रेको मुलुक अहिले बिजुलीबाट गुड्ने गाडी आयातमा अब्बल बनिरहेको छ। यसबीच पनि हाल कहिलेकाँही फ्याट्टै बिजुली गइहाले पनि धेरैले कुलमानलाई नै सम्झिने गरेका छन्।

करिब एक दशक विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा घिसिङले विभिन्न उतावचढाव देखे। अस्थिर राजनीतिक परिस्थितिबीच प्राधिकरणमा टिकेर देशलाई लोडसेडिङ मुक्त बनाए। धेरैले कल्पना नगरेको लोडसेडिङबाट देश मुक्त भए पनि अस्थिर राजनीतिक परिदृश्यको ‘लोडसेडिङ’ भने जारी छ। उनै घिसिङ आजबाट प्राधिकरणको नेतृत्वबाट बाहिरिएका छन्। सरकारले उनलाई पदमुक्त गरेको छ। राजनीतिक परिस्थिति प्रतिकूल भइरहँदा सरकारले कुलमानलाई हटाउँदा त्यसले कति ‘ब्याकफायर’ गर्ने हो, त्यो आउने दिनहरुले प्रष्ट पार्ने नै छ।

(२०७३ साल कात्तिक २२ गते पहिलोपोस्टमा प्रभात भट्टराईले लेखेको स्टोरी आज पुन: प्रकाशन गरिएको हो। समयानुकूल बनाउन केही सम्पादन गरिएको छ)