BIZMANDU
www.bizmandu.com

२५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक को? एक साताको अनुसन्धानको प्रगति शून्य

२०८१ चैत्र ११

२५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक को? एक साताको अनुसन्धानको प्रगति शून्य
२५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक को? एक साताको अनुसन्धानको प्रगति शून्य


काठमाडौं। २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको एक साता हुँदा अहिलेसम्म अनुसन्धानमा कुनै प्रगति देखिएको छैन।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति टोखाको झोरबाट ट्रक चालकसहित २५ करोड रुपैयाँ बराबरको मुद्रा बरामद गरी भोलिपल्ट राजस्व अनुसन्धान विभागलाई बुझाएकामा मुद्राको मालिक को हो भन्ने अहिलेसम्म खुल्न नसकेको हो।

विभागले विदेशी मुद्रासँग जोडेर अनुसन्धान गरिरहेकामा अहिलेसम्म नयाँ सुराक फेला पार्न सकेको छैन।

विभागका महानिर्देशक चण्डीराज घिमिरेले अनुसन्धान भइरहेको तर अहिलेसम्म कुनै प्रगति नभएको बताएका छन्। ‘हामी अनुसन्धानमा नै छौं। अहिलेसम्म नयाँ केही खुल्न सकेको छैन,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक घिमिरेले भने।

विभागले पक्राउ परेका चालक कुसाङ लामासँग बयान लिने काम गरिरहेको छ। कुसाङले रकम चिनियाँ नागरिकले दिएको बताइरहेका छन्। त्यसो त उनको बयान फेरेका छन्।

लामाको ट्रक सुरुमा २१ दिनसम्म ग्यारेजमा रहेको भनिएकामा अहिले उनले तीन महिनादेखि ग्यारेजमा रहेको बयान दिएको एक अनुसन्धान अधिकृतले बताए।

चालकको कुरा पत्याइ नसक्नु छ। अहिले ट्रक तीन महिनादेखि ग्यारेजमा रहेको बताएका छन्। हामीले बयान लिने बाहेक अरू तरिकाबाट पनि अनुसन्धान गरिरहेका छौं,’ ती अनुसन्धान अधिकृतले सुनाए।

ट्रक एक महिनाअघि कुसाङको आमाको नाममा पास भएको देखिएको छ।

काठमाडौंबाट रसुवातर्फ हिंडेको ट्रक फल्स बटम बनाएर विदेशी मुद्रा राखिएको अवस्थामा प्रहरीले चालकसहित नियन्त्रणमा लिएको थियो।

कुसाङ यसअघि पनि सुन तस्करीमा ५ वर्ष जेल बसेर निस्किएका व्यक्ति हुन्। २०७३ पुस दोस्रो साता पक्राउ परेका उनी २०७८ मा रिहा भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले चालकको साथबाट बरामद मोबाइललाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा पैसा सुन तस्करीका लागि चिनियाँ नागरिकले आफ्नो देशमा पठाउन लागेको देखिएको छ। तर चिनियाँ नागरिक को हुन् र उनलाई नेपालमा कसले सहयोग गरिरहेको छ भन्ने खुल्न सकेको छैन। प्रहरीले नेपालमा बसेर सुन तस्करी गरेका पुराना समूहसँग जोडेर पनि अनुसन्धान गरिरहेको छ।