BIZMANDU
www.bizmandu.com

सुन प्रकरणका प्रतिवादीलाई धमाधम सम्पत्ति शुद्धीकरण मुद्दा, सस्तोमा डलर साट्ने मनिचेन्जर पनि फन्दामा

२०८१ चैत्र १०

सुन प्रकरणका प्रतिवादीलाई धमाधम सम्पत्ति शुद्धीकरण मुद्दा, सस्तोमा डलर साट्ने मनिचेन्जर पनि फन्दामा
सुन प्रकरणका प्रतिवादीलाई धमाधम सम्पत्ति शुद्धीकरण मुद्दा, सस्तोमा डलर साट्ने मनिचेन्जर पनि फन्दामा


काठमाडौं । दोलखामा बरामद भएको सुन प्रकरणका २६ जना आरोपीविरुद्ध बुधबार सम्पत्ति शुद्धीकरणको पनि मुद्दा लगाइएको छ। कसुर गरेर कमाएको सम्पत्ति लुकाउने, छल्ने, अधिकार र स्वामित्व परिवर्तन गरेको देखिएपछि मुद्दा चलाइएको हो।

Tata
GBIME
NLIC

जिल्ला सरकारी वकिल कार्यालय दोलखाले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो। यसअघि जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसन्धानमा उनीहरू विरुद्ध अवैध सुन पैठारी र संगठित, नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत अपराधमा २०८० मंसिर १० मा मुद्दा दर्ता भएर अदालतमा विचाराधीन रहेको छ।

चेतनाथ न्यौपाने, सुनमाला तामाङ, चस्मान तामाङ, केशर तामाङ, पेम्बा तामाङ, माधव कुमार मगर, नुर्ब छिरिङ शेर्पा, लालबहादुर तामाङ, सनद प्रधान लागागतविरुद्ध मुद्दा दायर भएको हो। जसमा फरार रहेका ६ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ। प्रतिवादीहरूलाई फरक फरक बिगो र सजाय माग दाबी गरिएको छ।

प्रतिवादीहरूले चिनियाँ नागरिकसँग सम्पर्क गरेर सस्तोमा अवैध सुन किन्ने, मनिचेन्जर संचालकले नेपाली रुपैयाँ लिएर डलर सटही गर्ने, डिजिटल वालेट मार्फत डलरमा भुक्तानी गर्ने गरेको देखिएको छ। यसरी आएको आम्दानीबाट जग्गा खरिद र अन्य  क्षेत्रमा लगानी गरेर अवैध आम्दानीलाई वैध गराउने गरेको खुलेको छ। त्यसैले पछिल्लो समय सुन प्रकरणमा समातिएकाहरूलाई सम्बन्ध कसुर अनुसार सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न थालिएको हो।

२०८० असोजमा प्रहरीले दोलखामा एक सातामा ११ किलो सुन बरामद गरेको थियो। प्रहरीले असोज १० गते राति बिगु गाउँपालिका वडा नम्बर ३ जामुने स्थित सिता तामाङको घरमा बस्ने केशर तामाङ डेराबाट चार किलो सुन बरामद गरेको थियो। त्यसपछि बिगु गाउँपालिका बस्ने पेम्बा तामाङ, माधव मगर, काठमाडौंको रामहिति बस्ने नुर्वु छिरीङ शेर्पा, सुनमाला तामाङ, बिगु गाउँपालिका १ बस्ने चस्मान तामाङ, १७ वर्षको नाबालकलाई पक्राउ गरेको थियो।

त्यसको दुई दिनपछि लामा बगर स्थित आङफुर्वा शेर्पाको बारीमा ढुंगा मुनि लुकाई छिपाई राखेको अवस्थामा थप चार किलो सुन भेटिएको थियो।

सुनमाला तामाङ, ‍नुर्बु छिरिङ शेर्पाको श्रीमती र पेम्बा तामाङको दिदी हुन्। छिरिङ शेर्पाले सुन तस्करी गर्ने चिनियाँ समूहसँग सम्पर्क गरि ३३ किलो सुन तस्करी गरेको देखिएको छ। जसमा ११ किलो हराए पश्चात् मात्र थाहा पाएको भनी आफ्नो बयानमा खुलाएका थिए। उनको अन्य प्रतिवादीहरूसँग पटकपटक फोन सम्पर्क भएको देखिको थियो। सुन तस्करी गर्न आफ्ना श्रीमान् नुर्बु छिरीङ शेर्पासँग साथ आई बरामद हुन आएको ११ किलो सुन खोजतलासको लागि काठमाडौंदेखि दोलखासम्म आएको देखिएको थियो।

सुनमाला तामाङले सम्पत्ति शुद्धीकरणमा विभिन्न मितिमा पटक पटक गरि जम्मा ३३ किलो सुन चोरी पैठारी र सोको डलर मार्फत भुक्तानी प्राप्त गरी विदेश चीनमा पठाउन आपराधिक समूहमा प्रत्यक्ष संलग्नता रही कसुर गरेको गरेकोले कूल ३३ किलो सुनको बिगो ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ बिगो कायम गरिएको छ।

प्रतिवादी दुर्गा खत्री र ललिता खत्रीलाई पनि सोही बराबरको बिगो कायम गरिएको छ। उनीहरू काठमाडौंमा रहेको तारा मनिचेन्जरका संचालक हुन्। उनीहरूले सुनको लागि भुक्तानी गर्ने रकम नेपालीमा लिएर डलरमा दिएको देखिएको थियो। १४ हजार अमेरिकी डलर र ४५ हजार युएसडिटी दिएको खुलेको हो।

त्यस्तै प्रतिवादी सरोज भण्डारीको पनि कान्तिपुर मनिचेन्जर रहेको थियो। उनले पनि चिनियाँ नागरिकसँग सम्पर्कमा रहेर ८ हजार डलर दिएको देखिन्छ। उनलाई पनि ३३ किलो सुन बराबर बिगो दाबी गरिएको छ।

प्रतिवादी पवन गुप्ता र मिलन नेवार, मिलन विक, महिमा माझीले चिनियाँ नागरिकलाई डिजिटल वालेट (युएसडिटी) मार्फत भुक्तानी गरेको देखिन्छ। मिलन नेवारले १ लाख २५ हजार ४९५ हजार युएसडिटी भुक्तानी गरेका देखिएको छ। त्यसैले उनलाई ११ किलो सुनको मूल्य बराबरको बिगो देखाइएको छ।

त्यस्तै, फरार रहेका प्रतिवादीहरू अशोक मगर, ठुन्डु भन्ने थुन्दु शेर्पा, नुर्बु तामाङ, साङा शेर्पा र पेम्बा तामाङ (ख) को हकमा भने ३३ किलो सुन तस्करीमध्ये पछिल्लो ११ किलोमा संलग्नता देखिँदा ११ किलो सुनको १० करोड ३७ लाख २३ हजार ४४२ रुपैयाँ बिगो कायम गरिएको छ।

उनीहरूले अपराधबाट कमाएको सम्पत्ति जफत र विभिन्न बैंक खातमा रहेको रकम समेत रोक्का राखिएको छ।

पछिल्लो समय सुन प्रकणमा जोडिएका पुराना घटनामा पनि पुनः अनुसन्धान गरेर सरकारी वकिल मार्फत सम्पति शुद्धीकरणमा मुद्दा चलाउने क्रम बढ्दो छ। विमानस्थलमा भेपभित्र बरामद भएको ९ किलो सुनमा पनि नासुसहित रेवन्त खड्का, राहुल महरा सहित ११ जनालाई गत पुसमा मुद्दा चलाइएको थियो।

त्यस्तै, २०८० भदौमा काठमाडौंबाट बरामद ९६० ग्राम सनु प्रकरणमा पनि एक वर्षपछि चारजना विरुद्ध मुद्दा चलाइएको हो।दुबईबाट ल्याएको सुन प्रकरणमा काभ्रेका बाबुलाल दोङ, जगत लामा, र मिनमाङ दोर्जे स्याङतानविरुद्ध जनही ९२ लाख १७ हजार २ सय रुपैयाँको बिगोसहित मुद्दा दायर गरिएको हो। त्यस्तै, अर्का प्रतिवादी विकास योन्जनविरुद्ध भने १ करोड १७ लाख १७ हजार ९२० रुपैयाँ बिगोसहित मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को संशोधन राजपत्रमा प्रकाशन भएसँगै प्रहरीले पनि त्यस्ता कसुरमा अनुसन्धान सुरु गरेको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र यस्ता कसुरमा अनुसन्धान गर्दै आएको थियो।