BIZMANDU
www.bizmandu.com

५०० करोड लगानीमा फिल्म बनाइरहेका चाउ, कसरी गर्दैछन् क्यामरामा नेपाललाई कैद?

२०८१ चैत्र ९

५०० करोड लगानीमा फिल्म बनाइरहेका चाउ, कसरी गर्दैछन् क्यामरामा नेपाललाई कैद?
५०० करोड लगानीमा फिल्म बनाइरहेका चाउ, कसरी गर्दैछन् क्यामरामा नेपाललाई कैद?


काठमाडौं। नेपालबारे सुनेको तर यहाँको अवस्था बुझिनसकेका चाउ डिफिङ पहिलोपटक गत डिसेम्बरमा १० दिन नेपाल बसेर चीन फर्किए। उनी दोस्रो पटक नेपाल आउँदा काठमाडौं रंगिन पर्व फागुमा रमिरहेको थियो। वसन्तपुर दरबार क्षेत्रमा उनी सहितको टिमले सिनेमा खिच्न प्रयोग हुने क्यामरा तेर्स्याउँदै यहाँको दृश्यहरु लिइरहेका थिए। नेपालमा चिनियाँ पर्यटकले यस्ता क्यामरा बोकेर हिँडेको खासै नदेखिने भएकाले उक्त दृश्य कौतुहलको विषय थियो – के खिचिरहेका छन् यिनीहरु?

Tata
GBIME
Nepal Life

बेइजिङ ओलम्पिकको लागि संगीतमा काम गरेका एक चिनियाँ कलाकार लुम्बिनी आएका रहेछन् हलिउडको एउटा टिमसँग। लुम्बिनी देखेपछि निक्कै प्रभावित भएका उनकै सुझावमा चाउ डिफिङ नेपाल आए। पाँच वर्षदेखि एउटै फिल्ममा लागिपरेका उनी गएको डिसेम्बरमा आउँदा सोचेका रहेछन् – सुटिङका लागि क्यामरा त नेपालमा नै मिलिहाल्ला। त्यतिखेर क्यामरा नमिलेपछि उनी दोस्रो पटक क्रुसहित नेपाल उत्रिए। लुम्बिनी पुगे र केही थप दृश्यहरु कैद गरे।

होलीको दिन वसन्तपुरमा चिनियाँ टोली

यसपटकको बसाईपछि उनी तेस्रो पटक नेपाल आउने तयारीका साथ फर्केका छन्। अब उनीसँगै झन्डै २०० जना आउनेछन् फिल्मको बाँकी काम पूरा गर्न। कोभिड-१९ का कारण उनको फिल्मी प्रोजेक्ट लम्बिदै २०२५ पुग्यो। २०२६ को चिनियाँ नयाँ वर्षमा फिल्म रिलिजको लक्ष्य राखेका निर्माता चाउ भन्छन्, ‘फिल्म ऐतिहासिक बन्नेवाला छ।’

चीन विश्वकै दोस्रो ठूलो फिल्म बजार हो। सन् २०२४ मा तीन अर्ब युआनभन्दा बढी कमाउने फिल्म तीन वटा थिए। फिल्म ‘योलो’ले सर्वाधिक ३.४ अर्ब युआन कलेक्सन गर्‍यो गएको वर्ष। नेपालीमा रुपान्तरण गर्दा ६४ अर्ब रुपैयाँभन्दा माथि हुन आउँछ उक्त फिल्मको बक्स अफिस कलेक्सन। कोभिड-१९ अघिको तुलनामा अझै चिनियाँ फिल्म उद्योग तंग्रिइसकेको छैन। थिएटरमा दर्शक घट्दा पनि गत वर्ष १ अर्ब टिकट बिक्री भएको देखिन्छ। त्यसैले केही फरक गर्ने र दर्शकलाई हलमा भित्र्याउने रणनीतिमा छन् चिनियाँ।

+++

बेइजिङ गोल्डन एज फिल्म इन्भेस्टमेन्ट कम्पनीबाट बन्दै गरेको फिल्म चिनियाँ बादशाह शी हुआंगका कतिपय ऐतिहासिक सन्दर्भबाट प्रेरित छ – ‘लिभ फरएभर एन्ड नेभर डाई’। सधैं बाचिरहन र शक्तिशाली बन्न चाहने व्यक्तिको महत्त्वाकांक्षाको मोर्डन भर्सनलाई फिल्ममा उतार्ने तयारीमा छ चिनियाँ समूह। त्यही समूहका २० जना नेपालमा लामै समय बिताएर आफ्नो देश फर्किएका हुन्। अब फेरि नेपालमा आउँदा सुटिङ सकेर फर्किने लक्ष्य लिएका छन्।

‘एउटै कथासँग जोडिएर फिल्मको तीन वटा भाग बन्नेछ। पहिलो भागमा आधा सुटिङ नेपालमै हुन्छ। दोस्रो फिल्मको केही अंश नेपालसँग जोडिन्छ,’ निर्माता डिफिङले सुनाए। बुद्धको दर्शनदेखि नयाँ प्रविधिको उड्ने कारसम्म उनको फिल्ममा समेटिन्छ। एक्सन जेनराको फिल्म कसरी नेपालसँग जोडिन्छ त?

निर्माता चाउ डिफिङ

दोभाषेको सहायतामा निर्माता डिफिङले व्याख्या गरे, ‘मुख्य पात्रले थाहा पाउँछ कि नेपालमा त्यस्तो बुटी पाइन्छ जुन खाएपछि अजर बनाइदिन्छ मानिसलाई। त्यही खोज्न नेपालको यात्रा तय हुन्छ। नेपालका जंगल र नदीनालामा गजबको एड्भेन्चर हुन्छ त्यो बुटीका लागि।’

उनका अनुसार इतिहास, मिथक र साहासिक यात्राको कथाले उपन्यासकै आकार लिइसक्यो। तर, डिफिङ त्यो उपन्यासको लेखक र प्लटलाई ‘सेक्रेट’ राख्‍न चाहन्छन्। फिल्मका लिड क्यारेक्टर पनि को हुन् चुहाउन चाहँदैनन्। उनको रणनीति नै एकैपटक ‘ब्याङ्ग’ गर्ने हो फिल्म रिलिजको मुखैमा। त्यसैले सुरुमा ओलम्पिकसँग जोडिएका आर्टिस्टको सन्दर्भ उठाए पनि उनले पछि भने, ‘नाम चाहिँ सेक्रेट नै राख्दिनुस् है। अहिले थाहा दिनुहुन्न।’

‌+++

२५० मिलियन आरएमबी अर्थात् झन्डै ५ सय करोड रुपैयाँ बजेट रहेको फिल्मको सुटिङ नेपालमा हुँदैछ। चाउ डिफिङको भनाईलाई विश्वास गर्ने हो भने यसले नेपालको पहिचानलाई चिनियाँ र बाँकी विश्वमा फैलाउने छ। प्रकृति र संस्कृति दुवैको अन्तर्राष्ट्रियकरण हुन्छ चिनियाँ शैलीमा।

त्यसो त दुई वर्षअघि पनि दुई चिनियाँ फिल्म ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’ यहीँ सुटिङ हुने घोषणा गरिएको थियो। घोषणा गर्ने तर फिल्म बनाएर रिलिज नगर्ने परिपाटी चलिआएकै छ यस क्षेत्रमा। डिफिङको टिम पटकपटक नेपाल यात्रामा आइरहेको देख्दा फिल्म बन्ने सम्भावना रहेको मान्न सकिन्छ। फिल्मका लागि स्टुडियोको बलियो परिकल्पना समेत नभएको मुलुकमा चिनियाँ लगानीकर्ता सुटिङका लागि आउँछन् भने पक्कै पनि त्यो कम महत्त्वको विषय होइन।

निर्माता डिफिङका अनुसार अब फिल्मका लागि चर्चित चिनियाँ कलाकार लिने काम भइसकेको छ। धेरैसँग सम्झौता पनि भइसक्यो। जतिसँग सम्झौता भएको छ ती सबै ‘सेक्रेट’ नै राख्‍ने उनले बताए।

‘एकैपटक फिल्म देखाएर “वाउ” गराउने हो,’ उनले भने।

पूर्ण रुपमा सुटिङमा उत्रिनुअघि नेपालको दुई पटकको ‘रेकी’ गरिसक्दा यहाँको वातावरण कस्तो लाग्यो त उनलाई?

‘म बेइजिङमा बस्छु। त्यहाँ सबै मानिसहरु यति व्यस्त हुन्छन् कि बोल्न पनि भ्याउँदैनन्,’ उनले दुई देशको तुलना गरे, ‘यहाँ मानिसहरु औधी फ्रेन्डली र खुशी छन्।’

उनलाई नेपालको हस्पिटालिटीले पनि उनलाई लोभ्याएको छ। नेपाल महँगो लागेको छैन उनलाई। त्यसैले यहाँबाट धेरै लिनसक्ने बताए। 

कस्तो होला महँगो फिल्म?

नेपाली ठूलो पर्दा चिनियाँ फिल्मबाट जसरी टाढा छ त्यसरी नै चिनियाँ फिल्ममा नेपाल। फिल्ममाथिको कौतुहलता चिर्दै डिफिङले मोबाइल झिके र देखाएको एक झलक। एआईबाट तयार पारिएको फिल्मको कन्सेप्ट तयार पारिएको रहेछ जसलाई उनले पब्लिक गरेका छैनन्।

उनले देखाएको भिजुअलमा प्राचिन बौद्ध परम्परा र आधुनिकताको कोलाज थियो। हिमालय, जंगल र बुद्धलाई संकेत गर्ने दृश्यहरु पनि। जंगल र खोलामा गुडिरहेका गाडीको दृश्य देखाउँदै उनले भने, ‘यो चाहिँ चितवनको हो।’

कन्सेप्टवाला भिडियो एड्भेन्चरमा आधारित गाडी थियो। उसै पनि नेपालको बाटो एड्भेन्चर भन्दा कम छैन। ‘चीनका सडकमा केही थ्रिलिङ छैन जुन नेपालमा छ। बाटोका डरलाग्दा दृश्य यहाँ गजबले देख्न सकिन्छ,’ उनले भने। उनको योजनाअनुसार चीनबाट गाडी ल्यएर सुटिङ गर्न सकियो भने गजब हुनेछ। नमिलेदेखि चीनमा नै सुटिङ गरेर भिएफएक्सको प्रयोग गर्ने योजना बनाएका छन्। उनले देखाएको कन्सेप्ट भिडियोमा गाडीको सिन निक्कै लामो छ। गाडी उडाउने सिन पनि। यसखाले एक्सनका सिनका लागि हलिउडको टिमसँग पनि कुरा भइरहेको उनले जानकारी दिए।

चीनका गाडीहरु गुड्नेमात्र होइन अब त उड्ने तयारीमा पुगेका छन्। उनको फिल्ममा आकाशबाट उड्ने गाडी पनि हुनेछ। कुनै पनि चिनियाँ फिल्ममा यसखाले प्रयोग पहिलो हुने डिफिङको दाबी छ। उनी फिल्म त्यसरी बनाउन चाहन्छन् जसले सबै रेकर्ड तोडोस्। चीनमा स्टार्ट अप फिल्म मेकरले तहल्का पिटिरहेको बेलामा उनी पनि त्यस्तै डेब्युको प्रतीक्षामा छन्।

चिनियाँ एम्पायरबाट प्रेरित भएर फिल्मको टिमकै एक सदस्यले उपन्यास लेखेका छन्। उक्त उपन्यास पनि फिल्मसँगै बजारमा लैजाने तयारी छ। उपन्यासबाट तीन वटा फिल्म तयार हुनेछ। उनीहरु अहिले पहिलो फिल्ममा काम गरिरहेका छन्। दोस्रो र तेस्रो फिल्मको कुनै पनि क्लु अहिले सार्वजनिक नगर्ने उनीहरुको रणनीति छ।

‘वर्षमा तीन-चा रवटा होइन चार-पाँच वर्षमा एउटा फिल्म बनाउने हो। त्यसपछि मात्र राम्रो हुन्छ,’ उनले फिल्मको समयमाथि गरिएको लगानीबारे सुनाए। फिल्ममा केही नेपाली कलाकार पनि हुनेछन्। ‘चीनका चर्चित कलाकार भएकाले हामी नेपाली कलाकार पनि चर्चित नै लिन चाहन्छौं,’ उनले भने।

फेरि उनको टिम अगस्टमा नेपाल आउने छ। नेपालमा रिलिज गर्ने लक्ष्य पनि राखेका छन्। नेपालमा रिलिज हुने पहिलो चिनियाँ फिल्म हुने उनको दाबी छ। फिल्ममा काठमाडौं, चितवन र लुम्बिनी जोडिने छ। फिल्मको मूल कथा लुम्बिनीसँग जोडिन्छ।

+++

फिल्मको हिरोइन हुन् नि हाउ। उनी नेपालीको व्यवहारबाट निक्कै प्रभावित भएकी रहिछन्। ‘सधैं यतै बसिरहुँजस्तो लाग्ने !’ उनले भनिन्। यहाँको हस्पिटालिटी र मानिसहरुको व्यवहारले उनी निक्कै प्रफुल्लित देखिन्थिन्।

अभिनेत्री नि हाउ

नेपालीबाट पाएको स्वागतले चाउ डिफिङ र नि हाउ हौसिएका छन्। नि हाउलाई लुम्बिनी निक्कै मन पर्‍यो। यसअघिका केही चिनियाँ फिल्ममा नेपालका एक दुई मिनेटका दृश्यमात्र देखिएका छन्। डिफिङका अनुसार त धेरैलाई नेपाल भन्ने देशबारे नै थाहा छैन चीनमा। 

‘नेपाल भन्ने देश छ भन्ने थाहा नभएर पनि मानिस यहाँ आएका छैनन्। हाम्रो फिल्म देखेपछि अरु पनि आउन सक्छन्,’ डिफिङले भने, ‘संसारको सबैभन्दा राम्रो देश हो नेपाल।’

उनले जति राम्रो भनेर तारिफ गरे पनि यहाँ सुटिङ गर्दा समस्या पर्नेबारे सचेत छन्। ट्राफिकदेखि आत्तिएका पनि रहेछन्। ‘सय किलोमिटर दुरी छिचोल्न ८ घण्टासम्म लागेको रहेछ,’ नि हाउले भनिन्। त्यसैले २०० जनाको टिम लिएर आउँदा कसरी व्यवस्थापन गर्ने होला भन्ने डर चाहिँ उनीहरुमा रहेछ।    

फिल्ममा उनीहरुले गाडीमात्र कुदाउने छैनन्, बुटीको खोजीमा र्‍याफ्टिङ बोट पनि यहाँका नदीमा दौडाउने छन्। पहिलो चोटि विदेशमा फिल्म बनाउन हिँडेका हाउ जति सफल हुन्छन् त्यति नेपालको पर्यटन ब्रान्डिङ हुन सक्छ।

चिनियाँको यस प्रयासले मूर्त रुप लियो भने पक्कै पनि सुटिङ डेस्टिनेसनका रुपमा त्यहाँका लगानीकर्ताको नजर नेपालतिर अडिन सक्छ।