BIZMANDU
www.bizmandu.com

धुलिखेल-खावा सडकमा नयाँ ठेक्का लगाउन ४२ करोड माग, पुरानो निर्माण कम्पनी अदालतमा

२०८१ चैत्र ८

धुलिखेल-खावा सडकमा नयाँ ठेक्का लगाउन ४२ करोड माग, पुरानो निर्माण कम्पनी अदालतमा
धुलिखेल-खावा सडकमा नयाँ ठेक्का लगाउन ४२ करोड माग, पुरानो निर्माण कम्पनी अदालतमा


काठमाडौं। धुलिखेल-खावा ४ किलोमिटर सडक निर्माणका लागि ४२ करोड रुपैयाँको स्रोत सुनिश्चितता माग गरिएको छ।

Tata
GBIME
NLIC

सडक डिभिजन कार्यालय भक्तपुरले नयाँ ठेक्का लगाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग ४२ करोड रुपैयाँ स्रोत सुनिश्चितता गर्न पत्र पठाएको हो।

कार्यालय प्रमुख सुमन योगेशले पुरानो ठेक्का तोडेपछि नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउन स्रोत सुनिश्चितता मागेको बताए।

‘हामीले नयाँ ठेक्कामा जानुअघईि स्रोत सुनिश्चितता चाहेका छौं। मन्त्रालयमा फाइल पुर्‍याएका छौं। ४२ करोड स्रोत सुनिश्चितता माग गरिएको फाइल केही दिनमा अर्थ मन्त्रालय जान्छ। अर्थले स्रोत सुनिश्चिता गरेपछि नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘स्रोतविना नयाँ ठेक्का लगाउन सकिंदैन।’

२०७९ जेठ २० मा गरिएको सम्झौता अनुसार निर्माण कम्पनी गौरी-पार्वती निर्माण सेवा प्रालिले २०८० चैत १९ गते काम सम्पन्न गर्नुपर्ने थियो। तर, धुलिखेलदेखि जिप लाइन आसपाससम्म सब-बेस हाल्ने काम मात्र भयो। निर्माण कम्पनीले काम अलपत्र पारेपछि कार्यालयले २० करोड १९ लाख ४६ हजार रुपैयाँको ठेक्का गत फागुन १५ गते रद्द गरेको थियो।

निर्माण कम्पनी अदालतमा

ठेक्का रद्द भएपछि निर्माण कम्पनी अदालत पुगेको छ। गौरी-पार्वती निर्माण सेवा प्रालिले दायर गरेको रिटमा उच्च अदालत पाटनले ठेक्का तोड्ने प्रक्रिया यथास्थितिमा राख्न र कम्पनीलाई कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।

कार्यालय प्रमुख योगेशले अदालतले अन्तरिम आदेश दिए पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गर्ने वित्तिकै नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउने बताए।

‘हामीलाई अदालतले अहिलेसम्म भएका कारबाहीलाई यथावत राख्न भनेको छ। नयाँ ठेक्का प्रक्रिया अगाडि नबढाउन भनेको छैन,’ उनले भने, ‘हामी अदालतले मागेको जवाफ दिन्छौं। १५ दिनपछि छलफलमा बोलाइएको छ। अर्थले पैसाको ग्यारेन्टी गरेपछि ठेक्का प्रक्रिया अगाडि बढाउँछौं।’

खावा क्षेत्रका स्थानीयले ठेक्का प्रक्रिया चाँडो अगाडि बढाएर काम सम्पन्न गराउन कार्यालयलाई दबाब दिंदै आएका छन्। उनीहरुले नयाँ ठेक्का प्रक्रिया अगाडि नबढाएको आक्रोशस्वरुप बिहिबार अपराह्न सडक नै बन्द गराएका थिए।

सटक निर्माणमा ढिलासुस्तीले खाकाका स्थानीयदेखि यो सडक हुँदै ओहोरदोहोर गर्नेहरुले निक्कै सास्ती झेल्नुपरिरहेको छ।धुलोका कारण स्थानीय व्यवसाय प्रभावित भएको छ। कतिपयले त पसल नै बन्द गरेका छन्। धुलो कम गर्न कार्यालयले अहिले दैनिक दुई ट्याङ्कर पानी हाल्ने गरेको छ।