काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी-नेपाल) बीच ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ परियोजना सुरु गर्ने सम्बन्धी सम्झौता भएको छ।
नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र युएनडीपी-नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्धन गर्न यो परियोजना अघि बढाइएको जनाइएको छ।
कूल लागत ५ मिलियन (५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रत्येकले १.५ मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप २ मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ।
यस परियोजनाले तीन वर्षको अवधिमा (२०२५-२०२८) २ हजार ५०० दिगो रोजगारी सिर्जना गर्ने र ५ हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
प्रमुख पर्यटकीय स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेशनलाई प्रवर्धन गरि सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिनेछ यस परियोजनाको लक्ष्य रहेको छ।
कार्यक्रममा जोशीले युएनडीपीको साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै यस परियोजनाले स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए।
त्यसैगरी, युएनडीपी-नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडीपीले जोडिन पाउँदा गर्व महसुस गरेको बताइन्। उनले यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरि नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दीगो पर्यटनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन्
परियोजनाले नेपालको १६ औं योजना, दिगो विकास लक्ष्य (SDGs) र नेपाल पर्यटन दशक (२०२३-२०३२) परिकल्पना गरेको प्राथमिकता (२०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्याउनु र नेपाललाई विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउने) लाइ बल पुर्याउने बोर्डले जनाएको छ । नेपाल पर्यटन दशकले सन् २०३२ सम्म वार्षिक पर्यटक आगमन ३.५ मिलियन पुर्याउने लक्ष्य लिएको छ ।
नेपाल पर्यटन बोर्ड र युएनडीपी-नेपालले यसअघि संयुक्त रूपमा संचालन गरेको ‘दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटीएलआरपी)’ ले कोभिड-१९ महामारीपश्चात् प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै १ हजार ६०० जनालाई रोजगार सिर्जना गरेको थियो।
यस नयाँ परियोजना एसटीपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ।