नेपाली बजारमा लिपमोटरको सी-टेन मोडलले उपल्लो आर्थिक हैसियत भएका उपभोक्तालाई तरङ्गित बनायो। सी-टेन मार्फत् लग्जरी र कम्फोर्टको मामिलामा हाइ-क्लासलाई लक्ष गरेको लिपमोटरले ह्याचब्याक सिटी कार टी-जेरो थ्री’ मार्फत् टू ह्विलरबाट अपग्रेट हुनेको अपेक्षालाई लक्षित गरेको छ।
यसपालाको टेस्ट ड्राइभमा यही सीटी कार लिएर हामी आएका छौं। सानो र छरितो कारको प्रतीक्षा गरिरहेका बीच बलियो विकल्पका रुपमा उपस्थित भएको छ यो।
टेस्ट ड्राइभका क्रममा हामीले यो कारलाई शहरका गल्लीगल्लीमात्र कुदाएनौं, चर्कै उकालोतिर पनि लग्यौं। टर्निङ र झन्डै २५ डिग्रीभन्दा माथिका उकालोतिर यसको पर्फर्मेन्स परीक्षण गर्यौं। हाम्रो टेस्ट ड्राइभमा यो कार अब्बल ठहरियो। कसरी त? टेस्ट ड्राइभ मार्फत् हामीले यही प्रश्नको जवाफ समेटेका छौं। आउनुस् हामीसँगै टेस्ट ड्राइभमा।
लिपमोटरको नेपाली वेबसाइटमा टी-जेरो थ्रीको उपस्थिति हुनुअघि नै हामी टेस्ट ड्राइभमा लागेका यसबारे धेरै जिज्ञासा ड्राइभिङबाटै लियौं। सिटी कार भएकाले सुरुमा हामीले यसलाई शहरी क्षेत्रमा कुदायौं। कुनै पनि हेभी पावरको गाडीभन्दा कम पर्फर्मेन्स रहेन यसको शहरी क्षेत्रमा।
मोटरसाइकल भन्दा केहीमात्र ठूलो भएकाले टर्निङ त जहाँ पनि सजिलै गर्न सकिने। यसको बनोटले लामो यात्राका लागि होइन है भन्ने प्रष्ट्याइसेको थियो। क्युट लुक्सका कारण यस कारप्रति नजर चाहिँ धेरैको जाने रहेछ।
चार जना कम्फर्टका साथ यात्रा गर्न सकिने यो सिटी कारमा मोडुलेबल ट्रंक छ जसले ५ सय ८ लिटर क्षमताको बुट स्पेस क्रियट गर्छ। अर्थात् दुई जना यात्रुमात्र हुने हो भने पर्याप्ट लगेज अट्छ यो कारमा। अनि अनौठो चाहिँ सेफ्टीका लागि यसमा उपलब्ध फिचर देखेर लाग्यो। यो सानो कारमा ६ वटा एयर ब्याग रहेछ। सुरक्षाका लागि एडास र क्यामरा त हुने नै भइहाल्यो।
सानो सेगमेन्ट भए पनि सेफ्टीमा कम्प्रोमाइज छैन भन्ने देखाउँछ यसमा प्रयोग भएका फिचरहरुले। कम्पनीले यसलाई नारा नै दिएको छ – ‘स्मल बट स्ट्रोङ’। फ्युचरिस्टिक लुक्सको यो कारमा सनरुप पनि छ जसले यसलाई प्रिमियम महसुस गराउँछ। पोल्यान्डमा डिजाइन भएकाले यो कार युरोपेली सडकमा कुद्ने सिटी कारको झल्को दिन सफल छ।
अनि पर्फर्मेन्स? हामीले शहरी क्षेत्रमा केहीबेर कुदाएपछि यसलाई चोभारको उकालोतिर लग्यौं। यसमा ७० किलोवाट क्षमताको मोटर रहेको छ। तुलनात्मक रुपमा कम क्षमताको मोटर भए पनि चोभारबाट सिधै माथितिर ढलाने बाटोमा उकाल्दा कतै पनि संशय गर्न परेन। किनकि यसले गजबले पर्फर्म दिइरहेको थियो।
यसमा ३७.३ किलोवाट आवर क्षमताको ब्याट्री छ। सानो कार भएकाले फुल चार्जमा यसले ३९५ किलोमिटरको दुरी तय गर्न सक्छ। एक सय ६५ एमएम ग्राउन्ड क्लियरेन्स भए पनि ह्विल बेसका कारण सामान्य अफरोडमा यसलाई सजिलै कुदाउन सकिन्छ।
चोभारको उकालोपछि फेरि ओरालो अनि कीर्तिपुरको पुरानो बस्तीतिर हामीले यसको सवारी गर्यौं।
कीर्तिपुरको उचाईमा रहेको पुरानो बस्तीमा पुर्याएपछि हाम्रो ठम्याई रह्यो – साँघुरो सडक र पार्किङ भएका व्यक्तिहरुका लागि गजबको विकल्प हो यो कार। यसको मूल्य २८ लाख २९ हजार रुपैयाँ तोकिएको छ।
यो कारमा सबै सेफ्टी फिचर छन् जुन पछिल्लो समय आएका चिनिया गाडीमा उपलब्ध छन्। विन्डोज सबै वन टच छन् जुन सुविधा कतिपय ५० लाखभन्दा माथिका कारमा समेत उपलब्ध छैनन्। तीनवटा बाहिरी क्यामरा र १२ वटा राडारले यो गाडी चलाउन निक्कै सहज बनाएको छ। यसलाई प्रतिघन्टा १ सय ३० किलोमिटरको रफ्तारमा कुदाउन सकिन्छ। यो स्पिड लिमिट भनेको नेपालका कुनै पनि सडकमा पाउन कठिन छ। त्यसैले रफ्तार क्षमताको मामिलामा कुनै कम्प्रोमाइज भएको देखिन्न।
टेस्ट ड्राइभ गरिरहँदा हामीले यो सानको कारमा क्रुज पनि प्रयोग गर्यौं। कुनै बेला हाइइन्ड र महँगा कारमा मात्र यसखाले सुविधा उपलब्ध थियो। तर, पछिल्लो समय प्रविधिमा आएको परिवर्तनले साना कारमा पनि यसखाले फिचर थपिँदो छ। सानो भए पनि यस कारमा ती सबैखाले फिचर उपलब्ध छन् जुन पहिले ५० लाखभन्दा माथिका कारमा मात्र उपलब्ध हुन्थे। त्यसैले फिचर र फ्युचरको गजबको फ्युजन भएको छ यसमा।
यो कार कसका लागि त? आकारले नै यसको जवाफ दिन्छ। अर्थात् धेरै ट्राफिक भएका सडकमा यसलाई सबैभन्दा सहज रुपमा चलाउन सकिन्छ। घरमा राख्ने ठाउँ सानो छ भने पनि अट्न सक्छ। दुई पांग्रेबाट चार पांग्रेमा अपग्रेट हुन चाहनेका लागि बलियो विकल्प हुनसक्छ। त्यस्तै, ठूला गाडी भएकाहरुका लागि पनि सानो र छरितो दोस्रो भेहिकलका रुपमा यसको उपयोग हुनसक्छ। इन्टेरियर र यसमा प्रयोग भएका फिचरले यसलाई जो कसैको पनि कार बनाउने हैसियत भने राखेको छ।