BIZMANDU
www.bizmandu.com

लोडसेडिङले उत्पादन कटौती गर्नुपरेको एफएनसीसीआईको गुनासो, तत्काल कदम चाल्न अपिल

२०८१ चैत्र ७

लोडसेडिङले उत्पादन कटौती गर्नुपरेको एफएनसीसीआईको गुनासो, तत्काल कदम चाल्न अपिल
लोडसेडिङले उत्पादन कटौती गर्नुपरेको एफएनसीसीआईको गुनासो, तत्काल कदम चाल्न अपिल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले पनि उद्योगहरुमा १२ घण्टासम्म बिजुली काटिएको भन्दै चिन्ता प्रकट गरेको छ।

Tata
GBIME
NLIC

एफएनसीसीआईले औद्योगिक क्षेत्रमा १२ घण्टासम्म बिजुली काटिएको भन्दै त्यसले औद्योगिक उत्पादन तथा व्यावसायिक वातावरणमा गम्भीर असर पुर्‍याइरहेको जनाएको छ।

लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेको भन्दै नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालनमा अवरोध पुगेकाले उत्पादनमै भारी गिरावट आएको एफएनसीसीआईको भनाइ छ।

‘बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी तथा अन्य उपकरणहरूमा क्षति पुगेको छ। यसको मर्मतसम्भार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका छन्। यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीनरूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना छ,’ एफएनसीसीआईद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, दीर्घकालीनरूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन पनि आग्रह गरेको छ।