BIZMANDU
www.bizmandu.com

महिला समावेशिताको प्रयासका लागि एनएमबि बैंकलाई सम्मान, समान अवसरको पक्षमा घण्टी बज्यो

२०८१ चैत्र ७

महिला समावेशिताको प्रयासका लागि एनएमबि बैंकलाई  सम्मान, समान अवसरको पक्षमा घण्टी बज्यो
महिला समावेशिताको प्रयासका लागि एनएमबि बैंकलाई सम्मान, समान अवसरको पक्षमा घण्टी बज्यो


काठमाडौं। महिलाहरुलाई आर्थिक पहुँचका लागि टेवा पुर्‍याउँदा सशक्तिकरण मात्र नभई समग्र विकास नवप्रवर्तन र अवसरको समेत ढोका खुल्ने सरोकारवालाहरुले बताएका छन्।

Tata
GBIME
NLIC

अन्तर्राष्ट्रिय महिला दिवसको परिप्रेक्ष्यमा लैंगिक, समावेशी, आर्थिक नीतिसम्बन्धी नेपालको प्रतिवद्धता पुन सुनिश्चत गर्दै युएन विमेन, ग्लोबल कम्प्याक्ट नेपाल, अन्तर्राष्ट्रिय वित्त निगम र नेपाल स्टक एक्सचेन्जले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महिलाहरुलाई व्यावसायिक सफलता दिलाउन कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो।

फिनल्याण्ड सरकार र युरोपियन युनियनको सहयोगमा नेपालमा महिला वित्तीय समावेशीकरणकालागि  ‘रिङ द बेल’ अभियान अन्तर्गत भएको कार्यक्रमका वक्ताहरुले महिलाको आर्थिक सशक्तिकरणका लागि तय गर्नुपर्ने रणनीतिबारे बताए।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युएन विमेनका लागि नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले महिलाको आर्थिक समावेशिता जस्तो गम्भीर मुद्दामा ऐक्यवद्ता जनाउँदै नेपाल र विश्वभरका महिलाहरुको  आर्थिक समावेशिताका लागि हातेमालो गर्ने बताइन्।

उनले भनिन् – ‘महिलाहरुलाई संघर्षमा एक्लै छाड्ने होइन्। उनीहरुसँग हामीले पनि हातेमालो गरौं ताकि हामी यस्तो संसार बनाउन सकौं जहाँ प्रत्येक महिलासँग आफ्नो सपना साकार बनाउन सक्ने आर्थिक क्षमता होस्।’

कार्यक्रममा अर्थ मन्त्रायका उपसचिव तथा नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेलले नेपालमा महिलाको राजनीतिक समावेशितामा राम्रो प्रगति भएपनि आर्थिक समावेशिताका लागि धेरै प्रयास गर्नुपर्ने बताए।

फिनल्याण्डकी राजदुत रिना रिक्का हिक्काले नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नती हुँदै गर्दा महिला उद्यमीलाई सहयोग गर्दै लैंगिक समतालाई बढावा दिन फिनल्याण्डको प्रतिवद्धता जनाइन्।

उनले डिजीटल खाडल कम गर्ने र समावेशी आर्थिक प्रणाली प्रवर्द्धन गर्ने तर्फ फिनल्याण्डले सहयोग गरिरहने बताइन्।

कार्यक्रममा महिला सशक्तिकरणका सिद्धान्तहरु (वेप्स)को व्यवहारिक प्रयोगको उदाहरण पनि प्रस्तुत गरिएको थियो।

वेप्सले व्यापार, व्यवसाय र आर्थिक निकायहरुलाई कार्यस्थल, बजार र समुदायमा कसरी लैंगिक समता र महिला सशक्तिकरणलाई बढावा दिने भनेर मार्गदर्शन दिने गर्छ।

वेप्सको कार्यान्वयनले कार्यस्थलमा समानता स्थापित गर्नुका साथै संस्थाको नाफा बृद्धि, नवप्रवर्तन प्रवर्द्धन तथा दीर्घकालीन दीगोपन सुनिश्चित गर्न योगदान पुर्याउने युएन विमेनकी उपप्रतिनिधि मेहताप तातरले बताइन्।

कार्यक्रममा ब्यापार व्यवसाय र आर्थिक संस्थाहरुलाई वेप्स अंगिकार गर्न हौसला दिनका लागि उनीहरुले गरेका प्रयासको सरहाना गर्दै सम्मान गरिएको थियो।

गत वर्ष एसिया प्यासेफिक क्षेत्रमा भएको कार्यक्रममा नेपालबाट एनएमबि बैंकले महिला समावेशिता वृद्धिका लागि गरेका प्रयासको लागि बैंकलाई उक्त अवसरमा सम्मान गरियो। बैंकका सिइओ सुनिल केसी र प्रनिशा श्रेष्ठलाई संयुक्त रुपमा युएन विमेनका तर्फबाट सम्मान हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोले युरोपियन युनियन औपचारिक क्षेत्रमा लैंगिक समता प्राप्तिका लागि निजी क्षेत्र र महिलाहरुसँग मिलेर काम गर्न तत्पर भएको बताइन्।

अन्तराष्ट्रिय वित्त निगमका राष्ट्रिय अधिकृत निर्मल दाहालले महिला लक्षित रोजगारी र व्यवसाय सिर्जनाका लागि निजी क्षेत्रले गरेका पहल बारे जानकारी दिए।

उनले ‘महिलाहरु बोर्ड र ब्यापारिक नेतृत्वमा’ भन्ने कार्यक्रममार्फत नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डसँग मिलेर निर्णय तहसम्म महिलाहरुलाई पुग्नका लागि आइपर्ने बाधाहरुलाई हटाउन बिभिन्न काम गरिरहेको बताए।

कार्यक्रमले लैंगिक समावेशी आर्थिक नीतिहरुको प्रवर्द्धन गर्न र महिलाको आर्थिक सहभागिता बढाउन सहयोगी रहेको वेप्सलाई व्यावसायिक सफलताको प्रमुख कडीका रुपमा प्रस्तुत गरेको थियो।

वेप्सका साथै रिंग द बेल कार्यक्रम जनशक्ति, अर्थतन्त्र र पुँजीबजारमा महिलाको समान अवसरको पैरवी र खबरदारीका लागि गरिँदै आएको विश्वब्यापी अभियान हो। यस्तै किसिमको कार्यक्रम विश्वका एकसय १० देशका स्टक एक्सचेन्जहरुमा गरिँदै आएको छ।

नेपाल यस अभियानमा सन् २०२१ देखि सहभागी हुँदै आएको हो।