BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकमा अबको गभर्नर कस्तो हुनुपर्छ? पूर्वगभर्नर भन्छन्- धेरै चुनौती रहेकाले सरकार सतर्क हुनुपर्छ

२०८१ चैत्र ७

राष्ट्र बैंकमा अबको गभर्नर कस्तो हुनुपर्छ? पूर्वगभर्नर भन्छन्- धेरै चुनौती रहेकाले सरकार सतर्क हुनुपर्छ
राष्ट्र बैंकमा अबको गभर्नर कस्तो हुनुपर्छ? पूर्वगभर्नर भन्छन्- धेरै चुनौती रहेकाले सरकार सतर्क हुनुपर्छ


काठमाडौं। आर्थिक अस्थिरता, वित्तीय संस्थाहरूमा बढ्दो चुनौती, कारोबार प्रणालीमा डिजिटलाइजेसनको माग र अन्तर्राष्ट्रिय नियमनकारी निकायहरूको चासोबीच नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको नियुक्ति हुन लागेको छ।

Tata
GBIME
NLIC

अर्थतन्त्र विस्तार हुन संघर्ष गरिरहेको, रोजगारी घटिरहेको, सर्वसाधारणको ऋण तिर्ने क्षमतामा कमी आइरहेको छ, भएको अलिकति पैसा बैंकमा राख्न ब्याजका कारण सर्वसाधारण निरुत्साहित भइरहेको अवस्थामा सरकाले राष्ट्र बैंकको नेतृत्व कसलाई सुम्पिएला भन्ने चासो बढेको छ।

‘क्यापिटल फ्लाइट’ को जोखिम बढेर गएको तथा दुई वर्षमा प्रणालीलाई सुधार गर्न नसके मुलुक अन्तर्राष्ट्रियरुपमै कालोसूचीमा पर्ने संघारमा रहेका कारण पनि नयाँ गभर्नरलाई लिएर चासो बढेको हो।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जाको माग बढ्न सकेको छैन। ब्याजदर एकल विन्दुमा झरेपनि कर्जाको माग सुस्त छ। उद्योगी व्यवसायीहरुको मनोबल बढ्न सकेको छैन जसको असर आर्थिक वृद्धिमा परेको छ।

यस्तो बेला राष्ट्र बैंकमा कस्तो नेतृत्व चाहिन्छ त?

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री वस्तुगत परिस्थिति अनुरुप अडान लिएर काम गर्न सक्ने गभर्नर अहिलेको आवश्यकता भएको बताउँछन्।

‘अहिले अर्थतन्त्रले राम्रो गर्न सकेको छैन। रियल इस्टेटमा लागेका मानिसहरुले घरजग्गामा खुकुलो गरिदेउ, सबै समस्या समाधान हुन्छ भनिरहेका। त्यस्तै, सेयर लगानीकर्ता र अटो सेक्टरका मानिसले पनि त्यसै भनिरहेका छन्। अटो व्यवसायीले सरकारलाई राजस्वको लोभ देखाएर गाडीको व्यापार बढाउने कुरा गरिरहेका छन्। कर घटाउ, लोन टू भ्यालू रेसियो घटाइदेउ भनेको सुनिन्छ,’ उनले भने, ‘हामी कसैले पनि मुलुक कहाँ छ भनेर हेरिरहेको अवस्था छैन। यी सबै कुरा पहिल्याएर उचित निर्णय गर्न सक्ने गभर्नर अहिलेको आवश्यकता हो।’

घरजग्जा कारोबार दुई वर्षदेखि शिथिल छ। कतिपय व्यवसायीहरुले यसमा राष्ट्र बैंकमाथि दोष थोपर्दै आएका छन्। यथार्थमा राष्ट्र बैंकको कडाइका कारण नभइ बजारमा माग नै नरहेका कारण कारोबार सुस्ताएको हो। त्यसैले स्वार्थ समूहको प्रभावमा नीति फेर्ने भन्दा पनि वास्तविकता बुझेर नीति लिने गभर्नर राष्ट्र बैैंकले खोजेको जानकारहरुको भनाइ छ।

वित्तीय क्षेत्रलाई अर्थतन्त्रको मुटु मानिन्छ। वित्तीय क्षेत्रलाई सकारात्मक दिशातर्फ लाने क्षमताका साथै अहिलेको सुस्त अर्थतन्त्रलाई एन्टीबायोटिक दिनसक्ने गभर्नर देशले खोजिरहेको जानकारहरु बताउँछन्।

‘१७/१८ महिनाको आयात गर्न सकिने विदेशी विनिमय सञ्चिति देखिन्छ। तर, बजारमा माग छैन। आन्तरिक अर्थतन्त्रमा सुधारको गुञ्जायस देखिएको छैन। जोखिमपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधारको बाटो देखाउने गभर्नर आवश्यक छ,’ क्षत्री भन्छन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष साढे १२ प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएकामा ७ महिनामा कर्जा वृद्धिदर ५.६ प्रतिशतमा सीमित छ। कर्जाको सुस्त मागले ब्याजदर न्यून विन्दुमा आउँदा बैंक तथा वित्तीय संस्थामा निक्षेप नै नआउ अनौपचारिक अर्थतन्त्रले बढावा पाउने जोखिम पनि उतिकै छ।

बैैंकहरुले लगानी गरेको रकम उठ्न नसकेर गैरबैंकिङ सम्पत्ति बढीरहेको छ। खराब कर्जा अनुपात निरन्तर चुलिंदो छ। त्यसैले राष्ट्र बैंकको नेतृत्व छान्दा निकै सतर्क हुन सरकारलाई पूर्वगर्नर डा. चिरञ्जिवी नेपालको सुझाव छ।

उनले वित्तीय क्षेत्रमा सन्तुलन कायम गर्दै आर्थिक वृद्धिमा भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई राष्ट्र बैंकको नेतृत्व दिनुपर्ने बताए।

‘बजारमा कर्जा विस्तार भएको छैन। आर्थिक वृद्धि भएको छैन। व्यवसायीको मनोबल खस्किएको छ। नयाँ व्यापार व्यवसाय गर्न खोज्नेहरु हच्किरहेका छन्। ब्याजदर एकल अंकमा आउँदा पनि तरलता थुप्रिएको छ। यस्तो अवस्थामा राष्ट्र बैंकको नेतृत्वले बजारमा माग सिर्जना गराउन भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ उनले भने, ‘वित्तीय स्थायित्व त राष्ट्र बैंकको जिम्मेवारीभित्रै पर्छ। देशको अहिलेको आवश्यकता आर्थिक वृद्धि हो। त्यसमा सरकारलाई सल्लाह दिनसक्ने व्यक्तिलाई गभर्नर बनाउनुपर्ने देखिन्छ।’

विश्वका धेरै मुलुकहरुले अहिले डिजिटल मुद्रा संचालनमा ल्याएका छन्। राष्ट्र बैंकले पनि डिजिटल मुद्रा संचालनमा ल्याउन चाहेको छ। डिजिटल बैंकको लाइसेन्स लिन कर्पोरेट घरानाले यसअघि नै दौडधुप थालिसकेका छन्। यो पृष्ठभूमिमा गभर्नरको पदलाई आफ्नो नजिकका व्यक्तिलाई जागिर दिने रुपमा लिने गल्ती नगर्न सरकारलाई पूर्वगभर्नरहरुको चेतावनी छ।