BIZMANDU
www.bizmandu.com

२५ करोड बराबरको विदेशी मुद्राको मालिक पत्ता लगाउन सांसदले गराए सरकारको ध्यानाकर्षण

२०८१ चैत्र ६

२५ करोड बराबरको विदेशी मुद्राको मालिक पत्ता लगाउन सांसदले गराए सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक काठमाडौँ, ६ चैतः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं। २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा ट्रकबाट बरामद भएको प्रकरणमा सांसदहरुले त्यो रकमको स्रोत पत्ता लगाउन सरकारसँग माग गरेका छन्।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले ट्रक चालकलाई पक्राउ गरेर प्रकरणलाई थामथुम पार्ने भन्दा पनि विदेशी मुद्राको असली कारोबारी पत्ता लगाउन माग गरेका हुन्।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले मुलुकमा आर्थिक अपराध मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो अपराध उच्च तहको संलग्नताबिना सम्भव नहुने बताए। उनले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरे।

‘यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभरमात्र पक्राउ पर्छन्। केही समय ठूलाठूला समाचार बन्छन् र निश्चित समयपछि सामान्य रुपमा जाने गरेको छ। हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानबिन गर्न एउटा विशेष समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी जो भएपनि कानूनी दायरामा ल्याउन माग गर्दछु,’ सापकोटाले भने।

प्रहरीले काठमाडौंको झोरबाट सोमबार राति रसुवातर्फ जाँदै गरेको ट्रकबाट २५ करोड १९ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरो बरामद गरेको थियो। ट्रक चालक पक्राउ परेका छन्।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बरामद मुद्राको स्रोतसम्म पुग्नुपर्ने बताए। ‘बरामद् भएको विदेशी मुद्रा कसको हो? तस्करीको नाइके को हो? सरकारले पत्ता लगाउनुपर्छ। अन्यथा भरियालाई मात्र समाउने प्रवृत्तिले जनतामा निराशा बढ्छ,’ उनले भने।

नेकपा एमालेका सांसद रघुजी पन्तले पञ्चायतकालदेखि अहिलेसम्म सुन तस्करीले निरन्तरता पाइरहेको भन्दै तस्करीको कारण खोज्न आवश्यक रहेको बताए।

‘सुन तस्करीले पञ्चायतकालदेखि अहिलेसम्म निरन्तरता पाइरहेको छ। यसको आर्थिक कारण के हो पत्ता लगाऔं। यस्ता तस्करीले निरन्तरता पाइरहने हो भने मुलुक ग्रे लिस्टबाट बाहिर निस्किंदैन,’ उनले भने।