काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व गरेको सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष ३७ सय १६ वटा योजनामध्ये ८ महिनामा जम्मा ३० प्रतिशत योजनाको मात्र ठेक्का लगाएको छ।
मन्त्रालयले अहिलेसम्म १ हजार ६२३ वटा योजनाका लागि बोलपत्र आह्वान गरेकामा १ हजार ९८ वटा योजनाको ठेक्का सम्झौता गरेको हो। ठेक्का लगाइएकामध्ये १२४ वटा योजनाको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
टेण्डर आह्वान हुन नसकेका बाँकी २ हजार ९३ वटा योजनामध्ये २८८ वटा बहुवर्षीय स्वीकृति र ८० योजना संशोधन गर्न लागिएको छ। त्यसैगरी १ हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय) योजनामध्ये चालू आर्थिक वर्ष २८० वटा सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले चालु वर्षका लागि विनियोजित ६३ अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये अहिलेसम्म १७.४३ प्रतिशत मात्र खर्च गरेको छ।