काठमाडौं। निर्माण सामग्रीको मूल्य वृद्धिलाई लिएर व्यवसायी र उद्योगी आमनेसामने भएका छन्।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मंगलबार राखेको बैठकमा निर्माण व्यवसायीले सिमेन्ट र डण्डी उद्योगीमाथि कार्टेलिङ गरेर मूल्य बढाइ निर्माण क्षेत्रलाई थला पार्न खोजेको आरोप लगाए।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्टेलिङ गरेर बढाइएको मूल्य घटाउन लगाइ उद्योगीलाई कारबाही गर्नुपर्ने बताए।
‘स्टील उद्योगले डण्डीको मूल्य भ्याटबाहेक प्रति केजी ७६ बाट ९० रुपैयाँ पुर्याएका छन्। यसअघि यसैगरी सिमेन्टको मूल्य बढाइयो। यसरी जथाभावी मूल्यवृद्धिले निर्माण क्षेत्र अगाडि बढ्न सक्दैन,’ सिंहले भने, ‘बढाइएको मूल्य अविलम्ब खारेज गरी कार्टेलिङ गर्ने उद्योगीलाई कारबाहीका लागि निर्देशन गर्न अनुरोध गर्दछौं।’
उनले सरकारमाथि उद्योगीको कार्टेलिङमा मुकदर्शक बनेको आरोप लगाए।
सिमेन्ट उद्योगी ध्रुव थापाले सिंहसँग निर्माण सामग्री सित्तैंमा दिनुपर्ने हो भनी प्रतिप्रश्न गरे। ‘हामीले प्रति बोरा १५० रुपैयाँभन्दा पनि बढी घाटा खाएर बेचेका थियौं। सधैंभरि त्यसरी बेच्न सकिंदैन। त्यसैले लागत अनुसार मूल्य बढाएका हौं,’ उनले सिंहलाई लक्षित गर्दै भने, ‘उहाँले सित्तैंमा दिनुस् भन्नु भएको हो? २५/३० वर्ष पहिला जति थियो त्यतिमै चाहियो भन्नु भउको हो कि?’
उद्योगी थापाले समितिले छलफलमा बोलाएकामा नै असन्तुष्टि जनाए। ‘हामीलाई यसरी पटक पटक किन छलफलमा बोलाइरहनु भएको छ? हामीले उद्योग चलाउनु पर्छ। हामी अब आउँदैनौं,’ उनले भने, ‘हामीले जथाभावीरुपमा मूल्य बढाएको भए दूधको दुध पानीको पानी मन्त्रालले हेर्नेछ।’
उनले रातिको समयमा लोडसेडिङ भएको अवस्थामा सिमेन्टको मूल्य बोरामा ६०/७० रुपैयाँ बढाउने चेतावनी दिए। ‘आजसम्म सिमेन्ट पाउनु भएको थियो। १२ घन्टा लोडसेडिङ हुने भए अब त्यो पनि पाउनु हुँदैन। मूल्य अझै बढ्छ। डिजेल प्रयोग गरेर उद्योग चलाउनुपरेमा बोरामा ६०/७० रुपैयाँ बढ्न सक्छ,’ उनले भने।