BIZMANDU
www.bizmandu.com

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न हच्किए अन्तर्राष्ट्रिय वायुसेवा, ‘समर सेडुल’को प्रस्ताव आएन

२०८१ चैत्र ५

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न हच्किए अन्तर्राष्ट्रिय वायुसेवा, ‘समर सेडुल’को प्रस्ताव आएन
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न हच्किए अन्तर्राष्ट्रिय वायुसेवा, ‘समर सेडुल’को प्रस्ताव आएन

काठमाडौं । ५ महिना यता भैरहवाबाट व्यावसायिक उडान गर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘समर सेडुल’ लिनका लागि हच्किएका छन्। भैरहवाबाट नियमित व्यावसायिक उडान गर्दा नोक्सान ब्यहोरेपछि अन्तर्राष्ट्रिय उडान थालनी गरेका फ्लाइ दुबई, थाइ एयर एसिया र जजिराले आउँदो चैत २१ गतेबाट लागू हुने नयाँ उडान तालिकाका लागि प्रस्ताव अगाडि नबढाएका हुन्।

Tata
GBIME

यो विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीका लागि गरेको विशेष छूटको निर्णय लागू गर्दा पनि कुनै अन्तर्राष्ट्रिय वायुसेवाबाट हालसम्म प्रस्ताव नआएको नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’का  सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।     

Photo : RSS

‘आउँदो चैत २१ गतेबाट समर सेडुल सुरु हुन्छ। एक महिना अगाडि नै वायुसेवा कम्पनीले तालिका सुनिश्चित गर्नुपर्ने थियो,’ सुचना अधिकारी भूलले भने,’तर हालसम्म कुनै वायुसेवा कम्पनीले समर सेडूलका लागि प्रस्ताव गरेका छैनन्।’

सरकारको निर्णय बमोजिम भैरहवाबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा  कम्पनीका लागि विशेष छुट बाहेक श्रम, अध्यागमन, गृह लगायत अन्तरमन्त्रालयको सहकार्य नभएका कारण आउँदो समर सेडुलका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अगाडि नबढेको उनले जानकारी दिए।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तै सुविधा प्रवाह गर्न सबै निकायको सहभागिता भएपछि मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सेवाले गति लिन्छ,’उनले भने,’नत्र छुटको जति ध्वनी फुकेपनि केहि हुनेवाला छैन। वायुसेवाको व्यावसायिक फाइदा नहुने एक ठाउँमा छ। यसमा पनि हामीले लादेर कहिले सम्म उडान गर्न लगाउने? यो क्यानको एयरपोर्ट हो भन्ने भाष्य नै ठूलो भ्रम बनेको छ।’

शुन्य आम्दानीमा विमानस्थल संचालन गर्दा पनि पर्याप्त उडान नभएपछि यतिखेर प्राधिकरणले वायुसेवा कम्पनीलाई स्वतन्त्र छोडिदिएको उनले जानकारी दिए।

वायुसेवा कम्योपनीले यो अवधिसम्म गरेको उडानमा पर्याप्त यात्रु नपाएका कारण आफू हतोत्ससाहित भएको जनाएका छन्। भैरहवाबाट उडान गर्दा ‘ओपरेनस कस्ट’ नै उठ्न गाह्रो भएपछि समर सेडुलका लागि प्रक्रिया सुरु गर्ने/नगर्ने टुंगो लाग्न बाँकी नै रहेको एक वायुसेवाका प्रतिनिधिले बताए।

‘अधिकांश उडानमा यात्रु नै पाउन सकिएन। अब प्रधान कार्यालयबाट आउने निर्णयका आधारमा हामी समर सेडुलका लागि अप्लाइ गर्ने नगर्ने निश्कर्षमा पुग्नेछौँ,’उनले भने,’उडान संचालन खर्च उठ्ने किसिमको व्यापार नै नभएपछि हामी अलमलमा परेका हौँ।’

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट‍्टा’ का अध्यक्ष कुमारमणि थपलियाले आफू सम्वद्ध ट्राभल एजेन्सी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पूर्ण रुपमा लागि परेको बताए। हाल यो विमानस्थलबाट नियमित र ‘हप एण्ड हप’ उडान गर्दै आएका वायुसेवाले आफ्नो उडान यथावत राखेको अवस्थामा यात्रु माग सिर्जनामा थप आक्रमक ढंगले लाग्ने उनले जानकारी दिए।

‘भैरहवा सँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान संचालनमा सबै कम्पनी आ-आफ्नो तर्फबाट प्रतिवद्ध छ। निरन्तर उडान हुन आवश्यक छ,’उनले भने,’टुर ओपरेटरलाई कन्फिडेन्स विल्ड अप हुनका लागि यो आवश्यक छ। जसले एउटा सिस्टम सिर्जना गर्छ। अहिले भैरहवामा जहाज अवतरण मात्र हुने भ्रम चिर्न आवश्य देखिएको छ।’

आउँदो समर सेडुलमा कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवाले सेवा निरन्तर नदिएको अवस्थामा थप एक वर्ष यो विमानस्थलमा व्यावसायिक उडान कठिन हुने उनले जानकारी दिए।