BIZMANDU
www.bizmandu.com

विराटनगर नाकाबाट पनि रोकियो प्लाइउडको निर्यात, संघ भन्छ- भारतले व्यापार सन्धि मानेन

२०८१ चैत्र ४

विराटनगर नाकाबाट पनि रोकियो प्लाइउडको निर्यात, संघ भन्छ- भारतले व्यापार सन्धि मानेन
विराटनगर नाकाबाट पनि रोकियो प्लाइउडको निर्यात, संघ भन्छ- भारतले व्यापार सन्धि मानेन


विराटनगर। काँकडभिट्टा, भैरहवा, कृष्णनगर र नेपालगञ्जपछि विराटनगर नाकाबाट पनि प्लाइउडको निर्यात रोकिएको छ। विराटनगर पारिको जोगबनी भन्सारले निर्यात रोकेको हो।

Tata
GBIME
NLIC

त्यहाँका असिस्टेन्ट कमिस्नर विकास श्रीवास्तवले आइतबार साँझ कोशी प्रदेशका प्लाइउड उद्योगीसँगको टेलिफोन वार्तामा प्लाइउडको जाँचपास गर्न नसक्ने बताएका थिए।

उनले भारतले साना तथा मझौला उद्योगले मे २८ सम्म ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) लिनु नपर्ने भनी निकालेको सूचनाको अर्थ आयातका लागि नभई बीआइएस लिने म्याद थपिएको रुपमा लिन आग्रह गरेको नेपाल प्लाइउड संघ कोशी प्रदेशका अध्यक्ष सीताराम अग्रवालले जानकारी दिए।

श्रीवास्तवले काँकडभिट्टासँग जोडिएको पानीटंकी भन्सारले पनि सोही व्याख्यामुताबिक प्लाइउडको जाँचपास नगरेको स्पष्ट पार्दै आफूले पनि बीआइएस नलिएका नेपाली प्लाइउड उद्योगको उत्पादनलाई निर्यातको अनुमति दिन नसक्ने बताएका थिए।

नेपालमा सञ्चालित ८० वटा प्लाइउड उद्योगमध्ये मोरङका ग्रीन प्लाई र सेन्चुरी प्लाईले मात्र बीआइएस पाएका छन्। ग्रीन र सेन्चुरीको निर्यातमा भने अवरोध छैन।

अरु उद्योगले बीआइएसका लागि आवेदन दिए पनि भारतकै कारण रोकिएको संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए।

‘अरू उद्योगले बीआइएसका लागि आवेदन दिएका छन्। भारतको सम्बन्धित कार्यालयले आवेदन दिने नेपाली उद्योगको निरीक्षण गर्न शुल्कसमेत लिइसकेको छ र निरीक्षक पनि तोकिसकेको छ। तर, निरीक्षक पठाइरहेको छैन। जसले गर्दा बीआइएस अड्किएको अवस्था छ,’ उनले भने।

भारतले आन्तरिक उत्पादन र आयातित वस्तु सबैमा बीआइएस काहिने कानुन बनाएको छ।

भारतको उद्योग संवर्धन तथा आन्तरिक वाणिज्य विभागले २०२४ नोभेम्बरमा सूचना जारी गरी प्लाइउडका लघु, साना तथा मझौला उद्योगले २०२५ फेब्रुअरी २८ सम्म बीआइएस नलि नुपर्ने जनाएअनुसार नेपालमा उत्पादित प्लाइउडले भारतीय बजारमा प्रवेश पाइरहेका थिए।

विभागले फेब्रुअरी २८ मा अर्को सूचना जारी गर्दै मे २८ सम्म बीआइएस नभए पनि हुने भन्यो। सोही सूचनाअनुसार भारतका पानीटंकी र जोगबनी भन्सारले नेपाली प्लाइउडको जाँचपास गर्दै आएका थिए।

तर, गत बिहीबार कोलकातास्थित कमिस्नर अफ कस्टम्स कार्यालयले आयातका लागि नभई उद्योगलाई बीआइएस लिन समय थपेको भनेपछि पानीटंकी भन्सारले जाँचपास रोकेको थियो। सोमबारदेखि जोगबनी भन्सारले पनि अवरोध गरेको हो।

उत्तरप्रदेशसँग जोडिएका भैरहवा पारिको सुनौली, कृष्णनगर पारिको बढनी र नेपालगञ्ज पारिको रुपैडिया भन्सारले भने फेब्रुअरी २८ अर्थात फागुन १६ देखि नै प्लाइउडको जाँचपास गरेका छैनन्।

निर्यात खुलाउनका लागि संघका पूर्वअध्यक्ष चम्पालाल बोथडाका नेतृत्वमा भैरहवा र नेपालगञ्जका उद्योगी बुधबार भारतको लखनउस्थित कस्टम्स कमिस्नर कार्यालय पुगेका थिए।

द्विपक्षीय व्यापार सन्धिअनुसार भारतका भन्सार कार्यालयले नेपाली प्लाइउड रोक्न नमिल्ने संघको जिकिर छ। ‘भारत सरकारले आफ्नो मुलुकभित्रका साना तथा मझौला उद्योगलाई दिएको सुविधा नेपालका साना तथा मझौला उद्योगलाई पनि उपलब्ध गराउनु पर्ने सन्धिमा उल्लेख छ। त्यसैले नेपाली प्लाइउडमा गरेको अवरोध सन्धिको मर्म र भावनाविपरीत छ,’ अध्यक्ष घिमिरेले भने।