काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि ४ वटा कम्पनीले आवेदन दिएका छन्।
जगदुल्ला जलविद्युत कम्पनीले माघ ६ गते सिभिल र हाइड्रो-मेकानिकलतर्फको कामका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो।
सिनो हाइड्रो, जेसीइ/ एनके जेभी, सिल/एचचएच जेभि, टु एमजी/फेवा जेभीले आवेदन दिएको कम्पनीका प्रखुम कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए।
यस अगाडी कम्पनीले जेठ २० गते ग्लोबल टेण्डर आह्वान गरेको थियो। जसमा ५ वटा कम्पनीले आवेदन दिएका थिए। त्यसबेला जेआईइसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङदिङ इन्टरनेसनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीई कम्पनी, सिनो हाइड्रो कर्पोरेसन, जेसीई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेवा जेभी कन्स्ट्रक्सनले संयुक्तरुपमा आवेदन दिएका थिए।
आयोजना निर्माणका लागि ५ कम्पनीले निवेदन दिएकोमा ऊर्जामन्त्री दीपक खड्काले आफूले चाहेको कम्पनी हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीईको जेभीलाई करिब १६ अर्बको ठेक्का दिन अरु चार प्रतिस्पर्धीलाई एक प्रतिशतका दरले कमिसनको चेक दिएर पन्छाएको समाचार बिजमाण्डूले सार्वजनिक गरेपछि पुसस २१ गते टेण्डर रद्द गरिएको थियो।
यो आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्ट्रक्सन (इपीसी) मोडलमा बनाउने भनिएको छ। १०६ मेगावाटको आयोजना निर्माणमा २३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। करिब १६ अर्ब ऋण र ७ अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाउन लागिएको छ।
नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने टुंगो यसअघि नै लागिसकेको छ। नबिलले ४ अर्ब ४० करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भनिएको छ।