BIZMANDU
www.bizmandu.com

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ओलीको भनाइ, ‘कानुन काम गर्न सहयोगी खालका बनाउँछौं’

२०८१ चैत्र ३

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ओलीको भनाइ, ‘कानुन काम गर्न सहयोगी खालका बनाउँछौं’
‘महिला नेतृत्व शिखर सम्मेलन’ उद्घाटन काठमाडौँ, ३ चैतः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार नेपाल उद्योग परिसङ्घद्वारा आयोजित ‘महिला नेतृत्व शिखर सम्मेलन’ २०२५ को उद्घाटन गर्नुहुँदै। तस्बिरः प्रदीपराज वन्त÷रासस


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन काम अल्झाउने नभई विकासमा सहयोगी खालका बनाइनुपर्ने बताएका छन्।

Vigo
GBIME
Tata

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघले गरेको महिला नेतृत्व सम्मेलन आइतबार उद्घाटन गर्दै उनले सरकारले निजी क्षेत्रका साथै काम गर्न चाहनेहरुलाई कानुनले प्रोत्साहित गर्नुपर्ने बताए।

उनले निजी क्षेत्रलाई प्रोत्साहित गरी अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्दै काममा अप्ठेरो पार्ने कानुनमा सुधार गर्ने बताए।

‘हामी अघि बढ्नुपर्छ। पछाडि फर्कनु हुँदैन। ब्याक गियर त कहिलेकाहीं घुम्तीमा मात्रै लगाउने हो। लोकमार्गमा ब्याक गियर लगाइँदैन। लोकतन्त्र हाम्रो राजमार्ग हो,’ उनले भने, ‘अर्थतन्त्रको विकासका लागि कानुन सहयोगी हुनुपर्छ। त्यसका लागि सरकार प्रतिबद्ध छ।’

ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले विकासमा महिलाको समान सहभागिता आवश्यक रहेको बताए।

‘एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ। गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई स्थापित गरिसकेका छौं। राजनीतिमा महिलाको सहभागिता बढ्दो छ। यो खुसीको विषय हो। हामीले शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा पनि महिलालाई अगाडि बढाउनुपर्छ।’

कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र सामाजिक अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो।