काठमाडौं। सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र पूरा गर्न नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले ताकेता गरेको छ। यो प्राधिकरणकै सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा निर्माण भइरहेको हो।
निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो। हाल सुरुङको मर्मत र सुधारको काम भइरहेको छ। १०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ।
हिउँदमा माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यभोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन जोड दिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरेर निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ।
मध्यभोटकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह हुने तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती-बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा भइसकेका छन्। करिब एक किलोमिटर मात्र तार तान्न बाँकी छ।
४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन (चार्ज)मा ल्याएर मध्यभोटेकोसीको विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा जोडिने छ। उक्त लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ।

कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नुपर्ने बाँकी कामका विषयमा छलफल गरेको छ। तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन पनि दिएको छ। प्रसारण लाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी-२ चौकटामा जारी तार तान्ने कामकोसमेत टोलीले निरीक्षण गरेको थियो।
हिउँदयामको विद्युत भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैं फिल्डमा आएको बताएका कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रुपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी छिटो अगाडि बढाउन निर्देशन दिए।
बाह्रबिसे-५ स्थित मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ।
तामाकोशी तथा सुनकोशी नदी र सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो। बाह्रबिसे-लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ। आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।