BIZMANDU
www.bizmandu.com

‘राजागञ्ज’मा जनकपुरकी आरती, रेडियो पत्रकारिताबाट फिल्म

२०८१ चैत्र ३

‘राजागञ्ज’मा जनकपुरकी आरती, रेडियो पत्रकारिताबाट फिल्म
‘राजागञ्ज’मा जनकपुरकी आरती, रेडियो पत्रकारिताबाट फिल्म

काठमाडौं। जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहेकी आरती मण्डल केही समययता आफैं समाचार बनिरहेकी छन्। अरूको समाचार संकलनमा व्यस्त हुने उनलाई फिल्म ‘राजागञ्ज’ले नयाँ बाटो दिएको छ।

Tata
GBIME

उनी अभिनीत उक्त फिल्म शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौंमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गरेको भूमिकाले चर्चा पायो। उनले पहिलोपटक फिल्ममा अभिनय गरेकी हुन्।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा फिल्ममा छ। उक्त फिल्मका लागि महिला कलाकारको खोजी भइरहेको थाहा पाएपछि आरतीले अडिसन दिएकी थिएन। ‘जनकपुरमा फिल्म सुटिङ हुँदैछ र मधेसी कलाकार चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ। अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गर्नुभयो। त्यसपछि केही समय अभिनय कार्यशाला गरेर तयार भएँ,’ उनले भनिन्न।

यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उनले फिल्ममा अभिनय गरेकी थिइनन्। छायांकनभन्दा अगाडि गरिएको कार्यशाला र कलाकारसँग घुलमिल भएपछि पात्रलाई जीवन्त बनाउन उनलाई सहज भयो। फलतः फिल्म हेर्नेले उनको भूमिकाको प्रशंसा गरेका छन्।

‘मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई फिल्मले दर्शाउँछ। यसमा महिला नै मुख्य भूमिकामा हुनुहुन्छ, घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैंमा ठूलो विषय हो,’ उनी भन्छिन्।

‘राजागञ्ज’मा मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवले समेत अभिनय गरेका छन्। सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीको रङझैँ चित्रण गरेका छन्। फिल्मको मूलकथा र पात्र यी सात महिला नै छन्।

‘मैले अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि जस्तो पनि लागेको थियो, तर मेरो अभिनय हेरेर मलाई अर्को भूमिका दिनुभयो। आगामी दिनमा यस्तै आफूलाई सुहाउँदो भूमिका प्राप्त भएमा अभिनय पनि गर्छु, साथै म आफ्नो सञ्चारकर्मलाई पनि अगाडि बढाउँछु,’ मण्डल भन्छिन्।

नेपाली फिल्ममा प्रायः पुरुष पात्र केन्द्रित हुने गर्छन्। पारिश्रमिकको विषय होस् वा भूमिकाको प्रायः पुरुष नै अगाडि देखिने गर्छन्। थोरै यस्ता चलचित्र पनि बनेका छन्, जसमा महिला कलाकार शीर्ष भूमिकामा छन्। महिला कलाकारले मात्र फिल्मलाई व्यावसायिक सफलता दिलाउन नसक्ने सोच धेरै सिनेकर्मीमा पाइन्छ। तर, चलचित्र ‘राजागञ्ज’ महिला कलाकारकै वरपर घुमेको छ।

निर्देशक रौनियारले सात महिला पात्रमार्फत कथावस्तुलाई अगाडि बढाएका छन्। फिल्ममा पुरुष पात्रको उपस्थिति सहायक भूमिकामा छ। निर्देशक रौनियारले एउटा दृश्य राखेका छन्, जहाँ घुम्टोमा छोपिएर बस्नुभएकी एक महिलालाई पुलिस अफिसर महिलाले प्रश्न गर्छिन्। जहाँ महिला घुम्टो बाहिर आएर बोल्न डराएका छन्, त्यहीँ अर्की महिलाले प्रहरीको नेतृत्व गरेकी छन्।

यो फिल्मले प्रस्तुत गरेको विषय र महिलालाई प्रस्तुत गरेको शैली सुन्दर रहेको अभिनेत्री ऋचा शर्माले बताइन। ‘यो फिल्ममा काम गर्दाको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। सात महिलामार्फत यसमा समाजलाई चित्रण गरिएको छ। महिलाको विभिन्न रुप यसमा प्रस्तुत गरिएको छ,’ उनले भनिन्, ‘मधेसमा महिला कार्यकारी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौं। महिला कलाकारलाई केन्द्रमा राखेर कथा तयार गर्नु र त्यही अनुरुप चलचित्र निर्माण गर्न ठूलो आँट चाहिन्छ।’

निर्देशक रौनियारले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई प्रस्तुत गरिएको जानकारी दिए। फिल्ममा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन्। नेपालमा सार्वजनिक प्रदर्शनअगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ। रासस