काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ र उपभोक्ता हित संरक्षण मञ्च नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेपनि कार्यान्वयनका लागि जनशक्ति अभाव रहेको बताए।
सिमेन्ट र डण्डीको भाउ कार्टेलिङ गरेर बढाइँदा मौनता साँधेको भनेर आलोचित बनेका मन्त्री भण्डारीले जनशक्ति अभाव देखाएर आफूलाई पानीमाथिको ओभानो देखाउन खोजेका हुन्।
उनले जनशक्ति अभावका कारण आवश्यकता अनुसार बजार अनुमगमन गर्न नसकेको बताए। उनले बजारमा हुने ठगीमा उपभोक्तालाई दोष दिए। ‘सामान खरिद गर्दा उपभोक्ताले बिल नमाग्ने कारण पनि समस्या भएको छ,’ उनले भने।
उनले उपभोक्ता अदालत सञ्चालनमा आएपछि बजारका कतिपय विकृति समाधान हुने दाबी गरे। काठमाडौं उपत्यकाका तीन जिल्लालाई लक्षित गरी आइतबारदेखि उपभोक्ता अदालत सञ्चालनमा ल्याइँदैछ।
अदालतले गर्ने फैसलापछि उपभोक्ता ठगिने क्रम कम हुने र व्यवसायीहरु सुध्रिने उनको भनाइ छ।