BIZMANDU
www.bizmandu.com

स्टील उद्योगको कार्टेलिङले हार्डवेयर व्यापारी त्रसित, उधारो नबेच्न संघले गरायो सतर्क

२०८१ फागुन २९

स्टील उद्योगको कार्टेलिङले हार्डवेयर व्यापारी त्रसित, उधारो नबेच्न संघले गरायो सतर्क
स्टील उद्योगको कार्टेलिङले हार्डवेयर व्यापारी त्रसित, उधारो नबेच्न संघले गरायो सतर्क

विराटनगर। स्टील उद्योगहरु कार्टेलिङ गरेर धमाधम भाउ बढाउनतिर लागेपछि हार्डवेयर व्यापारीहरु उधारो नबेच्ने निर्णयमा पुगेका छन्।

Tata
GBIME

विराटनगर हार्डवेयर संघले उधारोमा सिमेन्ट र टीएमटी बिक्री नगर्न तथा यति मूल्यमा डेलिभरी दिन्छु भनी ग्राहकसँग एडभान्स नलिन आफ्ना सदस्य व्यवसायीलाई सचेत गराएको छ।

संघले सिमेन्ट उद्योगले कार्टेलिङ गरेर बोराको २५० रुपैयाँसम्म मूल्यवृद्धि गरिसकेको तथा अझै वृद्धि गर्नसक्ने सम्भावना रहेको र स्टील उद्योगले पनि किलोमा ४ रुपैयाँ वृद्धि गरिसकेको भन्दै आफ्ना सदस्य व्यवसायीलाई सचेत गराएको हो।

संघका सचिव देवीप्रसाद पोखरेलले सदस्य व्यवसायीलाई पठाएको पत्रमा अग्रिम सौदा र एडभान्सले आफ्नै व्यवसाय धराशायी हुने चेतावनी दिइएको छ।

हार्डवेयर पसलेले ग्राहकलाई सिमेन्ट र टीएमटी उपलब्ध गराइदिन मूल्य तोकेर अग्रिम भुक्तानी लिन्छन्। त्यसरी अग्रिम भुक्तानी लिंदा उद्योगीहरुले भाउ बढाइरहेको अवस्थामा घाटा हुने भन्दै संघले सचेत गराएको हो।

कार्टेलिङ गर्दै टीएमटीको मूल्य किलोको ४ रुपैयाँ वृद्धि गरेर अहिले बिक्री बन्द गरे स्टील उद्योग होली लगत्तै बढीमा २ दिनका लागि बिक्री खोल्ने र किलोमा पुनः ४ रुपैयाँ बढाउने तयारीमा छन्।

‘यस्तो अवस्थामा हार्डवेयर पसलले अस्वस्थ प्रतिस्पर्धा गर्दै ग्राहकसँग आजकै रेटमा भोलि माल उपलब्ध गराउँछु भनेर अर्डर वा नगद भुक्तानी लिने हो भने अन्ततः आफ्नै व्यवसाय धराशायी हुनेछ,’ संघको पत्रमा भनिएको छ।

यसअघि कार्टेलिङ गरेर सिमेन्टमा भएको मूल्य वृद्धिमा सरकारले आँखा चिम्लिएका कारण अहिले स्टील उद्योगले मिलेमतोमा भाउ बढाउने हिम्त गरेको संघको बुझाइ छ।

संघले स्टील उद्योगको कार्टेलिङ बारे गम्भीरता साथ अध्ययन गरिरहेको बताएको छ।