BIZMANDU
www.bizmandu.com

स्टारलिंक भित्रिएसँगै भारतमा सस्तो होला इन्टरनेट? चाहिन्छ सरकारी सहुलियत

२०८१ फागुन २९

स्टारलिंक भित्रिएसँगै भारतमा सस्तो होला इन्टरनेट? चाहिन्छ सरकारी सहुलियत
स्टारलिंक भित्रिएसँगै भारतमा सस्तो होला इन्टरनेट? चाहिन्छ सरकारी सहुलियत


भारतको टेलिकम्युनिकेसन जायन्टहरु रिलायन्स र जियोले विश्वकै धनाढ्य इलन मस्कको स्पेसएक्ससँग सम्झौता गरेको खबर अहिले चर्चामा छ। स्पेसएक्ससँग स्टारलिंकको इन्टरनेट खरिद गर्ने सम्झौता यी कम्पनीले गरेका हुन्।

Tata
GBIME
NLIC

स्टारलिंक स्याटलाइट इन्टरनेट सर्भिस हो। यसले स्याटलाइट ब्रोडब्यान्ड र स्याटलाइट कभरेज भएको कुनै पनि स्थानमा इन्टरनेट सेवा पुहँच दिन सक्छ। स्टारलिंकले विश्वका धेरै देशहरुमा अहिले तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। हाल संचालनमा रहेका इन्टरनेट सेवा प्रदायकहरु पुग्न नसकेको ठाउँमा सहजै स्टारलिंकले सेवा दिँदै आएको छ।

हाल १०० भन्दा बढी देशमा स्टारलिंकले आफ्नो सेवा विस्तार गरिसकेको छ। भुटानमा समेत स्टारलिंकले आफ्नो सेवा सुरु गरिसकेको छ।

भारतमा रियालन्स र जियोले स्पेसएक्ससँग सम्झौता गरे पनि नियामकबाट भने अनुमति पाएको छैन। स्टारलिंकलाई लिएर भारतमा सुरक्षा चिन्ताहरु पनि छन्।

यी दुई कम्पनीहरुले गरेको सम्झौता नियामकहरुले स्वीकृत गरेमा भारतमा इन्टरनेट सेवाको स्वरुप नै फेरिनेछ।

धनाढ्य मुकेश अम्बानी र एयरटेलका अध्यक्ष सुनिल मित्तल स्याटलाइट स्पेकट्रम प्रशासनिक रुपमा भन्दा पनि लिलाम गरेर लिने पक्षमा छन्। इलन मस्क भने लिलामी पक्षमा छैनन्।

सुनिल मित्तल इन्टरनेट सेवा दिन चाहने कम्पनीहरुले अन्य कम्पनीहरुले जस्तै टेलिकम लाइसेन्स लिनुपर्ने र स्पेक्ट्रम खरिद गर्नुपर्ने बताउँछन्। मित्तल भारतको दोस्रो ठूलो वायरलेस अपरेटर हुन्। अम्बानीसँग उनले भारतको ८० प्रतिशत बजार हिस्सा नियन्त्रणमा राख्छन्।

कसरी लिने स्टारलिंक सेवा ?

हाल चल्तीमा रहेका ब्रोडब्यान्ड सेवा अन्डरग्राउन्ड फाइबर केबल र सेल्युअर टावरमा निर्भर छन्। स्टारलिंकले भने ‘लो अर्थ अर्बिट’ स्याटलाइटको माध्यमबाट इन्टरनेट सेवा दिने गर्छ।

स्याटलाइट सिग्नलले जमिनमा रहेको रिसिभरमा पहुँच जमाउँछ र त्यसलाई इन्टरनेट डेटामा परिवर्तन गर्छ।

मस्कको कम्पनी स्टारलिंकसँग हाल अर्बिटमा ७ हजार स्याटलाइट छ। १०० बढी देशमा ४० लाख बढी प्रयोगकर्ताले स्टारलिंकको इन्टरनेट चलाउँछन्।

मस्कले हरेक पाँच वर्षमा आफ्नो नेटवर्कलाई अपग्रेड गर्दै लग्ने बताएका छन्। उनले सन् २०२१ मै भारतमा आफ्नो सेवा विस्तार गर्न खोजेका थिए। तर,  भारतको नियम कानुनका कारण त्यसबेला काम अघि बढ्न सकेन।

स्टारलिंकको प्रयोग गर्न चाहनेहरुलाई स्टारलिंक डिस र राउटर चाहिन्छ। त्यसले पृथ्वीको वरिपरि घुमिरहेको स्याटलाइटसँग सम्पर्क गर्छ। डिस राउटर आफू नजिकको स्टारलिंक स्याटलाइट कलस्टरसँग जोडिन्छ र कुनै अवरोध बिना त्यसमा कनेक्ट हुन्छ।

स्टारलिंकलाई ‘फिक्सड लोकेशन’ मा प्रयोग हुने गरि निर्माण गरिएको छ। तर, अतिरिक्त हार्डवेयरको सहयोगले यो चलिरहेको गाडी, पानीजहाज र विमानमा पनि इन्टरनेट पहुँच हुन सक्छ।

स्टारलिंकको स्पिड

इन्टरनेट एलईओ स्याटलाइटले कम लेटेन्सी (२५ देखि ६० मिलि सेकेन्ड) मा नै कम गर्छ। जबकी हालको जियोस्टेश्नरी स्याटलाइटले इन्टरनेट ६०० भन्दा बढी मिलिसेकेक्डमा काम गर्छ।

यसैको कारण स्टारलिंकको सेवा भिडियो कन्फरेन्स, अनलाइन गेमिङ र एचडी स्ट्रिमिङको लागि धेरै फाइदाजनक हुने मानिन्छ। हाल भारतमा चल्तीमा रहेको जियो फाइबर र एयरटेल एक्सट्रिम जस्ता फाइबरमा आधारित ब्रोडब्याण्डले सहरी क्षेत्रमा भने राम्रो स्पिड दिइरहेको छ।

स्टारलिंकको प्रयोगबाट भारतमा फाइबर कनेक्टिभिटी नभएको ग्रामीण क्षेत्र बढी लाभान्वित हुने देखिन्छ। स्टारलिंक भारतमा आएसँगै ग्रामीण क्षेत्र इन्टरनेट कनेक्टिभिटीमा बलियो हुनेछ।

तर, महत्वपूर्ण पक्ष भने शुल्क हो। अहिले विद्यमान सेवाहरु भन्दा स्टारलिंकको इन्टरनेट कति सस्तो हुन्छ भन्ने कुरामा सो लाभ निर्भर हुनेछ।

कति होला मूल्य ?

अहिले भारतमा स्टारलिंक आउने घोषणामात्रै भएको हो। यसको प्लानहरु सार्वजनिक भएको छैन। भुटानमा स्टारलिंकको मूल्यसँग दाँजेर भारतमा इन्टरनेटको मूल्य कति पर्छ भनेर अनुमान भने लगाउन सकिन्छ।

भुटानमा रेसिडेन्सियल लाइट प्लान हरेक महिना ३ हजार भुटानी रुपैयाँ (न्गुल्ट्रम)मा उपलब्ध छ। भारत र भुटानको रुपैयाँको मूल्य एक समान छ। त्यसैले भारतमा पनि त्यही मूल्यमा इन्टरनेट प्राप्त हुन सक्छ।

भुटानमा स्टारलिंकको स्पिड २३ एमबीपीसी र १०० एमबीपीसीको बीमा छ। ब्राउजिङ, सोसल मिडिया र भिडियो स्ट्रिमिङको शुल्क लाग्दैन।

२५ एमबीपीएसदेखि ११० एमबीपीएसको रेसिडेन्सियल प्लानको मूल्य ४ हजार २०० भुटानी रुपैयाँ पर्छ।

टेलिकम बजारका जानकारहरु भारतमा स्टारलिंकको सेवा ३ हजार ५०० देखि ४ हजार ५०० भारतीय रुपैयाँको बीचमा हुन सक्ने बताउँछन्। यद्यपि, रिलायन्स, जियो र एयरटेलसँगको सम्झौताले मूल्य सस्तो हुन सक्छ।

के भन्छन् जानकारहरु?

कन्सल्टिङ कम्पनी ई वाई पार्थेननका अनुसार भारतको १४० करोड नागरिकमध्ये करिब ४० प्रतिशतसँग अझै इन्टरनेट पहुँच छैन। यो भनेको धेरैजसो ग्रामीण वस्तीहरुमा हो।

चीनको कुरा गर्ने हो भने त्यहाँ करिब १ अर्ब ९ करोड इन्टरनेट प्रयोगकर्ता छन्। भारतमा ७५ करोड भन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन्।

भारतमा इन्टरनेट प्रयोकर्ताको संख्या विश्वका अन्य देशसँग तुलना गर्ने हो भने कम छ। हाल यो दर ६६.२ प्रतिशत छ। तर,  हालै सार्वजनिक भएको अध्ययन अनुसार यो दर कम हुँदैछ।

यदी स्टारलिंकको मूल्य सहि तरिकाले तय भए स्याटलाइट ब्रोडब्याण्ड यो अन्तरलाई थप कम गराउन सहयोगी हुनेछ।

भारतीय कम्पनीबीच ‘प्राइस वार’ रोक्न सकिँदैन। मस्कले भारतको केही क्षेत्रमा नि:शुल्क इन्टरनेट पनि दिन सक्छन्। बजारको अवस्थाले पनि मूल्य निर्धारण हुन्छ।

स्टारलिंकले केन्या र दक्षिण अफ्रिकामा आफ्नो मूल्य घटाइसकेको छ।

तर,यो भारतमा त्यति सहज भने छैन। स्टारलिंकको लागत सरकारले सहुलियत नदिए महंगो हुनेछ। यो नै सस्तोमा इन्टरनेट उपलब्ध गराउने बाटोमा बाधक बन्न सक्छ। किनभने स्टारलिंकको लागत हाल वर्चश्वमा रहेका ब्रोडब्याण्ड कम्पनीको तुलनामा लगभग १९ गुणा बढी छ।

ग्लोबल कभरेज दिनका लागि एमईओ स्याटलाइटको तुलनामा बढी एलीओ स्याटलाइटको आवश्यकता पर्छ। स्टारलिंकको लागि एलीओ स्याटलाइट प्रयोग हुन्छ। यसले त्यसको लागत बढाउँछ। त्यसैलै नरेन्द्र मोदी सरकारले लिने नीतिले नै भारतमा स्टारलिंकको मूल्य र भविष्य निर्भर हुन्छ।

बीबीसी हिन्दीबाट भावनुवाद