BIZMANDU
www.bizmandu.com

प्लाइउड निर्यातको अवरोध हटाउन माग गर्दै नेपाली उद्योगी भारतमा, पाए यस्तो आश्वासन

२०८१ फागुन २८

प्लाइउड निर्यातको अवरोध हटाउन माग गर्दै नेपाली उद्योगी भारतमा, पाए यस्तो आश्वासन
प्लाइउड निर्यातको अवरोध हटाउन माग गर्दै नेपाली उद्योगी भारतमा, पाए यस्तो आश्वासन


विराटनगर। प्लाइउड निर्यातमा अवरोध आएपछि नेपाली उद्योगीहरू भारतको उत्तरप्रदेशको राजधानी लखनउ पुगेका छन्।

Tata
GBIME
NLIC

उत्तरप्रदेशसँग जोडिएका नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकाबाट प्लाइउड निर्यातमा अवरोध आएपछि नेपाल प्लाइउड संघका पूर्वअध्यक्ष चम्पालाल बोथडाका नेतृत्वमा सम्बन्धित उद्योगीहरु लखनउ पुगेका हुन्।

टोलीमा ज्ञानेन्द्र बस्नेत, पशुपतिदयाल मिश्र, रमेश थापा, रोहित नेमानी, मनीष कनौडिया, राजेश नेमानी लगायत उद्योगी छन्।

भैरहवा र नेपालगञ्ज क्षेत्रका उद्योगीले बुधबार उत्तरप्रदेशका कस्टम्स कमिस्नर रञ्जितकुमारसँग वार्ता गरेका छन्। पूर्वअध्यक्ष बोथडाले कमिस्नर रञ्जितकुमारसँगको वार्ता सकारात्मक भएको र एक हप्ताभित्रै अवरोध हटाउने आश्वासन पाएको जानकारी दिए।

‘हामीले कमिस्नर रञ्जितकुमारलाई द्विपक्षीय वाणिज्य सन्धिका बुँदा अवगत गरायौं। सन्धिअनुसार पानीटंकी र जोगबनी भन्सारले निर्यात गर्न दिएको तर सुनौली, बढनी र रुपैडिया भन्सारले रोकेको जानकारी गराएका छौं,’ पूर्वअध्यक्ष बोथडाले बिजमाण्डूसँग भने, ‘कमिस्नरबाट एक साताभित्र अवरोध हटाउने आश्वासन पाएका छौं।’

दुई देशबीच २००१ मा भएको व्यापार सन्धिमा भारतले आफ्नो मुलुकभित्रका लघु, साना तथा मझौला उद्योगलाई दिएको सुविधा नेपालका साना तथा मझौला उद्योगलाई पनि दिने उल्लेख छ।

भारतले आफ्नो मुलुकभित्रका लघु, साना तथा मझौला उद्योगका उत्पादनलाई मे २८ सम्म बीआइएसबाट मुक्त गर्दा नेपालका उद्योगले पनि यो सुविधा पाउनुपर्ने नेपालका उद्योगीको माग छ।

भारत सरकारले २०२४ नोभेम्बरमा सूचना जारी गर्दै २०२५ को फेब्रुअरी २८ सम्म लघु, साना तथा मझौला उद्योगका उत्पादनले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) लिनु नपर्ने जानकारी गराएको थियो। सोही सूचनाअनुसार बीआइएस नलिएका नेपाली प्लाइउड उद्योगले फेब्रुअरी २८ सम्म निर्यात गरिरहेका थिए।

यसैबीच भारत सरकारले यस्ता उद्योगलाई मे २८ सम्मका लागि बीआइएसबाट मुक्ति दिएको छ। जसअनुसार काँकडभिट्टा र विराटनगर नाकाबाट निर्यात भइरहेको छ।

तर, भैरहवा पारिको सुनौली, कृष्नणनगर पारिको बढनी र नेपालगञ्ज पारिको रुपैडिया भन्सारका अधिकारीले यो सूचना भारतीय उद्योगका लागि मात्र भएको भन्दै नेपालको प्लाइउड जान दिएका छैनन्।

विराटनगर पारिको जोगबनी भन्सारले असिस्टेन्ट कमिस्नर (भन्सार प्रमुख) नयाँ आउने भन्दै ७ दिनसम्म रोकेकामा फागुन २३ देखि अवरोध गरेको छैन। संघको कोशी प्रदेशका अध्यक्ष सीताराम अग्रवालले ५ दिनयता निर्यातमा कुनै अवरोध नभएको बताए।

नेपालमा हाल सञ्चालनमा रहेका ८२ उद्योगमध्ये विराटनगरका सेन्चुरी प्लाई र ग्रिन प्लाईले मात्र बीआइएस प्रमाणपत्र पाएका छन्।