BIZMANDU
www.bizmandu.com

नेपाली महिला टोली नामिबियासँग फेरि पराजित, कमजोर बन्दै फाइनलको सम्भावना

२०८१ फागुन २८

नेपाली महिला टोली नामिबियासँग फेरि पराजित, कमजोर बन्दै फाइनलको सम्भावना
नेपाली महिला टोली नामिबियासँग फेरि पराजित, कमजोर बन्दै फाइनलको सम्भावना

काठमाडौं। नेपाली महिला क्रिकेट टोली नामिबियासँग पराजित भएको छ। युगाण्डामा जारी चारदेशीय टी-२० सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनायो।

नामिबियाका लागि यसमिन खानले सर्वाधिक ४५ रन बनाउँदा विल्का एमवटिलेले २०, जुरिएन्स डायरगार्टले १६ तथा कप्तान सुनी विटमनले १५ रन बनाए।

बलिङतर्फ नेपालकी ईश्वरी बिस्टले सर्वाधिक ३ विकेट लिँदा रचना चौधरीले २ तथा इन्दु वर्मा र रिया शर्माले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५ विकेट गुमाएर १०२ रनमा समेटियो। नेपालका लागि सना प्रवीणले सर्वाधिक ३१ रन बनाउँदा पूजा महतो र इन्दु वर्माले समान १५ रन बनाए। त्यस्तै कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहे।

बलिङतर्फ नामिबियाका एभिलिन केजरुकुवाले सर्वाधिक २ विकेट लिँदा विल्का एमवाटिल, साइमा तुहादेलेनी र मेकेलेनये एमवाटिलले समान १ विकेट लिए।

जारी सिरिजमा नेपालको यो चौथो खेलमा तेस्रो हार हो भने नामिबियासँगको दोस्रो हार हो। नेपालले पहिलो खेलमा नामिबिया पराजित हुँदा दोस्रो खेलमा युगाण्डालाई हराएको थियो। त्यस्तै तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो।

‘हाम्रो खेलमा धेरै सुधार गर्नुपर्नेछ। योजनामा हामीले काम गर्न सकेनौँ। उनीहरुले राम्रो खेले।’ नेपाली टोलीकी कप्तान इन्दु वर्माले खेलपछि भनिन्।  

नेपाली टोली २ अंकसहित तालिकाको पुछारमा रहँदा अन्य तीन टोली ४ अंकसहित फाइनलको बलियो प्रतिस्पर्धामा छन्। डबल राउण्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।