काठमाडौं। टोयोटाले चीनमा सार्वजनिक गरेको बीजेड ब्रान्ड अन्तर्गत आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक कार बीजेड ३ एक्सप्रति ग्राहकको क्रेज देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको पहिलो एक घन्टामै १० हजार युनिट गाडी बुकिङ भएका छन्।
यो इलेक्ट्रिक एसयूभीको सुरुवाती मूल्य १ लाख ९ हजार ८०० युआन राखिएको छ। गाडीमा लिडार तथा मोमेन्टाको असिस्टेड ड्राइभिङ प्रविधि समावेश गरिएको छ। यसको अधिकतम रेन्ज ६१० किलोमिटरसम्म छ।
बीजेड ३ एक्स जीएसीको आयोन भी गाडीमा आधारित प्लेटफर्ममा निर्माण गरिएको हो। यसको आकार, मोटर र समग्र ड्राइभ ट्रेन उस्तै भए पनि ब्याट्री भने फरक छ। यो फाइभ डोर र फाइभ सिटर एसयूभी हो जसको लम्बाइ ४.६ मिटर, चौडाइ १.८ मिटर र उचाइ १.६ मिटर छ। गाडीको ह्वीलबेस २.७ मिटर छ। गाडी फ्रन्ट ह्वील ड्राइभ प्रणालीमा आधारित छ।
यो कारमा लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जुन तीन भेरियन्टमा उपलब्ध छ। गाडी ५०, ५८.४ र ६७.९ किलोवाट आवर (युनिट)क्षमताका छन्। यी ब्याट्रीले फुल चार्जमा क्रमश: ४३०, ५२० र ६१० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
टोयोटाले गाडीमा हाइ ड्राइभिङ एसिस्टेन्ट सिस्टम एडास पनि राखेको छ। जुन चिनियाँ स्वायत्त ड्राइभिङ स्टार्टअप कम्पनी मोमेन्टाको प्रविधिमा आधारित छ। टोयोटा पाइलट ड्राइभिङ एसिस्टेन्ट सिस्टम पनि छ।
टोयोटाले चीनमा यसअघि दुईवटा पूर्ण इलेक्ट्रिक बिजेड सिरिजका कार उत्पादन गरेको थियो। बीजेड ३ मा बीवाइडीको मोटर र ब्याट्री प्रयोग गरिएको छ।