BIZMANDU
www.bizmandu.com

ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको भेट, लगानी र अनुदानबारे छलफल

२०८१ फागुन २७

ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको भेट, लगानी र अनुदानबारे छलफल
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको भेट, लगानी र अनुदानबारे छलफल


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छन्।

Tata
GBIME
NLIC

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो। युरोपियन युनियनले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रुपमा सहयोग गर्दै आएको छ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न दातृ निकायहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा राखेका थिए। साथै, नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसदमा पेस भइसकेकाले चाँडो पारित हुने बताएका थिए।

नेपालको ऊर्जा क्षेत्रमा युरोपियन युनियन प्रमुख साझेदार रहँदै आएको र नविकरणीय ऊर्जा पहुँच, ग्रामीण विद्युतीकरण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा इयुको सहयोगप्रति मन्त्री खड्काले आभार व्यक्त गरेका थिए।

भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताइन्।

राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा ईयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताइन्। अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजनालगायतमा ईयु लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो। भेटमा ईयुको लगानीमा निर्माण भएको चिलिमे–त्रिशुली प्रसारण लाइन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ। रासस