BIZMANDU
www.bizmandu.com

विश्वासले सुम्पिए सफलताको विरासत, ‘एफवान सफ्ट ५ वर्षभित्र शीर्ष १० फिनटेक ब्राण्ड’

२०८१ फागुन २७

विश्वासले सुम्पिए सफलताको विरासत, ‘एफवान सफ्ट ५ वर्षभित्र शीर्ष १० फिनटेक ब्राण्ड’
विश्वासले सुम्पिए सफलताको विरासत, ‘एफवान सफ्ट ५ वर्षभित्र शीर्ष १० फिनटेक ब्राण्ड’


काठमाडौं। एफवान सफ्ट भन्ने बित्तिकै यस क्षेत्रलाई चिनेका धेरैको मानसपटलमा आउने तस्बिर हो – विश्वास ढकाल। देशकै ठूलो फिनटेक कम्पनीको संस्थापक रहेकाले धेरैको ‘इमेज इन्साइड द हेड’मा ढकालको आकृति अस्वाभाविक होइन। एउटा कम्पनीमात्र होइन, डिजिटलाइजेसनको दुनियाँमा सिंगो मुलुक र त्यहाँका नागरिकलाई अभ्यस्त गराउन सकिन्छ भन्ने आत्मविश्वासको नाम बनेको थियो- ‘विश्वास’।

Tata
GBIME
NLIC

त्यसैले हालैको एउटा समाचारले धेरैलाई अचम्मित बनायो – संस्थापक विश्वास ढकालले अब एफवान सफ्टको नेतृत्व गर्ने छैनन्।

विगत २१ वर्षदेखि संस्थाको अध्यक्ष रहेका विश्वास र उनको टिमले आफ्नै कर्मचारीबाट अध्यक्ष ‘पिक’ गरेको छ। आफ्नो नेतृत्व अरुलाई छाड्ने संस्कार नेपालको कर्पोरेटमा ‘दुर्लभ’ विषय भएकाले धेरैले यसलाई अनौठो रुपमा लिएका छन्। जसरी डिजिटल प्रविधिको विकास र विस्तारमा मुलुकभित्र अपत्यारिलो हिसाबले उनले नेतृत्व दिएका थिए, त्यसैगरि नेतृत्व हस्तान्तरणको खबर धेरैका लागि अनपेक्षित हुनु स्वाभाविक बन्यो।

आखिर संस्थापकहरुले कम्पनीको २१औं वार्षिकोत्सवमा नेतृत्व फेर्ने ‘रिस्क’ किन लिए त? एफवान सफ्टले उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीलाई कम्पनीको सर्वोच्च पदमा नियुक्त गर्न‍े ‘बोल्ड’ निर्णय पछाडिको कारण के थियो?

यसखाले निर्णयको अर्थ हो- वित्तीय डिजिटलाइजेसनले एक चरण हासिल गरिसकेपछि ढकाल अर्को ब्रेक थ्रुको प्रतीक्षामा छन्। उनको आगामी व्यावसायिक उडान कतातिरको हुन्छ त?

‘यत्तिको संस्था नेतृत्व गरिसकेको मान्छेले यसभन्दा सानो कम्पनी लिड गर्छु भनेर सोच्दैन,’ एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने, ‘अब एफवान सफ्टले आफूलाई ग्लोबल ब्राण्डको रुपमा विकास गर्दैछ।’

शर्माका अनुसार एफवान सफ्टलाई अब विश्वका शीर्ष १० फिनटेक कम्पनी बनाउने लक्ष्य छ। त्यसको ‘हन्ट’ ढकालसहितको संस्थापकको टिमले गर्नेछ।

‘हामीले विश्वका शीर्ष १० फिनटेक कम्पनीभित्र आफूलाई पुर्‍याउने लक्ष्य लिएका छौं। त्यसको समयसीमा पाँच वर्ष रहनेगरि गृहकार्य गरिरहेका छौं,’ शर्माले ढकालसहितको टिम स्पिरिटबारे सुनाए।

एफवान सफ्टको जिम्मा आफ्नै ‘टिममेट’लाई दिएर संस्थापकहरु सुरुमा जस्तै अर्को ‘प्याराडाइम सिफ्ट’को तयारीमा छन्। ‘विश्वास दाइसहित हाम्रो भूमिका त्यता केन्द्रित हुनेछ,’ शर्माले भने।

करिब तीन करोड जनसंख्या भएको देशमा राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख छ। जसमध्ये सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ६५ लाख छ। एफवान सफ्टले विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ प्ल्याटफर्म निर्माण गरिरहेको छ। योसँगै विद्युतीय भुक्तानीलाई चाहिने पूर्वाधारदेखि सञ्जाल विस्तारमा एफवान सफ्टको बजारमा बलियो वर्चस्व छ। यस हिसाबले नेपालको बजारमात्रै हेर्‍यो भने ‘स्याचुरेसन’तर्फ उन्मुख भएको एफवान सफ्टकै विश्लेषण छ। ‘ग्लोबल मार्केट’तिरको उडानको तयारीको आधार यही हो।

अध्यक्षमा सिद्धान्त

हालैमात्र एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृत रहेका सिद्धान्त ठकुरीले अध्यक्षको जिम्मेवारी आफ्नो काँधमा लिएका छन्।

ठकुरी झण्डै २० वर्ष नबिल बैंकमा कार्यरत थिए। एटीएम कार्ड र डिजिटल बैंकिङमा काम गरेको लामो अनुभव ठकुरीसँग छ। नबिल बैंकबाट उनले आफूलाई डिजिटल बैंकिङको विभिन्नखाले डिजाइनिङ, प्रोग्रामिङ तथा सेल्समा निखारेका थिए।

बायाँबाट क्रमश: विश्वास ढकाल, सिद्धान्त ठकुरी र सुवास शर्मा

नेपाल राष्ट्र बैंकबाट ‘फोन पे’ संचालन गर्न लाइसेन्स पाएसँगै ठकुरी नबिल बैंक छोडेर एफवान सफ्टकै भर्टिकल बिजनेस ‘फोन पे’ तर्फ इन्ट्री गरेका थिए। ‘फोन पे’को प्रोसेस, कम्प्लायन्स र नियमनजस्ता विषयलाई ठकुरीले डेढ वर्षमै फत्ते गरेर आफ्नो क्षमता स्थापित गरेका थिए। ‘फोन पे’लाई एउटा संरचनामा ल्याउन सफल भएपछि एफवान सफ्टले ठकुरीलाई ग्रुप सीओओ नियुक्त गरेको थियो। एउटा भर्टिकलबाट सिंगो समूहकै सीओओमा पदोन्नतिले संकेत गरिरहेको थियो – एफवान सफ्टले उनलाई अझै माथि लैजान सक्छ। 

ग्रुप सीओओ बनेपछि ठकुरीले एफवान सफ्टलाई अझै चुस्त बनाउने काम गरे। ठूलो र स्थापित भइसकेको कम्पनीमा पनि सुधार गर्नुपर्ने ठाउँ फेला पार्नु र त्यसलाई सम्बोधन गर्ने आइडिया जेनेरेट गर्न ठकुरी सफल भए। फलस्वरुप एफवान सफ्टका सबै भर्टिकलको अभ्यासलाई समेत उनले ‘सिमलेस’ बनाए।

उनको यही काम गर्ने शैलीले संस्थापकहरु प्रभावित थिए। र, उनलाई एफवान सफ्ट ग्रुपकै अध्यक्ष बनाए।

ठकुरी कुन पक्षमा बलियो र कुनमा कमजोर भन्ने तौलिसकेका ढकालसहितका संस्थापकले संस्थालाई अगाडि बढाउने व्यक्तिका रुपमा उनलाई ‘प्रोजेक्सन’ पहिलेदेखि नै गरिसकेका थिए। 

कर्पोरेटमा भित्रिएको नयाँ कल्चर

नगदको कारोबारलाई विद्युतीय भुक्तानीतर्फ ‘प्याराडाइम सिफ्ट’ गराउन उल्लेखनीय भूमिका खेलेको एफवान सफ्टले संस्थापकइतरबाट नयाँ अध्यक्ष यति सहज रुपमा चयन गर्ला भन्ने अपेक्षा कसैमा थिएन। नेपालमा व्यावसायिक समुदायभित्रको ‘कल्चर’ नै के छ भने – आफैंले जन्माएर, दु:ख गरेर खडा गरेको ‘बिजनेस एम्पायर’ हत्तपत्त अरुको काँधमा छाड्न विश्वास नगर्ने। कर्पोरेटभित्र यसखाले व्यावसायिक अभ्यास विदेशमा भएका उदाहरण टन्नै भए पनि नेपालमा भने मुस्किलैले देख्‍न पाइन्छ। एफवान सफ्टले नेतृत्व परिवर्तनमार्फत् नयाँ सन्देश दिइरहेको छ – व्यवसायको दायरा सीमित हुँदैन।

‘कुनै पनि बिजनेसका संस्थापकले त्यसलाई वर्षौंसम्म चल्ने बनाउनुपर्छ। संस्था संस्थापकको सोचभन्दा व्यावसायिक मूल्य मान्यताले चल्नुपर्‍यो,’ गुत्थी फुकाए निर्देशक शर्माले, ‘हामीलाई आइडिया त एकचोटि आउला वा दुईचोटि। बिजनेसलाई दीर्घकालीन संचालन गराउन हामीमात्रै सधैं सक्षम भइराख्छम् भन्ने हुँदैन।’

शर्माका अनुसार एफवान सफ्टले सधैं एकै ढर्राले व्यापार अगाडि बढाउनुपर्छ भन्ने सोचबाट आफूलाई अलग देखाउन खोजेको हो। यसरी संस्थाको नेतृत्व फेर्दा व्यापार चलाउने तौरतरिका फेरिन्छ। नयाँ पुस्ताले ठाउँ पाउँछ।

अर्कातिर, कुनै पनि संस्था एक/दुई जनामा निर्भर भइरह्यो भयो भने त्यसले ग्रोथ गर्ने सम्भावना कम हुँदै जान्छ।

‘विश्वास दाइको आँखाबाट हेर्दा यो एकदमै ठूलो निर्णय हो। तर, ठूलो निर्णय सही समयमा लिन सक्नु नै सफल नेतृत्वको उदाहरण हो,’ शर्माले भने, ‘हामीले अहिलेसम्म जुन टिम बनाएका छौं, यो परिपक्‍व छ।’

सुवास शर्मा

एफवान सफ्टका सबै लगानीकर्ता आफ्नो व्यवसाय ‘साउजीवाला बिजनेस’ हुनुहुँदैन भन्नेमा स्पष्ट देखिन्छन्। बिजनेस सधैं ‘स्केल-अप’, ‘ग्रोइङ एपिटाइट वा माइन्ड सेट’ बाट हुनुपर्ने धारणा उनीहरुले लिएको शर्माले सुनाए।  

‘हामीले बनाएको कम्पनी हामी नहुँदा पनि चल्नुपर्छ,’ शर्माले भने। एफवान सफ्टका संचालकहरु सबैलाई थाहा छ कुनै दिन आउनेछ जब उनीहरु बिजनेसबाट बाहिरिनुपर्ने हुनसक्छ। तर, अहिलेको निर्णय त्यसको पूर्वाभ्यास चाहिँ नभएको शर्माले दाबी गरे।

‘अहिले हामीले लिएको निर्णय संस्थाबाट छुट्टिने डिसिजन होइन,’ शर्माले भने, ‘हामीले निर्माण गरेको टिम एउटा तहमा परिपक्‍व भयो। त्यो टिमले थप नयाँ उचाइमा पुगेर ग्रो गराउन सक्छ।’

जतिखेर व्यवसायमा एफवान सफ्टका संस्थापकहरुले हात हाले, त्यसलाई शून्यबाटै थालेका थिए। जुन अहिले ठूलो उद्योगका रुपमा विस्तार भइसकेको छ। २१ वर्षअघिको आइडियाले आजको दिनसम्म आइपुगेको बताउँदै शर्माले थप छलाङका लागि नयाँ आइडिया चाहिने बताए। 

‘जबसम्म आफ्नो टिमलाई सशक्त बनाएर अघि बढाउँदैनौं, नयाँ आइडिया आउँदैन। हामी त वरिपरि भइहाल्छौं, हाम्रो आइडिया त आइहाल्छ,’ उनले भने, ‘तर हामीलाई अझै धेरै आइडिया चाहियो। अझ धेरै ब्रेन्स् चाहियो। क्रिएटिभिटी चाहियो।’

संस्थापकहरु बाहिरिएको अर्थ एफवान सफ्ट ढकाल र शर्माहरुले छोड्न लागेका भने होइनन्।

‘हामीले तयार पारेका पूर्वाधार, प्रविधि, टिमलाई कसरी यहाँ आइपुग्यो पनि थाहा छ। अब के गर्ने नयाँ टिमको जिम्मा हो। हामीले दिन खोजेको सन्देश यही हो,’ शर्माले भने।

‘एफवान सफ्ट व्यक्तिको कम्पनी होइन’

अध्यक्षबाट बाहिरिएका विश्वास ढकालले पनि एफवान सफ्ट आफ्नोमात्र कम्पनी नभएको सन्देश प्रवाह गर्न सफल भएकोमा सन्तुष्ट सुनिए। प्रविधिले तयार पारेको सीमाहीन विश्वमा व्यावसायिक उडानको तयारीमा रहेका विश्वास आफ्नो काम र अहिलेको टिमबाट विश्वस्त छन्।

‘यो संस्थापकहरुको मात्र नभइ सबैको कम्पनी हो,’ उनले भने, ‘यसको प्रेसिडेन्ट र सीइओ क्षमतावान जो पनि हुनसक्छ।’

जसरी संस्थापकहरुले अहिले काम गरिरहेको टिमलाई विश्वास गरेको छ, उनीहरुसामु पनि अझै परिस्कृत हुनुपर्ने चुनौती छ। विश्वास ढकाल अहिलेको टिमले नयाँ लक्ष्य तय गरेर त्यसलाई पूरा गर्नेमा विश्वस्त सुनिए।

विश्वास ढकाल

‘विश्वास नै सधैं प्रेसिडेन्ट हुनुपर्छ भन्ने मापदण्ड मान्दैनौं हामी। एफवान सफ्ट सधैं बेस्ट मान्छेले नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ शर्माले भने, ‘त्यस्तो मान्छेको खोजीमा हामी सधैं हुन्छौं। अनि ठोकुवा गरेर भन्न सक्छौं – हामीले देखेको बेस्ट मान्छेले एफवान सफ्ट गजबले चलाउँछ।’

नयाँ टिमप्रति विश्वास जति विश्वस्त छन् त्यति नै यस क्षेत्रका जानकार जिज्ञासु छन् – विश्वास ढकालसहितको टीमले अर्को कस्तो छलाङ मार्ला? किनकि उनीहरुको ‘इमेज इन्साइड द हेड’मा विश्वास र उनका साथीहरु त छन्।