काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सले मंगलबारदेखि आइपीओ बिक्री खुलाएको छ। कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्कासन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारी, सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।
वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कम्पनीले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर बाँडफाँड गरेको थियो। त्यस्तै, कम्पनीले ९० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ५४ हजार कित्ता सेयर कर्मचारीका लागि वितरण गरिसकेको छ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कुल आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको थियो।
केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा ‘मध्यम जोखिम’ रहेको जनाउँछ।
ओम मेगाश्री उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी हो। पोहोर फागुनमा करिब सवा अर्ब लगानीमा स्थापना भएको कम्पनीले औषधि उत्पादन गर्दै आएको छ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। फर्मास्युटिकल्सको उत्पादन कारखाना चितवनको जुगेडीमा छ।