BIZMANDU
www.bizmandu.com

पीएम कप: सुदूरपश्चिमका ठगुन्नाको शतक, फेरि चलेन वाग्मतीको ब्याट, पुलिसले लुम्बिनीलाई हरायो

२०८१ फागुन २६

पीएम कप: सुदूरपश्चिमका ठगुन्नाको शतक, फेरि चलेन वाग्मतीको ब्याट, पुलिसले लुम्बिनीलाई हरायो
पीएम कप: सुदूरपश्चिमका ठगुन्नाको शतक, फेरि चलेन वाग्मतीको ब्याट, पुलिसले लुम्बिनीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कपमा सोमबार तीन खेल सम्पन्न भएका छन्। आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदा आर्मीले वाग्मतीलाई १ सय ३४ रनले हरायो। त्यस्तै सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो।

Tata
GBIME
Nepal Life

लुम्बिनीमाथि पुलिसको जित

आज एक्स्ट्राटेक ओभलमा सम्पन्न खेलमा खेलमा टस जितेर पुलिसले ब्याटिङ रोजेको थियो। पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनायो।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाउँदा आरिफ शेखले ५६, दीलिप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए। आक्रमक ब्याटिङ गरेका गुल्सन झा २३ बलमा ३६ रन बनाउँदै अविजित रहे।

लुम्बिनीका कृष्ण कार्की र अजय चौहानले समान ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १६२ रनमा समेटियो। लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाउँदा मृनल गुरुङले ३० रन बनाए।

बलिङतर्फ पुलिसका सागर ढकालले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशील र दीपेन्द्रसिंह ऐरीले समान २ तथा राशिद खान र कुशल भुर्तेलले समान १ विकेट लिए।

फेरि चलेन बाग्मतीको ब्याटिङ, आर्मीको जित

वाग्मती प्रदेशले लगातार दोस्रो खेलमा पनि खराब ब्याटिङ गरेको छ। पहिलो दिनको खेलमा एपीएफविरुद्ध ७४ रनमै अलआउट भएको वाग्मती आज आर्मीविरुद्ध २६२ रनको लक्ष्य पछ्याउँदै १ सय २८ रनमै समेटियो।

टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो।

आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाउँदा कप्तान विनोद भण्डारी ४७ रनमा अविजित रहे। त्यस्तै, तृतराज दासले ३६, विवेक यादवले ३० तथा कुशल मल्लले २६ रनको योगदान दिए।

बलिङतर्फ वाग्मतीका रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिँदा सोनु देबकोटाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मती २७ ओभरमा १२८ रनमा समेटियो। विवेक मगरको ५१, इशान पाण्डेको १९ र आषुतोष घिरैयाको १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रननै छुन सकेनन्।

बलिङतर्फ आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट लिँदा आकाश चन्दले ३ तथा सोमपाल कामी, नरेन साउद र बसीर अहमदले समान १ विकेट लिए।

ठगुन्नाको शतकले सुदूरपश्चिमको जित

पहिलो खेलमा कर्णाली प्रदेशसँग हार ब्यहोरेको सुदूरपश्चिमले दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको छ।

लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनाएको थियो।    

गण्डकीका लागि दीपक डुम्रेले सर्वाधिक ६० रन बनाउँदा अर्जुन कुमालले ५७ तथा सुदीप अर्यालले अविजित २३ रनको योगदान दिए। बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिँदा नारायण जोशीले २ तथा हेमन्त धामी, अर्जुन बिक र मिलन बोहराले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४ विकेट गुमाएर ४३ औँ ओभरमा लक्ष्य भेट्टायो। सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक अविजित १२१ रन बनाए। उनले १०१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै, नारायण जोशीले अविजित ३८ रन बनाउँदा खडक बोहराले १९ र निश्चल क्षेत्रीले १८ रनको योगदान दिए।

बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, अर्जुन कुमाल र कमल परियारले समान १ विकेट लिए। मंगलबार प्रतियोगिताका दुई खेल हुँदैछन्। जसमा मधेश प्रदेश र कोशी प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन्।