काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर एसजेबी राणाको स्मरण तथा सम्मानमा ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर : लिडरशीप, भिजन एण्ड लेगेसी’ कार्यक्रम गरेको छ। कार्यक्रममा बाह्य लगानीकर्तालाई नेपाल बुझ्न सहज हुने उद्योग व्यापारको क्षेत्रका सम्भाव्यता सम्बन्धी पुस्तक पनि ‘बिजनेस क्लाइमेट सर्भे-२०२४’ सार्वजनिक गरेको छ।
संघले आफ्नो स्थापनाको ३० वर्ष पुगेको अवसर पारेर आइतबार काठमाडौंमा राणाको सम्झनासँगै सम्मान व्यक्त गरेको हो। कार्यक्रममा संघका अध्यक्ष सुनिल केसीले स्वर्गीय राणाले मुलुकमा निजी क्षेत्रबाट इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेर स्वच्छ र स्वस्थ रुपमा पनि उद्यम गर्न सम्भव रहेको मान्यता स्थापित गरेर देखाएको बताए। निष्ठापूर्वक गरेको व्यापार व्यवसायले कालान्तरसम्म सफल रुपमा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सक्दछ भन्ने उदाहरण प्रस्तुत गरेकाले उक्त प्रयासको सम्मानमा लेक्चर कार्यक्रमको आयोजना गरेको उनले उल्लेख गरे।
कार्यक्रममा औद्योगिक विकासमा विदेशी लगानी ल्याएर सफल व्यवस्थापन गर्न सकिन्छ भन्ने राणाले देखाएको स्मरण वक्ताहरुले गरे। राणाको अगुवाइमा भारतीय कम्पनी आईटीसीलाई नेपालमा ल्याएको, भारतसँगको व्यापार साझेदारीलाई गति दिन आवश्यक रहेको मनन गरि विभिन्न व्यावसायिक प्रतिष्ठानहरु खोलेर रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को मान्यता पनि स्थापित गरेको पनि चर्चा गरियो। जसको ज्वलन्त उदाहरणका रुपमा सूर्य नेपाल प्रालि, भोटेकोशी हाइड्रोपावर कम्पनी, सिप्रदी ट्रेडिङ प्रालि लगायत अन्य थुप्रै कम्पनीहरु तथा विभिन्न संस्थाहरु रहेको अध्यक्ष केसीले बताए।
संघकी निवर्तमान अध्यक्ष श्रीमती सिर्जना राणाले स्वर्गीय राणा मुलुकको अग्रणी तथा दूरदर्शी व्यवसायी भएको उल्लेख गर्दै पर्यटनको विकासका लागि पनि ठूलो योगदान गरेको बताइन। पर्यटनको विकास र प्रवर्धनका निम्ति होटल तथा ट्राभल क्षेत्रलाई एकजुट बनाउँदै होटल एसोसिएसन नेपाल तथा पाटा नेपाल च्याप्टरको स्थापना गरेको उनले स्मरण गरिन्।
भारतीय दूतावासका डेपुटी चीफ अफ मिसन प्रसन्न श्रीवास्तवले नेपाल–भारत उद्योग वाणिज्यको बढोतरी गर्न नेपाल-भारत उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए। लामो समयदेखि अघि बढ्न नसकिरहेको नेपाल-भारत द्विपक्षीय वाणिज्य सचिवस्तरीय समितिको बैठक हालै सम्पन्न भएको उल्लेख गर्दै उनले दुई देशमा रहेका नागरिकले आआफ्नो देशमा भुक्तानी पठाउन एसबिआई बैंकमार्फत युनोकार्ड र रुपे एपमार्फत सहज रुपमा भुक्तानी गर्ने व्यवस्था हुनु ठूलो उपलब्धि रहेको बताए।
यसले द्विपक्षीय सम्बन्ध सुदृढ बनेको बताउँदै उनले संस्थापक अध्यक्ष राणाको सम्मानमा लेक्चर कार्यक्रमको सुरुवात सकारात्मक रहेको भनाइ राखे। साथै उनले नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशनमा ल्याएको अनुसन्धानात्मक पुस्तक ‘बिजनेस क्लाइमेट सर्भे फर इण्डियन कम्पनीज इन नेपाल’ ले भारतीय लगानीकर्ताका लागि नेपालमा लगानीको वातावरणको अवस्था र अवसर बारेमा बुझ्न मागदर्शक हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सिद्धार्थ शमशेर जबराले बुवा स्वर्गीय प्रभाकर शमशेर जबराले व्यवसाय इमानदारीपूर्वक गर्न मार्गदर्शन गरेको बताए। ‘हामी आज हाम्रो व्यवसायहरु आईटीसी, टाटा, भारत पेट्रोलियम तथा अन्य अन्तर्राष्ट्रिय विभिन्न ठूला विदेशी साझेदारहरुसँग गरिरहेका छौं,’ उनले भने, ‘हामी आबद्ध कुनै पनि व्यवसायमा बुवाले कहिल्यै तत्कालिन समयमा राजपरिवारसँग रहेको आफ्नो सम्बन्ध र निकटता र विशेष प्रकारको अधिकारको दुरुपयोग गर्नु भएन। गलत लाभ लिनु भएन।’
पिताका बारेमा जानकारी दिँदै उनले प्रभाकर शमशेरले उच्चशिक्षा अध्ययनपछि केही समय राष्ट्रिय योजना आयोगमा काम गरेको र केही समयपछि उक्त जिम्मेवारी आफ्ना लागि उपयुक्त नलागेर छाड्दै पछि राष्ट्रसंघमा काम गरेको बताए।
प्रभाकर शमशेरले १९६० को दशकमा सोल्टी होटलको सुरुवात गरेका थिए भने त्यसमा ओबेरोय जस्तो प्रख्यात ब्राण्डलाई नेपालको होटल व्यवस्थापन क्षेत्रमा लिएर आएका थिए। नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरुसँगको साझेदारी र उनीहरुसँगको व्यवस्थापन सम्झौतालाई व्यवहारिक बनाएर अघि बढ्न सके भने व्यवसायलाई स्थापित गर्न सकिन्छ भन्ने मान्यता उनको थियो।
‘उहाँ नै नेपालका पहिलो उद्यमी हुनुहुन्छ जसले अन्तर्राष्ट्रिय ब्राण्ड र साझेदारीलाई स्थापित गर्नुका साथै सफल बनाउनु ठूलो योगदान दिनुभयो,’ पिताको स्मरण गर्दै सिद्धार्थ शमशेरले भने।
कार्यक्रमका प्रमुख वक्ता अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा. कृष्णमूर्ति भेन्कटा सुब्रमन्यनले नेपालको उद्योग व्यापारका क्षेत्रमा योगदान दिने व्यक्तित्वको स्मृतिमा आयोजित कार्यक्रममा आफूलाई निम्त्याइएकोमा हर्ष प्रकट गरे। उनले समावेशी विकास कठिन कार्य रहेको बताउँदै भारतले पछिल्लो समयमा समावेशी रुपमा विकास हासिल गरेको उल्लेख गरे। सही र उच्चतम नैतिकताका साथमा समग्र आर्थिक विकास गर्न सम्भव रहेको भनाइ राखेका उनले भारत पछिल्लो समय उच्चतम नैतिकताका साथ आर्थिक प्रगतितर्फ बढ्दै गरेको बताए।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशन गरेको ‘बिजनेस क्लाइमेट सर्भे-२०२४’ पुस्तकको पनि सार्वजनिक गरिएको थियो। कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायभरमले सहभागीलाई धन्यवाद दिएका थिए।