BIZMANDU
www.bizmandu.com

सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रामक, २७.७६ प्रतिशतले वृद्धि, कुनले कति दिए ?

२०८१ फागुन २६

सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रामक, २७.७६ प्रतिशतले वृद्धि, कुनले कति दिए ?
सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रामक, २७.७६ प्रतिशतले वृद्धि, कुनले कति दिए ?


काठमाडौं। चालु आर्थिक वर्ष पछिल्लो ७ महिनामा ऋण विस्तार ६.०३ प्रतिशतमा सीमित हुँदा मार्जिन प्रकृतिको सेयर धितो कर्जा भने २७.७६ प्रतिशतले बढेको छ।

Tata
GBIME
NLIC

आर्थिक गतिविधि बढ्न नसकेर तरलता थुप्रिंदा ब्याजदर घट्‌दै आएपछि सेयर धितो कर्जा बढ्न थालेको हो। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

सेयर धितो कर्जामा वाणिज्य बैंक बढी आक्रामक देखिएका छन्। वाणिज्य बैंकले सेयर धितो कर्जा ३२.३९ प्रतिशतले बढाएका छन्।

पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुबाट मात्र सेयर धितो कर्जा २२ अर्ब ७८ करोड रुपैयाँ थपिएको छ।

२०८१ असारसम्म बैंकहरुबाट यस क्षेत्रमा ७० अर्ब ३४ करोड कर्जा गएकामा माघ मसान्तसम्म आइपुग्दा ९३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यो रकम वाणिज्य बैंकको कुल कर्जाको ८.९० प्रतिशत हो।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकबाट माघ मसान्तसम्म कुल ४८ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

पछिल्लो सात महिनामा १५ वाणिज्य बैंकबाट यस क्षेत्रमा जाने कर्जा बढ्दा २ बैंकको भने खुम्चिएको छ। स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन ।

माछापुच्छ्रे बैंकको कर्जाको वृद्धिदर सबैभन्दा धेरै १९७.१६ प्रतिशत छ। पछिल्लो ७ महिनामा माछापुच्छ्रे बैंकबाट यस क्षेत्रमा जाने कर्जा ९२ करोड रुपैयाँ थपिएको छ।

सेयर धितोमा कर्जा आक्रामक रुपले बढाउनेमा नेपाल एसबिआई, एनएमबि, कुमारी, ग्लोबल, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंक छन्।

सात महिनामा माछापुच्छ्रेले १९७.१६, कुमारीले ९७.४८, नेपाल इन्भेष्टमेन्टले ५८.८२ र एनएमबिले ८१.१६ प्रतिशतले सेयर कर्जा बढाएका छन्।

सेयर धितो कर्जा सबैभन्दा धेरै दिनेमा नबिल बैंक छ। उसले अहिलेसम्म १२ अर्ब ९५ करोड रुपैयाँ सेयर कर्जा दिएको छ। पछिल्लो सात महिनामा भने नबिलको सेयर कर्जा १३.४ प्रतिशतले खुम्चिएको छ।

यस क्षेत्रमा सात महिनामा सबैभन्दा धेरै कर्जा कुमारी बैंकले दिएको छ। कुमारीले सात महिनामा ४ अर्ब २६ करोड रुपैयाँ कर्जा बढाएको छ। त्यसैगरी ग्लोबल आइएमई बैंकले ४ अर्ब १३ करोड ऋण लगानी गरेको छ।

निरन्तर ओरालो लागेर कर्जाको ब्याजदर एकल अंकमा आएपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढेको हो। गत असार यता फागुन २५ गतेसम्म सेयर बजार परिसूचक ५६८ अंकले बढेको छ।

ऋणको ब्याजदर तीन वर्षयताकै सस्तो छ। बैंकहरुले अहिले सेयर धितो कर्जा एकल अंकको ब्याजदरमा दिइरहेका छन्। ब्याजदर घट्दै आइरहेपनि अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसकेपछि सेयर धितो कर्जा बढ्न थालेको जानकार बताउँछन्।

सेयर विश्लेषक अनलराज भट्टराई लगानीका अन्य क्षेत्र सुस्त हुँदा मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढेको बताउँछन्।

‘आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग खासै बढ्न सकेको छैन। कर्जाको ब्याजदर घट्दै गइरहेको छ। त्यसैले संस्थागत लगानीकर्ता सेयर बजारमा प्रवेश गर्ने क्रम बढेकाले कर्जाको माग बढेको हो,’ उनले भने।

ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ सुमन पोखरेल घट्‌दो ब्याजदरका कारण सेयर धितो कर्जा बढेको बताउँछन्। ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा संस्थागत लगानीकर्ताको हकमा कर्जाको सीमा हटाउनुका साथै जोखिम भार घटायो। अहिले अन्य क्षेत्र अपेक्षाजनक रुपमा चल्न नसक्दा ठूला लगानीकर्ताले सेयर धितो कर्जा माग गर्न थालेका छन्। त्यही कारण ऋण लगानी बढेको हो,’ उनले भने।

सेयर धितोमा कर्जा सबैभन्दा कम अर्थात ५.९४ प्रतिशत बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ। यो बैंकले ७ महिनामा २५ करोड ३ लाख रुपैयाँ कर्जा बढाएको छ।

एनआईसी एसिया बैंकको सेयर धितो कर्जा सबैभन्दा धेरै खुम्चिएको छ। यो बैंकको सेयर धितो कर्जा ३६.०५ प्रतिशतले खुम्चिएको हो।

वाणिज्य बैंकहरुले सेयर धितोमा गरेको ऋण लगानीको अवस्था

वाणिज्य बैंक२०८०/८१ असार मसान्त
सेयर कर्जा
(रु.दश लाखमा)
२०८१/८२ माघ मसान्त
सेयर कर्जा (रु.दश लाखमा)
फरक
नेपाल६,७८०.८४७७२६.३२१३.९४
राष्ट्रिय वाणिज्य४,२६२.२७४,५१५.३०५.९४
नबिल११,४२७.८११२,९५९.५७१३.४
नेपाल इन्भेष्टमेन्ट मेगा१,८५८.२८२,९५१.३६५८.८२
स्टान्डर्ड चार्टर्ड
हिमालयन२,०११.८११,९०७.२०-५.२
नेपाल एसबिआई२०१.५९४७२.६७१३४.४७
एभरेष्ट२,०२६.९२२,६८४.७६३२.४६
एनआईसी एसिया३९६९.०२२,५३८.२९-३६.०५
माछापुच्छ्रे४६७.०७१३८७.९६१९७.१६
कुमारी४३७६.२४८,६४२.०२९७.४८
लक्ष्मी सनराइज३,३८९.४७४,१०७.३४२१.१८
सिद्धार्थ५७८९.७८८,३८६.१६४४.८४
कृषि विकास१५९१.६१२,०३९.१८२८.१२
ग्लोबल७,५१७.३७११,६४९.१३५४.९६
सिटिजन्स४८०७.०२६१५२.१६२७.९८
प्राइम४,०५३.७५६,५५५.५२६१.७१
एनएमबि९८०.८४१,७७६.८७८१.१६
प्रभु३,१८१.५०४३२५.३५३५.९५
सानिमा१,६५१.५३२,३४७.८०४२.१६
जम्मा७०३४४.७२९३१२४.९६३२.३८
स्रोत : राष्ट्र बैंक