BIZMANDU
www.bizmandu.com

दशकपछि सक्रिय बैंकिङमा फर्किए बीएन घर्ती, बेस्ट फाइनान्सको प्रमुख कार्यकारी नियुक्त

२०८१ फागुन २६

दशकपछि सक्रिय बैंकिङमा फर्किए बीएन घर्ती, बेस्ट फाइनान्सको प्रमुख कार्यकारी नियुक्त
दशकपछि सक्रिय बैंकिङमा फर्किए बीएन घर्ती, बेस्ट फाइनान्सको प्रमुख कार्यकारी नियुक्त


काठमाडौं। करिव दशकअघि ‘नखाएको बिष’ लागेर  किनारामा धकेलिएका बीएन घर्ती ‘अपराधमुक्त’ ठहरपछि बैंकिङ क्षेत्रमै फर्किएका छन्। 

Tata
GBIME
NLIC

‘क’ वर्गको बाणिज्य बैंकको कामु प्रमुख कार्यकारी अधिकृत तहमा पुगेका घर्ती अर्कैले गरेको अपराधका कारण ९ बर्षसम्म पीडित भएर बस्नु परेको थियो। जब उनले सर्बोच्च अदालतबाट ‘क्लिन चिट’ पाए, घर्ती आफ्नो जीवनको लामो समय बिताएको बैंकिङमै फर्किएका हुन्।

९ बर्षका अवधिमा पनि उनी बैंकिङ क्षेत्रका जनशक्तिलाई सशक्त र बलियो बनाउन अध्यापनमै ब्यस्त थिए।अन्तत: उनी सोमबारबाट ‘बेस्ट फाइनान्स’ को प्रमुख कार्यकारी नियुक्त भएर सक्रिय बैंकिङमा फर्किएका हुन्।

‘क’ वर्गको बैंकमा जीवन बिताएका घर्ती ‘ग’ वर्गको फाइनान्समा किन गए? यसको उत्तर उनले २०८० असारमा प्रकाशित भएको आफ्नो पुस्तक ‘बैंकिङ अनुशासन दिगो विकासका लागि’ बाट दिइसकेका छन्।

उनले पुस्तकमा अहिलेकै तरिकाले फाइनान्स कम्पनीलगायत क्षेत्रीय स्तरका विकास बैंकहरु चल्न नसक्ने कुरा लेखेका थिए।

उनले पुस्कमा- मर्जरमा जाँदा राम्रो हुन्छ भनेका थिए। ‘यो बीचमा कुनै विकास बैंक र फाइनान्स कम्पनीहरु पनि मर्ज भएनन्’ उनले बिजमाण्डूसँग भने, ‘मैदानमै गएर पहल गर्ने भन्ने हिसाबले सुरुवात बेस्ट फाइनान्सबाट गरेको हुँ। बाहिर बसेरभन्दा भित्र बसेर अभियान सुरु गर्दा राम्रो हुन्छ भन्ने लाग्यो।’

बेस्ट फाइनान्समा उनको सक्रियता पहिलेदेखि नै हो। उनकै व्यवसायिक योजना र परामर्शमा बेस्ट फाइनान्स लामो समयसम्म चल्यो। २०७० मा समस्याग्रस्त भएको फाइनान्स २०७३ मा समस्यामुक्त गराउन उनको व्यवसायिक योजनाले काम गरेको थियो।

२०७५ मा उनकै पहलमा सिनर्जी फाइनान्स गाभेर चुक्ता पुँजी नियामकले तोकेको ८० करोड पुर्याइएको थियो। अहिले पुँजी ८९ करोड रुपैयाँ छ।

‘अब मिल्दाजुल्दा फाइनान्स र क्षेत्रीय स्तरका विकास बैंकलाई गाभ्न आह्वान गरेर जोखिम व्यवस्थापन गर्ने र व्यवसाय विस्तार गर्ने स्थान बनाउनतिर लाग्छु,’ उनले भने। 

फाइनान्स कम्पनीले उनलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। उनले मर्जरलाई प्राथमिकतामा राखेर केही फाइनान्स र विकास बैंकहरुसँग कुराकानी सुरु गरिसकेका छन्।