काठमाडौं। सेयर बजारमा रि-इन्स्योरेन्स कम्पनी लगानीकर्ताको पहिलो रोजाइमा परेका छन्। आइतबार १० अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच हुँदा कारोबार धेरै हुने शीर्ष स्थान कम्पनीको सूचीमा हिमालयन र नेपाल रि-इन्स्योरेन्स रहे।
हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक १ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो। नेपाल रि-इन्स्योरेन्सको ५९ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भयो।
कारोबार रकमका आधारमा रि-इन्स्योरेन्स शीर्ष स्थानमा परेको आइतबार पहिलो दिन होइन। पछिल्लो तीन सातादेखि रि-इन्स्योरेन्सको दबदबाले बजार तरंगित बनाएको छ।
गत बिहीबार १० अर्ब १० करोड रुपैयाँको कारोबार हुँदा हिमालयनको सर्वाधिक १ अर्ब १२ करोड र नेपाल रि-इन्स्योरेन्सको १ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
कारोबार रकमको आकार होस् वा सेयर मूल्य, सरकारको समेत लगानी रहेको नेपाल रि-इन्स्योरेन्स र निजी लगानीको हिमालयन रि-इन्स्योरेन्सबीच कडा टक्कर देखिएको छ।
कारोबार रकम मात्र होइन सेयर मूल्य पनि दुवै कम्पनीको उकालो लागेको छ। फागुन १ गते प्रति कित्ता ८४४ रुपैयाँ मूल्य रहेको हिमालयन रिको भाउ आइतबार १०४६ रुपैयाँ छ। नेप्से ४६.३३ अंकले घट्दा हिमालयन रिको मूल्य प्रति कित्ता २७ रुपैयाँ घट्यो।
एक वर्षमा न्यूनतम ५१२ रुपैयाँसम्म आएको हिमालयन रिको मूल्य केही दिनअघि ११५६ रुपैयाँसम्म पुगेको थियो।
यस्तै नेपाल रिको सेयर मूल्य ६३० रुपैयाँबाट प्रति कित्ता १३८९ रुपैयाँसम्म पुगेकामा आइतबार ४६ रुपैयाँले घटेर १३०४ रुपैयाँ कायम भयो।
हिमालयन र नेपाल रि व्यावसायिकरुपमा प्रतिस्पर्धी कम्पनी हुन। अघिल्लो वर्ष बोनस सेयर वितरण गरेका दुई कम्पनीले पोहोरको मुनाफाबाट लाभांश वितरण गरेका छैनन्। पुँजी वृद्धिको दबाबमा रहेका कम्पनीहरु नगद लाभांश वितरणको मनसायमा देखिंदैनन्।
नेपाल बीमा प्राधिकरणले एक वर्षअघि रि-इन्स्योरेन्सको पुँजी दोब्बर बनाउने निर्णय गरेकामा दुवैले अहिलेसम्म कायम गर्न सकेका छैनन्। रि-इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनमार्फत पुँजी जुटाउने योजना प्राधिकरणमा पेस गरेका छन्। तर, अनुमति पाएका छैनन्।
हकप्रद सेयर निष्कासनको हल्लाले रि-इन्स्योरेन्सको मूल्य उचालिएको कम्पनीलाई नजिकबाट हेरिरहेकाहरु बताउँछन्। ‘बीमा प्राधिकरणका नयाँ अध्यक्षले कम्पनीको हकप्रद अघि बढाउँछन् भन्ने लगानीकर्तामा परेको छ। त्यसैले उचालिएको हो,’ एक विश्लेषकले भने।
कम्पनीको भ्यालुयसन बढाउने रणनीति सहित संस्थागत लगानीकर्ताले नै माग सिर्जना गरेर चलखेल गरिरहेको उनीहरुको भनाइ छ। ‘दुवै कम्पनी हकप्रद सेयर निष्कासनको तयारीमा छन्। अर्कातिर कम्पनीको भ्यालु बढाउन खेलाडीहरुबीच राम्रै गेम चलिरहेको छ,’ बजारका अर्का जानकारले भने।
रि-इन्स्योरेन्सको सेयर कारोबार र मूल्यको अवस्था
हिमालयन रि-इन्स्योरेन्स | नेपाल रि-इन्स्योरेन्स | |||
मिति | कारोबार रकम | सेयर मूल्य | कारोबार रकम | सेयर मूल्य |
फागुन १ | ८ करोड ८५ लाख | ८४४ | १२ करोड ६० लाख | ९७८ |
फागुन ४ | ६ करोड ६९ लाख | ८४८ | ९४ करोड ५८ लाख | ९८० |
फागुन ५ | १५ करोड २२ लाख | ८७६ | ३२ करोड ६४ लाख | १०११ |
फागुन ६ | ८२ करोड २ लाख | ९३६ | ५१ करोड ६८ लाख | १०५५ |
फागुन ८ | ३८ करोड ३७ लाख | ९३४ | ६५ करोड ६६ लाख | १०७७ |
फागुन ११ | ९५ करोड ६४ लाख | ९८२ | ६० करोड २९ लाख | ११५२ |
फागुन १२ | ८९ करोड ३५ लाख | ९९० | ८० करोड ८७ लाख | १२२७ |
फागुन १३ | १ अर्ब २ करोड | १०२५ | ८३ करोड ३ लाख | १३०४ |
फागुन १५ | ९६ करोड ४७ लाख | १०२९ | ७६ करोड ४२ लाख | १३२१ |
फागुन १८ | ८५ करोड ९३ लाख | १०१९ | ९७ करोड ५३ लाख | १३२३ |
फागुन १९ | १ अर्ब ३८ करोड | १०९२ | ७३ करोड ४२ लाख | १३३२ |
फागुन २० | १ अर्ब ९ करोड | ११२४ | ६४ करोड २५ लाख | १३४१ |
फागुन २१ | ९६ करोड ७० लाख | १११५ | ९० करोड ३१ लाख | १३४५ |
फागुन २२ | १ अर्ब १२ करोड | १०७३ | १ अर्ब ८ करोड | १३५० |
फागुन २५ | १ अर्ब १२ करोड | १०४६ | ५९ करोड ९८ लाख | १३०४ |
प्राधिकरणले रि-इन्स्योरेन्सको चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकेको छ। नेपाल रि-इन्स्योरेन्समा सरकारको लगानी ४४ प्रतिशत छ। उसले हकप्रद सेयर निष्कासनको अनुमति पाए सरकारले रकम हाल्नुपर्ने हुन्छ। तर, सार्वजनिक वित्त चुनौतीपूर्ण अवस्थामा हरेको भन्दै अर्थ मन्त्रालयले हकप्रदमा चासो दिएको छैन।
त्यस्तै, हिमालयन रि-इन्स्योरेन्सले प्रस्ताव गरेको हकप्रद प्राधिकरणले प्रिमिमयम मूल्यको आइपीओको विषय देखाएर रोकेको छ।
बजारमा हकप्रद निष्कासन अघि कम्पनीको मूल्य बढाउन चलखेल नै हुने गरेको छ। रि-इन्स्योरेन्समा पनि त्यही देखिएको जानकारहरु बताउँछन्। ‘हकप्रद निष्कासन अघि कम्पनीको मूल्य बढाउन निकै चलखेल हुने गरेको छ। रि-इन्स्योरेन्स कम्पनी पनि हकप्रद निष्कासन नगरी पुँजी कायम गर्न सक्ने अवस्थामा देखिंदैनन्,’ एक मर्चेन्ट बैंकरले भने, ‘त्यसकै प्रतिबिम्ब बजारमा कम्पनीको कारोबारमा देखिएको हो। कारोबार भोलुम हेर्दा संस्थागत लगानीकर्ता केही रणनीतिसहित इन्ट्री गरेको देखिन्छ। यसलाई कारोबार रकमले जस्टिफाइ गर्छ जस्तो लाग्छ।’
रि-इन्स्योरेन्स बजारमा नेपाल रिको बर्चस्व रहेकामा हिमालयनको प्रवेशले व्यापार बाँडफाँड भएको छ। कम्पनीबीच व्यापारको प्रतिस्पर्धाले नाफामा समेत प्रभाव परेको बीमकहरु बताउँछन्।