पूर्वराजा ज्ञानेन्द्रका व्यावसायिक साझेदार समेत रहनुभएका बुवाको जन्म नै राणा परिवारमा राजनीतिक विशेषाधिकारसहित भएको थियो भन्दा पनि हुन्छ।
उहाँका दुई दिदीहरु प्रिन्सेप र हेलेनको राजा महेन्द्रका भाइहरु हिमालय र बसुन्धरासँग बिवाह भयो। पारिवारिक निकटताका बावजुद उहाँले कहिल्यै पनि दरबारसँगको निकटतालाई गलत रुपमा प्रयोग गर्नुभएन।
म गर्वका साथ के भन्न सक्छु भने आज हाम्रो उद्यम अन्तर्गत आईटीसी, टाटा, भारत पेट्रोलियमलगायत धेरै अन्तर्राष्ट्रिय साझेदारहरु छन्। हामी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमै विभिन्न ठूला घरानाहरुसँग संयुक्त उद्यम गरिरहेका छौं।
तर, हामी आवद्ध घरेलु वा अन्तर्राष्ट्रिय कुनै पनि उद्यममा कहिल्यै पनि बुवाले आफ्नो राजपरिवार र तत्कालीन शक्तिसँगको निकटता र विशेषाधिकारको दुरुपयोग गरेको आरोप खेप्नुपरेको छैन। न त मैले नै विरासतमा त्यसको कुनै बोझ लिएर बस्नुपरेको छ।
मेरो बुवा राजतन्त्रसँग निकट रहेर काम गरेपनि प्रजातान्त्रिक मूल्य मान्यता बोकेका व्यक्ति हुनुहुन्थ्यो। राणा परिवारमा जन्मिएपनि उहाँ समयसँगै परिवर्तन हुन र नयाँ परिदृश्यलाई आत्मसात् गर्न सक्षम हुनुहुन्थ्यो।
उहाँको जीवनमा शिक्षा नै सबैभन्दा ठूलो शक्ति थियो। त्यो समयमा पढ्नका लागि भारतको दार्जिलिङ पुग्नुभएका बुवामा त्यहाँ सबै विद्यार्थीहरुसँग हुने समान व्यवहारका कारण सानैदेखि सबै समान हुन् भन्ने परिवर्तनकारी चेतको जन्म भयो।
मेरो बुवाले सानैदेखि देश बाहिर बसेर शिक्षादिक्षा नलिएको भए आधुनिक समयको परिवर्तनमा सहजै समायोजन हुन सक्ने खुबी प्राप्त हुन सक्ने पो थिएन कि!
त्यसैले म गर्वका साथ भन्न सक्छु कि मेरा बुवाले केवल नेपालको उद्यम र व्यवसायमा मात्र महत्वपूर्ण भूमिका खेल्नुभएन। उहाँले त राष्ट्रिय राजनीतिमै पनि अहम् भूमिका निर्वाह गर्नुभयो।
तत्कालीन परिस्थितिमा विभिन्न राजनीतिक दलहरु, शक्ति केन्द्रहरु, दरबार, विभिन्न संघसंस्था, अन्तराष्ट्रिय साथीभाई र क्षेत्रीय राजनीतिक परिदृश्यमा पनि बुवाले नेपालको छवि राम्रो बनाउने गरी सबैसँग असाध्यै राम्रो सम्बन्ध कायम गर्नुभयो।
मलाई बुवाले नेपालको राजनीतिक उतारचढावका बखत पनि असाध्यै व्यवहारिक सल्लाह र सुझावहरु दिएको याद छ। त्यो समयमा सायद उहाँको सल्लाह अरुले मनन् गरेको भए नेपालको वर्तमान राजनीतिक इतिहासले अर्कै मोड पनि लिन सक्थ्यो।
बुवा पहिलो पुस्ताका उद्यमी हुनुहुन्छ। उहाँले अध्ययन पछि राष्ट्रिय योजना आयोगमा पनि केही समय काम गर्नुभयो। तर, यो काम आफ्नो लागि होइन रहेछ भन्ने मनन् पनि उहाँलाई भएछ। पछि उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघमा पनि ऋषिकेश शाहको मेन्टरसीपमा केही समय आफ्नो अध्ययन अघि बढाउनुभयो।
मेरी आमासँगको भेटले भने बुवाको जीवन मोडिदियो। आमाले बुवालाई सँगै पढ्नका लागि भारत आउन आग्रह गर्नुभएछ। मेरो बुवा र आमाले पटना विश्वविद्यालयमा सँगै अध्ययन अघि बढाउनुभयो जुन त्यो समयमा असामान्य कुरा थियो। तर, मलाई लाग्छ त्यो आमाको उदार सोचको परिणाम थियो।
बुवाले विश्वविद्यालयको डिग्री लिएपछि साठीको दशकमा सोल्टी होटल सुरुवात गर्नुभयो। त्यो समय नेपालमा ओबरोयजस्तो ब्राण्ड चाहिएको कुरा कन्भिन्स गर्नका लागि पनि नै धेरै गाह्रो थियो।
तर, बुवाले नै नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरुसँगको साझेदारी र उनीहरुसँगको व्यवस्थापन सम्झौतालाई व्यवहारिक बनाएर अघि बढ्न सक्नुभयो। त्यसैले उहाँ नेपालका पहिलो उद्यमी हुनुहुन्छ जसले अन्तर्राष्ट्रिय ब्रान्ड र साझेदारीलाई स्थापित गर्दै त्यसलाई सफलता दिलाउनुभयो।
मैले बुवाबाट विरासतमा केही पाएको हुँ भने त्यही उद्यमशीलता पाएको छु। बुवाबाट बिरासतमा पाएको त्यही उद्यमशीलतालाई हामीले निरन्तरता दिइरहेका छौं र त्यसलाई नयाँ उचाईमा पुर्याउन तल्लिन छौं।
उहाँ असाध्यै व्यावहारिक व्यक्तित्व हुनुहुन्थ्यो। मलाई लाग्छ आज बुवा बाँचिरहनुभएको भए पर्यटन क्षेत्रप्रतिको लगावका कारण यही क्षेत्रको विकासका लागि नीति निर्माताहरुसम्म पुग्नुहुन्थ्यो होला र नेपालको आर्थिक विकास र यहाँ वैदेशिक लगानी भित्र्याउनका लागि हरसंभव पहल गर्नुहुन्थ्यो होला।
एक समय यस्तो पनि थियो जब हामी आर्थिक सुधारका विषयमा भारतभन्दा अगाडि थियौं। सन् १९९० को दशकमा भएका सुधारहरूले वास्तवमै लगानी, प्रविधि हस्तान्तरण, उद्यम क्षेत्रमा ठूलो लहर ल्याएको थियो।
तर, बिडम्बना विश्वकै दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र बन्ने रेसमा रहेका भारत र चीनबीच एउटा सम्भावना बोकेको हाम्रो देश भने स्यान्डविच जसरी चेप्टिएको छ।
हामी क्रोनिज्मको चक्करमा फसेको देखिन्छौं। जबसम्म हामी यस मानसिकताबाट बाहिर आउँदैनौं, नेपालले समृद्धि प्राप्त गर्न सक्दैन। त्यसैले अब नेपालको आवश्यकता के हो भन्नेतर्फ हामीले मनन् गर्न र देशका लागि उपयुक्त योजनाको बाटो तय गर्न ढिला भैसकेको छ।
आज हामीसँग कुनै आर्थिक योजना छैन। हामी देशको आर्थिक आवश्यकताहरुलाई सम्बोधन गरेर अघि बढ्नुको सट्टा हरेक दश वा पन्ध्र वर्षमा हाम्रो राजनीतिक प्रणालीलाई निरन्तर परिवर्तन गरिरहेका छौं।
केन्द्र वा प्रदेश सरकारले गरेको कामहरुबाट खोइ उल्लेख्य परिणाम देखिन सकेको? यहाँ त स्वतन्त्ररुपमा लगानी गर्न आएका विदेशी लगानीकर्ताहरुलाई पनि हामीले अड्याउन सकिरहेका छैनौं। त्यसैले अब हामीले वृहद र विश्व परिदृश्यबाट देशको विकास र आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने छ।
(नेपाल-भारत उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शमशेर राणाको सम्झनामा आयोजना गरेको पहिलो लेक्चर सिरिजमा सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाले दिएको मन्तव्यको सारसंक्षेप।)