काठमाडौं। सेयर बजारमा उच्च अंकले गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन।
आइतबार बजार लगातार पाँचौं दिन ओरालो लागेको हो। फागुन १८ गते २८९० विन्दुमा पुगेको नेप्से ११८ अंकले घटेको छ। आइतबार अन्य उपसमूहको सूचक सर्वाधिक २.६९ प्रतिशतले ओरालो लागेको छ। इन्भेष्टमेन्ट २.४९, फाइनान्स १.८७, डेभलपमेन्ट बैंक १.७१ र माइक्रो फाइनान्सको सूचक १.५८ प्रतिशतले घटेको छ।
२१७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
२४ कम्पनीको मूल्य बढेको छ। गार्डियन माइक्रो लाइफ, आइसीएफसी डिबेन्चर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
१० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको १ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, नेपाल रिइन्स्योरेन्स ५९ करोड ९८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।