काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा एकाबिहानै सञ्चारकर्मीको एउटा जम्बो टोली भेला भयो। तयारी थियो जनकपुर जाने। त्यहाँबाट सडकमार्ग बर्दिवास हुँदै सिन्धुलीको भिमान। र, त्यहाँ एउटा नयाँ गाडीको टेस्ट ड्राइभ।
सहभागी उत्साहित थिए। नेपालमा नयाँ गाडी लन्च हुनुअघि यसरी टेस्ट ड्राइभको अनुभव लिने चलन थिएन, तर पछिल्लो समय ब्रान्डहरूले यो अभ्यास सुरु गरेका छन्। यो यात्रा त्यही एउटा क्रमको निरन्तरता थियो। टेस्ट ड्राइभ गर्न लागेको गाडी थियो मोरिस ग्यारेज (एमजी) को नयाँ गाडी एमजी एस५ ।
यो ब्रान्ड नेपाली बजारमा आएको लगभग ६ वर्ष भइसकेको छ। इभीको प्रतिष्पर्धी बजारमा थपेको नयाँ मोडल देखाउन बिक्रेता कम्पनीले सञ्चारकर्मीका लागि टेस्ट ड्राइभ राखेको थियो।
पूर्वनिर्धारित कार्यक्रमअनुसार टोली जनकपुर र त्यहाँबाट बर्दिबास। भिमान पुगेर सुरु भयो टेस्ट ड्राइभ। भिमानको सडक, जो मदन भण्डारी राजमार्गको नयाँ रुट हो, जुन हामीले देखेको सडकभन्दा फरक र राम्रो छ। यो सडकमा हामीले टर्निङ रेडियसदेखि एक्सेलेरेसनको लागि लामो सिधा बाटो पनि पायौं। यस्तै, बम्पी सडक पनि थियो र जंगलको हरियालीको आनन्द लिँदै ड्राइभ गर्न पनि सकिन्थ्यो।
जनकपुर विमानस्थलबाट बिहान १० बजेतिर बर्दिबास। त्यहाँबाट टेस्ट ड्राइभको भेन्युतर्फ लागियो। त्यहाँ हामीलाई टेस्ट ड्राइभ गर्नका लागि रुट र मार्सल प्रदान गरिएको थियो। साथै, यस गाडीका केही महत्त्वपूर्ण विशेषताहरू पनि जानकारी गराइयो, जसमा रियल ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन प्रमुख थिए। यो विशेषता यो सेगमेन्टको गाडीमा एकदमै नयाँ हो। होइन भने यो सेगमेन्टको गाडीमा फ्रन्ट ह्वील ड्राइभ मात्रै उपलब्ध हुने गरेको छ।
एमजी एस५ रियर-ह्वील ड्राइभ (पछाडिको चक्कामा शक्ति जाने) व्यवस्था भएको गाडी हो र यसमा इन्डिपेन्डेन्ट सस्पेन्सन (प्रत्येक चक्काको सस्पेन्सन स्वतन्त्र रूपमा चल्ने) व्यवस्था मिलाइएको छ। जसले गर्दा गाडीलाई लक्जरी र ड्राइभिङ अनुभव आरामदायी बनाएको छ। टेष्ट ड्राइभको दुरी एकतर्फी रुपमा २५ किलोमिटरको थियो।
यो गाडीको टेस्ट ड्राइभको क्रममा भिमानको सडकमा यसको रियल-ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सनको अनुभव लिइयो। एमजी एस५ को यी विशेषताहरूले यसलाई कठिन र घुमाउरो सडकमा पनि सजिलै चलाउन सकियो। टोलीका सहभागी सबैले यो गाडी चलाएर हेरे।
हामीले टेस्ट ड्राइभ गर्दा लामो सीधा बाटोमा यसको एक्सेलेरेसन परीक्षण गर्यौं। यसमा ०-१०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न धेरै समय लागेन। उक्त सिधा बाटोमा १६४ किलोमिटर प्रतिघण्टासम्म पूर्ण गतिमा चलाउन सकिने रहेछ। रियल ह्वील ड्राइभ भएकाले होला, एक्सेलेरेसन सहज र तीव्र थियो। यसको एक्सेलेरेसन ०-१०० किलोमिटर प्रतिघण्टा पुग्न ८ सेकेन्ड मात्र लाग्छ, जुन यो सेग्मेन्टको गाडीमा राम्रो लाग्यो।
साथै, रियल ह्वील ड्राइभ भएकाले गाडीको स्टेबिलिटी पनि राम्रो थियो। हामीसँग बसेका तीन जनालाई गाडीको राम्रो स्टेबिलिटी भएका कारण तीव्र एक्सेलेरेसनमा पनि सहज र आरामदायी लाग्यो। यसमा भएको ९९ किलोवाट क्षमताको मोटर पावर यसका लागि पर्याप्त थियो।
यस्तै, टर्निङ रेडियस र रोड प्रिजेन्स पनि सन्तुलित थियो। रियल ह्वील ड्राइभ भएकाले पनि घुम्तीहरूमा गाडी नियन्त्रणमा रह्यो, जसले सहज घुम्ती लिन मद्दत गर्यो। यो सस्पेन्सन प्रणालीले गाडीलाई घुम्तीहरूमा पनि स्थिर राख्छ। प्रत्येक चक्काले फरक-फरक अवस्थामा प्रतिक्रिया दिन सक्ने भएकाले गाडीको सन्तुलन कायम भएको महसुस हामीले गर्यौं।
रियल ह्वील ड्राइभ भएका गाडीहरूको तौल अगाडि र पछाडि लगभग बराबर बाँडिएको हुन्छ। यसले गर्दा गाडीको सन्तुलन राम्रो हुन्छ, विशेषगरी घुम्ती र कच्ची सडक भएको उकालोमा। तर, चिप्लो सडकमा भने अलि गाह्रो हुन्छ।
यसैगरी, यसमा भएको अर्को विशेषता इन्डिपेन्डेन्ट सस्पेन्सन हो। यसलाई राम्रोसँग अनुभव गर्न कठिन थियो, तर पनि केही यस्ता ठाउँहरू थिए जहाँ स्पिड ब्रेकर र बम्पी लाइनिङहरू थिए। त्यस्ता सडकमा यसको इन्डिपेन्डेन्ट सस्पेन्सन भएकाले भित्र त्यस्तो असन्तुलन भएको महसुस भएन। जसले यसको चार वटै पाङ्ग्रा स्वतन्त्र रुपले एक्टिभ भए।
यसले गर्दा एक चक्का खाल्डोमा पर्दा पनि अर्को चक्कालाई असर गर्दैन। इन्डिपेन्डेन्ट सस्पेन्सनले सडकको अवस्था अनुसार आफूलाई समायोजन गर्न सक्छ। यसले गर्दा विभिन्न प्रकारका सडकहरूमा पनि सहज ड्राइभिङ गर्न सकियो। जसले गर्दा गाडीभित्रको कम्पन कम भयो र साथीहरूलाई आरामदायी महसुस भयो। तर पनि यसको सस्पेन्सन अलि सफ्ट छैन। त्यो चाहिँ यसको अलि वीक लाग्यो।
हामीले डिलक्स भेरियन्टको टेस्ट ड्राइभ गर्यौं, जसमा सनरुफ पनि थियो। सनरुफको पूर्ण आनन्द लिँदै ड्राइभ गर्न सकिने रहेछ। यसमा भएको म्युजिक सिस्टम र इन्फोटेन्मेन्ट सिस्टम पनि अत्याधुनिक छ। गाडीलाई अगाडिबाट हेर्दा सानो देखिन्छ, तर पछाडि र साइड प्रोफाइल भने बल्की देखिन्छ।
साथै यसको इन्टेरियरलाई पनि लक्जरी बनाउन खोजिएको छ। यसमा भएको अगाडि र पछाडिको सिट पनि सबै कम्फर्ट नै अनुभव दिने खालका छन्। सिटलाई प्रिमियम बनाइएको छ। सफ्ट टच म्याटेरियल्सहरु प्रयोग गरिएको छ। ड्यासबोर्ड पनि सफा र आइ क्याची बनाइएको छ।
चालकले आफू अनुकुल रेन्ज पाउन दुई वटा ४९ र ६२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री दुई वटा विकल्पमा रहेकाले सहज पनि छ। यसमा एमजी जेड एसमा भएको भन्दा फरक सबैभन्दा पातलो ब्याट्री प्रयोग गरिएको छ। जसले इन्टेरियरमा स्पेस ठुला बनाउन मद्दत गरेको देखिन्छ।
४५ लाखदेखि ६० लाखको बिचमा रियल ह्वील ड्राइभ भएको इभी एसयुभी खोज्नेहरुका लागि यो राम्रो विकल्पका रुपमा खडा हुने हाम्रो अनुभव छ। तर, कम्पनीले यसको मूल्य पनि एग्रेसिभ रुपमा राखेको छ। कम्पनीले बिहीबार उक्त गाडी सार्वजनिक गर्दै यसको बेस भेरियन्ट ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यसले अन्य धेरै ब्रान्डलाई प्रतिस्पर्धा गर्न मूल्यमा कठिन बनाएको छ।