काठमाडौं । ड्यासबोर्डमा आमूल परिवर्तनमात्र होइन, एक्टेरियरमा पनि उत्तिकै परिवर्तन देखिन्छ टाटा नेक्सनको पछिल्लो भर्सनमा। पञ्च इभीको पछिल्लो लुक्सको झल्को आउने अपग्रेटेड नेक्सन इभी के थ्री टाटाका लागि गेमचेन्जर बन्न सक्ला?
टेस्ट ड्राइभको आजको श्रृङ्खलामा हामी यसको इन्टेरियर र पर्फर्मेन्स लेबल कस्तो रह्यो व्याख्या गर्नेछौं।
नेपालमा इभीप्रति भरोसा कायम गराउन सबैभन्दा धेरै भूमिका निर्वाह गर्ने कारमध्येको एक हो – टाटा नेक्सन इभी। नेपाली बजारमा फाट्टफुट्टमात्र इभी गुड्न थाल्दा नेक्सनले बलियो ह्विम नै ल्यायो। टाटाको नेक्सन आफैँमा गेमचेन्जर रह्यो – प्यासेन्जर भेहिकल सेगमेन्टतर्फ। लामो समयदेखि ह्याचब्याक र सेडान हुँदै नानोसम्मका उत्पादनले चर्चा बटुले पनि बजारमा हस्तक्षेप गर्न सकेका थिएनन्। त्यसैले पेट्रोल र डिजेलबाट चल्ने नेक्सनको इन्ट्री आफैँमा टाटाका लागि सुखद् रह्यो।
प्यासेन्जर भेहिकल तर्फ यसले जबरजस्त पकड बनाएलगत्तै विद्युतीय भर्सनमा यसले बलियो दावेदारी प्रस्तुत गर्यो। टाटाको ब्रान्ड र आइसी इन्जिनमा जबरजस्त उपस्थितिले यसको इभी रुपान्तरणलाई सहज बनायो।
कुनै बेला कम्प्याक्ट एसयूभी सेगमेन्टतर्फ नेक्सन इभीको एकलौटी राज थियो। उच्च ग्राउन्ड क्लियरेन्सका कारण पहिले नै उपभोक्ता नेक्सनप्रति आकर्षित थिए। त्यसकै इभी रुपान्तरणले भारत र नेपाली बजारमा सम्भावनाको जग बसायो।
आजको टेस्ट ड्राइभमा हामीले नेक्सनको नयाँ मोडल लिएर आएका छौं। बाहिरी आवरणमात्र होइन, भित्री फिचरहरुमा समेत धेरै परिवर्तन गरेको छ टाटाले यसलाई बजारमा ल्याउनुअघि। सन् २०४० सम्म जिरो इमिसनको लक्ष्य लिएको टाटा मोटर्सले नयाँ मोडलमार्फत् बजारमा पहिले झै हस्तक्षेप गर्ला त?
यतिखेर चिनियाँ ब्रान्डका इभीको वर्चश्व छ नेपाली बजारमा। कम मूल्य र धेरै फिचर लोड भएका चिनिया गाडीसँग कुनै भारतीय कम्पनीले प्रतिस्पर्धा गर्न सक्छ भने त्यो टाटा नै हो। हेभी भेहिकलको सेगमेन्टमा एकलौटी बजार कायम राखेको टाटाले इभीमाथि ठूलो लगानी गरिरहेकाले कम्पनीप्रति अपेक्षा स्वभाविक रुपमा बढी हुने नै भयो।
जब नेक्सनको चर्चा हुन्छ यसको ग्राउन्ड क्लियरेन्सले सबैलाई उछिन्छ। त्यसैले टेस्ट ड्राइभका लागि हामी अफरोड नै रोज्यौं। नेपाल भित्रिएको सात दिन पनि नबित्दै हामीले यसलाई नुवाकोटको ककनीतिर लग्यौं। ककनी लक्ष्य गर्नुमा पासाङ ल्हामु राजमार्गको दुरावस्था पनि मुख्य कारण रह्यो। यसखाले बाटोमा सहज यात्रा भयो भने नेपालका असहज सबैखाले बाटोमा नेक्सनको नयाँ भर्सनले दमदार उपस्थिति दिनसक्छ भन्ने हाम्रो आँकलन थियो।
१ सय ९० एमएम ग्राउन्ड क्लियरेन्स भएका कारण अफरोड यात्रा असहज थिएन। ९८ किलोवाट क्षमताको मोटर क्षमता र ४२ किलोवाट आवर क्षमताको ब्याट्री भएकाले यात्रामा संशय थिएन। औसत् क्षमताको मोटर भए पनि नयाँ भर्सनमा ब्याट्री क्षमता थपिँदा गाडीले दिने माइलेज बढ्नु स्वभाविक थियो। उकालो र अफरोडमा नेक्सन इभीले राम्रो पर्फम गर्यो।
शहरी क्षेत्रमा यसलाई टेस्ट गर्नुको अर्थ खासै थिएन। त्यसैले बालाजुको बाइपासबाट हामी लाग्यौं मुड्खुतिर। तीनपिप्ले भञ्ज्याङ पार गरेपछि भने बाटो सहज थिएन। नेपालको सडक निर्माण आयोजना कति गएगुज्रेको हुन्छ भन्ने पासाङ ल्हामु राजमार्गले देखाइरहेको थियो। बन्न नसकेको राजमार्ग भर्खर खुलेको ट्र्याकभन्दा गतिलो रहेनछ। बाटोमा राम्रो पर्फर्म गरिरहँदा पनि हामीले ककनीको लक्ष्य छाड्ने निधो गर्यौं।
भर्खर भित्रिएको गाडी, ग्राउन्ड क्लियरेन्स राम्रो छ भन्दैमा राजमार्गकै नाम बदनाम गर्ने पासाङ ल्हामुबाट ककनीतिर जानैपर्छ भन्ने सोचबाट हामी पछि हट्यौं। किनकि कतिपय ठाउँमा डोजर चलिरहेका थिए – बाटो नै रोकिने गरेर।
हामी फर्केर लाग्यौं काभ्रेस्थलीतिर। त्यहाँबाट मनमैजु, फुटुङ हुँदै साङ्लेखोला।
साङ्लेखोलाबाट नुवाकोटतिर जाने नयाँ बाटो चल्तीमा रहेछ आजकल। झोर हुँदै जानेबाटो र यताबाट जाने बाटो सूर्यचौरभन्दा निक्कै तल जोडिने रहेछन्। उकालो र घुम्ती अत्याधिक भएको यो साँघुरो सडकमा नेक्सनको स्पोर्ट मोड निक्कै रोमाञ्चित बनाउनेगरि कुद्यो। ब्याट्री क्षमता बढेकाले हामीलाई उकालोमा एक्सिलेरेटर दबाउन कुनै तनाव थिएन।
ब्याट्री क्षमता बढेको मात्र होइन यस भर्सनमा ब्याट्री चार्ज पनि तीब्र गतिमा हुने रहेछ – पुरानो नेक्सन इभीमा भन्दा। एक पटक पूरा चार्ज गरेर समथर सडकमा ४ सयभन्दा धेरै कुदाउन सकिने भए पनि नेपाली सडकमा भने यसले ३ सय २५ किलोमिटरको रेन्ज दिन्छ। अघिल्लो भर्सनभन्दा यो धेरै हो।
बाहिरी आकार समान भए पनि यसको लुक्समा टाटा पञ्चको रिफ्लेक्सन पाइयो। जब इन्टेरियरको सन्दर्भ आयो नि – यो विल्कुल फरक देखियो।
पुरानो शैलीको ड्यासबोर्डलाई नयाँ नेक्सन इभीमा पूरै ककपिट शैलीमा ढालिएको रहेछ। टाटा पञ्चको इभीमा जस्तै यसमा पनि ‘फिजिटल’ सिस्टम कायम गरिएको रहेछ। अर्थात् केही बटन र केही डिलिजटल टच स्क्रिन।
दुवैको कम्बिनेसन तयार गर्दा लुक्समा निक्कै ख्याल गरेको अनुभूति भयो।
गाडी स्टार्ट गर्नासाथ स्टेरिङमा लाइट सहित देखिने टाटाको लोगोले यसलाई प्रिमियम अनुभूति गरायो। ह्यान्ड ब्रेक नहुनुका साथै डाउन हिल असिस्टले ओरालोमा गाडीलाई ‘कन्ट्रोल’ गर्न निक्कै सहज बनाएको रहेछ। इन्फोटेनमेन्टका लागि दिइएको क्लस्टर सानो छ तर गाडीको इन्टेरियरसँग म्याच हुनेखालको।
यसै पनि सेफ्टी रेटिङमा फाइभ स्टारर हो नेक्सन। यसमा ८ वटा एयरब्यागका अलावा ३६० एंगल क्यामराले ड्राइभिङलाई थप सुरक्षित बनाएको छ। कम्फोर्टका लागि भेन्टिलेटेड सिट उपलब्ध छ यसमा। तर, सिट एड्जसमेन्ट चाहिँ पुरानै पद्धतीको रहेछ। फ्युचरिस्टिक बनाउने क्रममा टाटाले खर्च कम गराउने रणनीति पनि लिएको देखिन्छ।
नेपाली बजारमा यो कम्प्याक्ट एसयूभी ४९ लाख मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ड्राइभिङ विन्डो वान टच ओपन भए पनि अन्यमा यसखाले सुविधा छैन। त्यसैले मूल्यसँग तुलना गर्दा टाटालाई चिनिया गाडीसँग प्रतिस्पर्धा गर्न कठिन हुने देखिन्छ। तर, टाटा ब्रान्डको भ्यालु र सिप्रदी ट्रेडिङको शाखले नेपाली सडकमा यसलाई बलियो प्रतिस्पर्धी बनाएकोमा दुई मत छैन।
ब्रान्ड र सर्भिस नै यसको गेमचेन्जर बन्नसक्ने आधार भएको हाम्रो टेस्ट ड्राइभले देखाएको छ।