काठमाडौं। ललितपुरको इमाडोलमा सुपथ मूल्यमा फेन्सी कपडा बेच्दै आएका वसन्त खड्काले गत असारमा एकाएक पसल बिक्री गरे। उनले पसल संचालनमा ल्याएको वर्ष दिन पनि भएको थिएन। भनेजस्तो व्यापार नभएको भन्दै उनी घाटा खाएरै पसल बेचेर हिँडे।
काठमाडौंको सामाखुसीमा दुई वर्षअघि लमजुङका राम गुरुङले फेन्सी पसल सुरु गरेका थिए। तर उनी पनि लामो समय टिक्न सकेनन्। एक वर्ष नपुग्दै गुरुङले पसल छाडे। ऋण व्यवस्थापनमा समस्या भएपछि सस्तैमा पसल बेचेको उनी बताउँछन्।
यी दुई प्रतिनिधि उदाहरण हुन्। पछिल्लो समय पसल बेचेर व्यापारबाट अलग हुने क्रम बढेको छ।
काठमाडौंको सामाखुशी चोक क्षेत्रमा एक वर्षमा ३० भन्दा बढी पसल बन्द भएका छन्।
समाखुशी चोकमा टहरा हटाएर सिटी स्क्वाएर मल ठडिएको छ। डेन्टल मेडिकल र जापानिज/कोरियन भाषा कक्षाका कन्सल्टेन्सी थुप्रिएको यो चोकमा ब्रान्डेड आउटलेट खुल्ने क्रम बढ्दो छ। तर जसरी बढिरहेका छन् उसैगरी वर्ष दिन नपुग्दै वसन्त र रामले झैं छोड्ने क्रम पनि उतिकै छ।
१८ वर्षदेखि आरजी फेन्सी चलाइरहेका घनश्याम आचार्य पसल खोल्ने र बेचेर हिंड्ने क्रम बढिरहेको बताउँछन्। ‘टहरो भएको ठाउँमा मल ठडिएको छ। पसल थपिएका छन्। तर पसल खोल्नेहरु सबै टिकेका छैनन्,’ आचार्यले भने, ‘आउने जाने क्रम बढिरहेको छ। टिक्न नसकेर हिंड्नेको सूची लामै छ। एक वर्षमा ३० भन्दा बढी सटर बन्द गरेर हिंडे।’
बन्द भएका सटरमा नयाँ लगानीकर्ता आइपुग्छन्। तर नयाँ मध्ये सबै टिकेका छैनन्। ‘व्यापारमा टिक्न अहिले सजिलो छैन। कमाउन सकिन्छ कि भनेर लगानी गरेकाहरु सोचेअनुसार नभएपछि धमाधम बेच्नतिर लागेको देखिन्छ,’ आचार्यले भने।
सामाखुशीको भन्दा फरक अवस्था छैन ग्वार्को क्षेत्रमा पनि।
काठमाडौं उपत्यकामा पछिल्लोपटक फैलिएको ग्वार्को बजार क्षेत्रमा पनि सडक विस्तारपछि धमाधम पसल थपिए। ग्वार्कोदेखि सानागाउँको भाटभटेनीसम्मै फैलिएको बजारमा थपिएका पसलमध्ये कतिपयमा व्यापारी फेरिएका छन्।
‘ग्वार्को चोकदेखि सानागाउँको भाटभटेनीसम्म दुई किलोमिटरमा फेन्सी पसल धमाधम थपिए। तर, कतिपय पसलमा पुराना संचालक छैनन्। उनीहरु बेचेर हिंडिसकेका छन्,’ व्यापारी सोम्फे लामाले भने, ‘सटर भाडा महँगो छ। तर व्यापार गर्न सजिलो छैन। फेन्सी खोल्ने कतिपय त ६ महिना नलाग्दै बन्द गरेर हिँडेको देखेको छु।’
काठमाडौंको रविभवन कलंकी चोक क्षेत्रका फेन्सी पसलमा पनि संचालक फेरिने क्रम बढेको छ। एक वर्षअघि नमुना फेन्सी पसल खोलेका सन्तोष अर्यालले व्यापारमा सन्तुष्ट हुने अवस्था नरहेको बताए। ‘एक वर्ष भयो खोलेको। यहाँका लोकललाई नै टार्गेट गरेर खोलेको हो। तर व्यापार त्यति राम्रो छैन,’ अर्यालले भने, ‘मैलेभन्दा पछि पसल खोलेका कतिपय त बेचेर हिंडिसके।’
फेन्सी बजारका लागि परिचित बौद्ध क्षेत्रमा समेत पसल सञ्चालक फेरिने क्रम बढेको छ। ब्राण्डेड सामानका कतिपय पसल बन्द नै भएका छन्। बन्द हुनेमा एडिडासको आउटलेट पनि छ।
‘यहाँ फेन्सी पसल त धेरै नै छन्। धेरैजसो पसल सञ्चालक पुरानै हुन्। कतिपय पसलमा चाहिं नयाँ साहुजी देखिन्छन्,’ बौद्धमा दुई दशकदेखि फेन्सी पसल चलाउँदै आएका एक व्यापारीले भने, ‘बौद्ध पुरानो बजार भएपनि अहिले ग्राहकहरु घटेका छन्।’
बौद्ध व्यापार संघका अध्यक्ष केदार कटुवाल व्यापार अहिले निक्कै अप्ठेरो अवस्थामा रहेको बताए। ‘६-७ वर्ष अघिसम्म त बजार नम्बर वान नै थियो। ग्राहकको थेगिनसक्नु भीड लाग्थ्यो। अहिले त क्रिटिकल अवस्था छ,’ कटुवालले भने।
व्यापारी किन पलायन ?
समृद्धि फाउन्डेसनले केही समयअघि उपत्यकाका ५०० भन्दा बढी पसलको अध्ययन गरेको थियो। अध्ययनले पनि पसल सञ्चालक फेरिने ट्रेन्ड बढेको देखायो।
बजारको ट्रेन्डबारे विश्लेषण गर्दै आएका फाउन्डेसनका अध्यक्ष दीपेन्द्र चौलागाईं युवाहरुको बढ्दो विदेश पलायन र अनलाइन व्यापारका कारण फेन्सी पसलमा असर परेको बताए। उनका अनुसार चल्तीका बजारमा व्यापार घट्नुको कारण भनेको चकक्रपथबाट बाहिर बाहिर सहरीकरण बढ्नु पनि हो।
‘कतिपयको आइडिया फेल पनि हुन सक्छ। प्रयास गर्दा नभएपछि घाटा खाएर पनि बेचेर हिंडिरहेका,’ चौलागाईंले भने, ‘गाउँगाउँमा सहरीकरण बढेकोले तथा युवा पुस्ता अनलाइनबाट किनमेलमा अभ्यस्त हुन थालेकाले पनि यसअघिका चल्तीका बजार स्लो भएका हुन्। अर्को कुरा बजारमा बढी किनमेल गर्ने वर्ग विदेश जाने क्रम बढेकाले पनि असर परेको छ।’
नेपाल उद्योग वाणिज्य महासंघ बागमतीका अध्यक्ष दिलसुन्दर श्रेष्ठ भने पसल धमाधम बन्द हुनुमा सहकारी संस्थामा देखिएको समस्यालाई पनि कारणका रुपमा औंल्याउँछन्।
‘योङ जेनेरेसन बाहिर जाने ट्रेन्ड बढ्दो छ। श्रमको नाममा या शिक्षाको नाममा। यसले गर्दा व्यापार घटिरहेको थियो। सहकारीमा जम्मा गरेको पैसा नपाएपछि व्यापार मिलाउन नसक्दा पनि पसल बन्द भइरहेका हुन्,’ होलसेल व्यवसायीसमेत रहेका श्रेष्ठले बताए।
सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानी नगरेकाले बजारमा पैसाको फ्लो कम भएकाले पनि पसलहरु धमाधम बन्द भइरहेको उनको बुझाइ छ। ‘सरकारले निर्माण व्यवसायीको पैसा निकासा गरेको छैन। यसले बजारमा पैसा फ्लो भएन,’ श्रेष्ठले भने, ‘पैसाको फ्लो नभएपछि क्रय शक्ति स्वत: घट्छ। अनि पसल बन्द नगरेर के गर्ने?’